दुई प्रतिशत ब्याजमा दिइने ऋणको ब्याज नबढाउन निर्देशन, अर्थमन्त्री भन्छन्- ‘सुविधा कायम राखौ’

बिजमाण्डू
२०७५ भदौ १ गते २१:३७ | Aug 17, 2018
दुई प्रतिशत ब्याजमा दिइने ऋणको ब्याज नबढाउन निर्देशन, अर्थमन्त्री भन्छन्- ‘सुविधा कायम राखौ’


काठमाडौं। भूकम्प पीडितलाई दुई प्रतिशत ब्याज अनुदान ऋण अवधिभरलाई निरन्तरता दिन राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले निर्देशन दिएको छ। पुनर्निर्माणका लाग पुनर्कर्जा दिन स्थापित कोष प्रयोग गरेर ऋण अवधिभर सुविधा दिने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिइएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

Tata
GBIME
Nepal Life

'भूकम्प पीडितले पाउने सहुलियतपूर्ण ऋण २ वर्षमात्रै कायम हुने भन्ने मैले सुनेँ, यो व्यवस्थालाई परिमार्जन गर्दै पुर्ननिर्माण अवधिभर कायम राख्न राष्ट्र बैंकलाई भनिएको छ,' अर्थमन्त्री खतिवडाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भने। मन्त्री खतिवडाले अहिलेसम्म कर्जा लिएका भूकम्प पीडितलाई कर्जा अवधिभर दिनका लागि पुनर्कर्जा कोषको प्रयोग गर्न भनिएको जानकारी दिए।

'अहिलेसम्म भएको ऋण लगानीका विषयमा ऋण अवधिभरका लागि पुरानो व्यवस्था जे छ त्यही गर्ने भनिएको छ,' खतिवडाले भने, 'पुनर्कर्जा सुविधालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्धारण गरेको निजी आवास पुर्ननिर्माण अवधिभर कायम गर्न भनिएको छ।' चालु आर्थिक वर्षको पहिलो ११ महिनामा १७ अर्ब ९२ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्तर्गत जेठ मसान्तसम्ममा १ अर्ब ७७ करोड रुपैयाँ पुनर्कर्जा उपयोगमा रहेको पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ।

अर्थ मन्त्रालयले दिएको निर्देशन कार्यान्वयनमा आए भूकम्प पीडितले पाउँदै आएको २ प्रतिशत ब्याजदर युक्त कर्जाको दर तत्काल बढ्ने छैन। भूकम्प पीडित अनुदान कार्यविधिमा भूकम्प पीडितलाई निजी आवास पुनर्निर्माणका लागि २ वर्षसम्म २ प्रतिशत ब्याजदरमा ऋण दिइने व्यवस्था छ। यसका लागि बैंकहरुलाई राष्ट्र बैंकले पुनर्कर्जा सुविधा दिँदै आएको छ।