राजनीतिक हस्तक्षेपले जथाभाबी सडक निर्माण हुन थालेपछि दीर्घकालिन योजना बन्दै

बिजमाण्डू
२०७५ भदौ १ गते १३:१३ | Aug 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। सडक विभागले राष्ट्रिय राजमार्ग निर्माणको दीर्घकालीन योजना बनाउने भएको छ। अहिलेसम्म कुनै योजना विना सडक निर्माण र मर्मत हुँदै आएको छ।

राजनीतिक आग्रहका आधारमा सडक निर्माण हुँदै आएको छ।यो दबाब तोड्न विभागले पहिलो पटक व्यवसायिक योजना बनाउन लागेको हो।सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठका अनुसार व्यवसायिक योजना बनाएर राष्ट्रिय राजमार्ग निर्माणलार्इ अघि बढाउने बताए।

उनका अनुसार ५ बर्ष,  १० बर्ष र १५ बर्ष भित्र निर्माण तथा त्यसको  मर्मत सम्भारको खाका बनाइनेछ।‘सडक निर्माणलार्इ मात्रै हेरेर हुँदैन।त्यसमा हुने लगानी र प्रतिफल समेत हेरेर सडक निर्माण गर्नुपर्छ’उनले बिजमाण्डूसँग भने,’कुनैपनि सडक निर्माण गर्दा लाग्ने समय,निर्माण भइसकेपछि त्यसबाट मुलुकले पाउने प्रतिफल समेत हेरेर योजना बनाइनेछ।’उनका अनुसार राष्ट्रिय राजमार्ग निर्माण गर्नुपर्ने स्थानको अनुसन्धान भइरहेको छ।
 

'पहिला राष्ट्रिय राजमार्गहरु कुन/कुन र कहाँ/कहाँ हुन सक्छन् भनेर पहिचान गर्छौ र ती पहिचान भएका राजमार्गहरुको योजना बनाएर काम गर्छौ' उनले भने।श्रेष्ठका अनुसार अहिले ६२ वटा राष्ट्रिय राजमार्गहरु पहिचान भैसकेका छन्।पहिचान भएका राष्ट्रिय राजमार्गहरु मन्त्रीपरिषदबाट स्विकृत गराउनुपर्छ।एक महिनाभित्र राजमार्गहरु स्वीकृत गराएर व्यवसायिक योजना बनाइने उनले बताए।

विभागका एक अधिकारीका अनुसार व्यवसायिक योजना बनाएपछि मात्रै दातृ निकायलार्इ ऋण वा अनुदानमा सडक बनाउन प्रस्ताव गर्न सकिन्छ।‘अहिले कुनै अनुसन्धान विना राजनीतिक हस्तक्षेपका आधारमा पनि सडक निर्माण भइरहेका छन्।त्यसले प्रतिफल समेत पाउन सकिएको छैन।व्यवसायिक योजना बनाएर अघि बढ्न सकेमा त्यसमा दातृ निकायले समेत सहज रुपमा लगानी गर्न तयार हुन्छन्।विकासले पनि गति लिन्छ’ती अधिकारीले भने।

व्यवसायिक योजना तयारसँगै लगानीको खाका समेत आउने भएकाले दातृ निकायलार्इ कुनै सडक निर्माणको लागि प्रस्ताव गर्न पनि सहज हुन्छ।‘विभागको उदेश्य भनेको राजमार्ग फाष्ट ट्रयाकमा निर्माण गर्ने हो’विभागका महानिर्देशक श्रेष्ठले भने,’योजना तयार भएपछि विकासले एउटा गति लिन्छ।कुनै अवरोध नभए तोकिएकै समयमा आयोजना पनि सकिन्छ।’