साउनमा स्वदेशी लगानीको ओइरो, ठूला घराना होइन नयाँ लगानीकर्ताले खोज्दैछन् अवसर

बिजमाण्डू
२०७५ भदौ ११ गते १६:३० | Aug 27, 2018
साउनमा स्वदेशी लगानीको ओइरो, ठूला घराना होइन नयाँ लगानीकर्ताले खोज्दैछन् अवसर

Tata
GBIME
Nepal Life

काठमाडौं।तीन तहको निर्वाचन र स्थायी सरकार आएपछि साउन महिनामा साढे चार अर्ब रुपैयाँको स्वदेशी लगानीको प्रतिवद्धता आएको छ।

साउनको लगानी प्रतिवद्धता गत वर्षभरिको भन्दा साढे दुर्इ अर्ब रुपैयाँ मात्रै कम हो।नेकपाको स्थायी सरकार आएपनि नीतिगत तहमा कुनै सुधार नभएको भन्दै आलोचना भएपनि नयाँ लगानीकर्ताले उद्योग खोल्ने प्रकृया अघि बढाएका छन्।

उद्योग विभागको तथ्यांक अनुसार केही वाहेक सबै लगानीकर्ता नयाँ देखिएका छन्।आरती स्ट्रीप,खजुरी कुकिज र प्रस्टिज कार्पेट वाहेक सबै नयाँ लगानीकर्ता देखिएका छन्।मुलुकभित्र रहेका ठूला घराना भने अझै पनि 'पर्ख र हेर'को अवस्थामा छन्।उद्योग विभागका अनुसार १२ वटा उद्योगले साढे चार अर्ब रुपैयाँको उद्योग खोल्ने प्रतिवद्धतासहित उद्योग दर्ता गरेका छन्।
 
गत आर्थिक वर्ष २०७४/७५ मा सात अर्ब रुपैयाँ र अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा चार अर्ब रुपैयाँ मात्रै उत्पादन मूलक उद्योगमा लगानी प्रतिवद्धता आएको थियो।साउनमा आएका उत्पादनमूलक उद्योगमा सबैभन्दा ठूलो उद्योगको रुपमा सवा दुई अर्ब रुपैयाँ लगानीको राजदेवी पल्प एण्ड पेपर उद्योग रहेको छ।

सर्लाहीको बरहथवा स्थापना हुने राजदेवी पेपर उद्योगले वार्षिक २४ हजार ७५० टन लेख्ने र छाप्ने पेपर उत्पादन गर्ने लक्ष्य लिएको छ।दुई अर्ब १७ करोड ४९ लाख रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता रहेको पेपर उद्योगमा ८ सय ९४ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिवद्धता पनि गरिएको छ।

त्यसैगरि धादिङको दार्खामा स्थापना हुन लागेको वेभ फर्मास्युटिकल्स औषधी उद्योगमा ४३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिवद्धता गरिएको छ।
वेभ फर्मास्युटिकल्सले वार्षिक रुपमा एक अर्ब ट्याब्लेट युनिट, क्याप्सुल ५० करोड युनिट, ओरल लिक्युड तीन लाख लिटर, अनटिमेन्ट २० लाख ट्युव, वआरएस इलेक्ट्रोलेट २० हजार किलो र डिआरवाइ सिरप ७ हजार किलो उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगले ८३ जनालाई रोजगारीको प्रतिवद्धता पनि गरेको छ।

झापमा स्थापना हुन लागेको ए प्लस सिमेन्ट उद्योगमा ४० करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता गरिएको छ।झापाको तोपगाछीमा स्थापना हुने यो सिमेन्ट उद्योगले वार्षिक पीपीसी, ओपीसी र पिएससी सिमेन्ट एक लाख ८० हजार टन उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगले ६० जनालाई रोजगारी दिने छ।

वीरगंजमा स्थापना हुन लागेको रियल स्टिलले २४ करोड ९० लाख रुपैयाँ लगानी प्रतिवद्धता सहित उद्योग दर्ता गराएको छ।उद्योगले ५० हजार मेट्रिक टन कालो पाइप, एचआर/सिआर सिट ५५ सय मेट्रिक टन, सटर गाइड २५ सय टन र सटर प्रोफाइल पाँच हजार टन उत्पादनको लक्ष्य लिएको छ। उद्योगले १ सय ६६ जनालाई प्रत्यक्ष रोजगारीको प्रतिवद्धता गरेको छ।

त्यसैगरि मोरङको बुढीगंगा गाउँपालिकामा स्थापना हुने आरती स्ट्रिप्सले २४ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता गरेको छ।यो उद्योगले ७५ हजार टन ग्याल्भेनाइज्ड सिट/कोल उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगले १ सय ४० जनालाई प्रत्यक्ष रोजगारीको पनि प्रतिवद्धता गरेको छ।कृषि मोटर प्रालीले नेपालगञ्जमा २४ करोड ४० लाख रुपैयाँ स्वदेशी लगानीमा हाते ट्र्याक्टर उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ।

वार्षिक एक हजार हाते ट्र्याक्टर उत्पादनको लक्ष्य लिएको कम्पनीले सय जनालाई प्रत्यक्ष रोजगारीको प्रतिवद्धता गरेको छ।बाराको सिमरामा स्थापना हुने प्रेस्टिज कार्पेट उद्योगमा २४ करोड रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता भएको छ। वार्षिक ९ लाख वर्गमिटर कार्पेट उत्पादनको लक्ष्य लिएको उद्योगले ५५ जनालाई प्रत्यक्ष रोजगारीको प्रतिवद्धता गरेको छ।

त्यसैगरि झापाकै बिर्तामोडमा स्थापना हुने दुर्गा स्टिल्स इण्डस्ट्रिजले २० करोड रुपैयाँ लगानी प्रतिवद्धता सहित उद्योग विभागमा उद्योग दर्ता गराएको छ।एङ्गल र पत्ती गरि १५ हजार टन, ब्यान्डिङ तार तीन हजार टन ब्रिबेड तार ६ हजार टन र एमएस पाइप ६ हजार टन उत्पादनको लक्ष्य लिएको उद्योगले २० जनालाई प्रत्यक्ष रोजगारीको प्रतिवद्धता गरेको छ।

काभ्रेमा स्थापना हुने रोहतो मेन्थोलेटम नेपालले १० करोड रुपैयाँ लगानी प्रतिवद्धता सहित उद्योग विभागमा उद्योग दर्ता गराएको छ। स्याम्पु, जेल, क्रिम लगायतका १० लाख टन कस्मेटिक सामान उत्पादनको लक्ष्य लिएको उद्योगले ४९ जनालाई रोजगारीको प्रतिवद्धता गरेको छ।खजुरीको नेपालले मकवानपुर हेटौडामा तीन करोड रुपैयाँ लगानीमा तेस्रो शाखा उद्योग दर्ता गरेको छ। वार्षिक दुई सय मेट्रिक टन पास्ता उत्पादनको लक्ष्य लिएको खजुरीकोले ३४ जनालाई रोजगारी दिने प्रतिवद्धता गरेको छ।