हिमालयन कार्गोका संचालक विनोदकुमार गुप्ता विरुद्ध पौने ३ अर्ब आयकर छलीको मुद्दा दायर

बिजमाण्डू
२०७५ भदौ १ गते १४:५६ | Aug 17, 2018


काठमाडौं। राजस्व अनुसन्धान विभागले आयकर छलीको अहिलेसम्मकै ठूलो मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको छ।

Tata
GBIME
Nepal Life

हिमालयन कार्गोका संचालक विनोदकुमार गुप्ताले  कम्पनी चलाएर १० वर्षदेखि कुनै कर नबुझार्इ ५४ करोड ४२ लाख रुपैयाँ छली गरेको अनुसन्धानबाट देखिएको विभागले जनाएको छ।

विभागले गुप्ता र उनकी श्रीमती मधुकुमारी गुप्तालार्इ मूख्य अभियुक्त बनाएर विगो र जरिवाना समेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० रुपैयाँ र तीन वर्षसम्म कैद गर्न माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि २०७१/०७२सम्म साना करदाताको रुपमा वार्षिक पाँच हजार रुपैयाँ मात्रै गुप्ताले कर बुझाएको देखिएको छ। विभागले आर्थिक वर्ष २०७२/०७३देखि ०७४/०७५सम्म कुनै कर नबुझाएको जनाएको छ।

 विभागका महानिर्देशक दीर्घराज मैनालीले शुक्रबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन्। उनले गुप्ताको नाममा रहेको १५ करोड रुपैयाँ रोक्का गरेको जानकारी दिँदै एक अर्ब रुपैयाँ बराबरको स्थीर सम्पत्ति रोक्का गरेको बताए।

नेपालगंज भन्सार कार्यालयबाट विना जाँचपास भारतबाट धुलो दूध र वनस्पति घिउ बोकेको ट्रक नागढुंगाबाट पक्राउ परेको थियो। यो गाडी पक्राउ परेपछि हिमालयन कार्गो संचालक गुप्ताको विभागले अनुसन्धान थालेको थियो। यो अनुसन्धानबाट गुप्ताले आयकर नतिरेको भेटिएको हो।यो राजस्व चुहावटमा विभागले रविन्द्र गुप्तासहित २२ जना विरुद्ध १० करोड २० लाख रुपैयाँ बरारबको मुद्दा अदालतमा दायर गरेको छ।

दूध र घिउको नक्कली भन्सार प्रज्ञापनपत्र बनार्इ चोरी पैठारी गरेको तथा नक्कली भ्याट विल बनाएको अनुसन्धानमा देखिएको छ। यो छलीमा संलग्न भएको आरोपमा नेपालगंज भन्सार प्रमुख जनार्दन आचार्य, भन्सार अधिकृत वटुकृष्ण अधिकारी,भन्सार जाँचकी वसन्तकुमार सुवेदी,कम्प्युटर अपरेटर चन्द्रबहादुर क्षेत्री, भन्सार सहायक जितबहादुर श्रेष्ठ र रामबहादुर थापालार्इ समेत मुद्दा दायर गरिएको छ।