नियमित कारोबारको नाफामा नौं बर्षपछि राष्ट्रिय बाणिज्य बैंकले नबिललाई उछिन्यो

बिजमाण्डू
२०७५ भदौ १ गते १९:५४ | Aug 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। परम्परागत रुपमा कारोबार गर्दै आएको सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा अनौठो खाले 'आक्रमकता' देखिएको छ। बार्षिक ५/७ प्रतिशतले ऋण बढाउने र कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ५५/६० प्रतिशतको हाराहारीमा बस्ने बैंकले आफ्नो पुरानो स्वरुप फेरेको छ।

नबिल र राष्ट्रिय बाणिज्य बैंकबीचको तुलना

राष्ट्रिय बाणिज्य बैंकले यसपाली आफ्नो परम्परागत शैली फेरेर 'इन्ड्रष्ट्री' मा नम्बर १ को स्थानमा रहेको नबिलालई दोस्रो बनाएको छ। डुबेको ऋणसमेत उठाएर सर्बाधिक नाफा गरेको बैंकले नियमित कारोबारमा पनि नौं बर्षपछि नबिललाई पछाडि पारेको छ।

जबकी नबिल बैंक नोक्शानी ब्यवस्थापनअघिको सञ्चालन मुनाफामा निक्कै अगाडि थियो। यो भनेको बार्षिक नियमित रुपमा भएको कारोबारबाट भएको नाफा हो। यसले बैंक कसरी बजार बिस्तारमा हिँडिरहेको छ भन्ने देखाउँछ।

पाँच बैंकको परफरमेन्स

गत बर्ष नबिल बैंकको यस्तो नाफा ५ अर्ब ४८ करोड रुपैयाँ थियो। राष्ट्रिय बाणिज्य बैंकको ४ अर्ब ५० करोड रुपैयाँ मात्र थियो। यसपाली नबिलको ६ २३ करोड रुपैयाँ पुगेको छ। राष्ट्रिय बाणिज्य बैंकले यस्तो नाफा ६ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ।

खुद मुनाफामा पनि यसपाली नबिल दोस्रो भएको छ। नबिले नाफा १२.२२ प्रतिशतले बढाएर ४ अर्ब ५ करोड पुर्याउँदा राष्ट्रिय बाणिज्य बैंकले ५५.९२ प्रतिशतले बढाएर ४ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ। यद्यपी राष्ट्रिय बाणिज्य बैंकको खुद मुनाफा उच्च दरमा बढ्नुमा ठूलो भूमिका डुबेको ऋण उठ्तिको छ।

कसरी बढ्यो कारोबार
राष्ट्रिय बाणिज्य बैंक ऋण विस्तारमा त्यति आक्रामक देखिँदैन थियो। कारण, सरकारी पैसा ठूलो मात्रामा परिचालन हुन्छ। आवश्यक पर्दा ठूलो भुक्तानी तत्कालै गर्नु पर्ने हुन्छ। त्यही भएर बैंक ठिक्क मात्रै ऋण बढाएर अधिकतम तरल अवस्थामा बस्थियो।

बैंकले यसपाली पनि त्यही गरेको छ। तर बजारको मागका कारण बैंकले थोरैथोरै गर्दै ऋण विस्तार गर्नु परेको छ। बार्षिक ५/७ प्रतिशत ऋण बिस्तार गर्ने गरेको बैंकले यसपाली १३ प्रतिशतभन्दा बढिले ऋण बढाएको छ। यसले गर्दा सिसिडी रेसियो ६७ प्रतिशत हाराहारी पुगेको छ।

बैंकले आक्रमक भएर ऋण बढाएको भने होइन, निजी क्षेत्रका बैंकहरु महँगिएपछि त्यो बिजिनेस राष्ट्र बाणिज्य बैंकले 'क्यास' गरेको हो। अन्य बैंकको तुलनामा राष्ट्रिय बाणिज्य बैंकको ऋणको ब्याज दर सस्तो छ। सस्तो ब्याज खोज्दै ऋणीहरु त्यहाँ पुगेपछि बैंकको ऋण बढेको हो। यसैको फाइदा बैंकले यसपाली वासलातमा देखाउन सफल भएको हो।

नबिलले आफ्नो नियमित कारोबार गरिरहेको छ। नबिल आफ्नो रणनीति अनुसार ऋण बिस्तार गर्न सफल छ। तर यसपाली राष्ट्रिय बाणिज्य बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभेका कारण त्यहाँको ऋण पनि जोडिएर 'सिनर्जी' पाएको छ। यही सिनर्जीले बैंकको नियमित कारोबारबाट हुने नाफा ह्वात्तै बढेको हो।

यसअघि राष्ट्रिय बाणिज्य बैक नियमित कारोबारको नाफामा नबिलसँगै नेपाल इन्भेष्टमेन्ट बैंकभन्दा पनि कमजोर थियो। राष्ट्रिय बाणिज्य बैक, नेपाल बैंकभन्दा पनि राम्रो कमाइ गरिरहेको कृषि विकास बैंक पछिल्लो समय खस्किन थालेको छ। नोक्शानी ब्यवस्थापनअघिको सञ्चालन मुनाफाका आधारमा कृषि विकास बैक पछिल्लो समय टप फाइवको अन्तिम सूचीमा छ। यसअघि बैंकले नेपाल बैंकलाई उछिनेको थियो।

पाँच बैंकको खुद मुनाफा