निरन्तर दोस्रो बजार घट्न थालेपछि आइपिओ पनि बिक्न छाड्यो, वास्तविक क्षेत्र सुरुमै निरास!

बिजमाण्डू
२०७५ भदौ १२ गते ०९:०६ | Aug 28, 2018
निरन्तर दोस्रो बजार घट्न थालेपछि आइपिओ पनि बिक्न छाड्यो, वास्तविक क्षेत्र सुरुमै निरास!



काठमाडौं। ‘यदि प्राथमिक शेयर नै बिक्री नहुने अवस्था आयो भने सरकारले सोच्नु पर्ने हुन्छ।’ 

Tata
GBIME
Nepal Life

संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले चार महिनाअघि भृकुटीमण्डपमा ब्यक्त गरेको बिचार हो यो। खतिवडा अर्थमन्त्री भएपछि शेयर बजार निरन्तर घटिरहेको थियो। 

त्यसबेला नेपाल धितोपत्र बोर्डले पूँजी बजार प्रदर्शनी आयोजना गरेको थियो। प्रमुख अतिथिका रुपमा पुगेका खतिवडाले आफ्नो भनाइलाई गलत ब्याख्या गरिने गरेकाले आँफै आएर बोल्नु परेको भन्दै प्राथमिक शेयरको बजारलाई विस्तार गर्ने बताएका थिए।

उनले भाषण मात्र गरेनन्, प्राथमिक बजार बिस्तारका लागि आफ्नो पहिलो बजेट भाषणमा पनि कार्यक्रमहरु पारे। अर्थमन्त्रीले शेयर बजारको विस्तारका लागि कदम चाल्दै गर्दा प्राथमिक शेयर नै बिक्री हुन छाडेको छ। 

विगत ६ महिनाको अवधिमा सार्वजनिक शेयर निष्काशन गरेका मध्ये ५ कम्पनीको शेयर बिक्री भएन। बुटवल पावर, नेपाल बैंकको एफपिओका साथै केहि हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि निष्काशन गरेको साधारण शेयर बिक्री भएन। एनएमबी बैंकको एफपिओ अन्तिम दिनमा केही संस्थात लगानीकर्ताले सकारेका थिए। एकदमै थोरै कित्ता भएकाले सिटिजन बैंकको एफपिओमा मात्र मागभन्दा बढि आवेदन पर्यो। 

अर्थमन्त्रीमा नियुक्त भएलगत्तै खतिवडाको भनाइका आधारमा शेयर बजार सुचकलाई तल र माथि पार्ने काम भइरहेको थियो। भृकुटीमण्डपको कार्यक्रमपछि 'बोलीका भरमा सुचक तलमाथि पार्ने प्रबृत्ति' लाई खतिवडाले रोक्न सफल पनि भए। तर प्राथमिक बजारलाई विस्तार गर्ने खतिवडाको घोषणालाई भने बिक्री हुन छाडेको आइपिओले भने निष्कृय बनाइ दिएको छ।

प्राथमिक मूल्यमै निष्काशन गरेका जलविद्युत कम्पनीका आइपिओ पनि बिक्न छाडेका छन्। जबकी केही समयअघिसम्म यस्ता प्राथमिक शेयरमा मागको कयौं गुणा वढि आवेदन पर्ने गरेको थियो। त्यतिवेला बैंक तथा बीमा कम्पनीले एक हजार रुपैयाँभन्दा माथि एफपिओ निष्काशन गर्दा पनि आवेदन पर्ने रेकर्ड नै तोडेका थिए। 

कारण थियो, कम्पनीको बजार मूल्य एफपिओभन्दा दोव्वर बढि हुनु। अहिले ती कम्पनीको बजार मूल्य एफपिओ मूल्यभन्दा तल झरिसकेका छन्। यसैबीचमा कम्पनीका शेयरधनीले बोनस र हकप्रद प्राप्त गरेर शेयर संख्या बढाइसकेका छन्। 

पछिल्लो सयम कम्पनीहरुले निष्काशन गरेको शेयर बिक्री नहुनुमा कम्पनीको क्रेडिट रेटिङ खराव आएर तथा प्रतिफल दिन नसक्ने भएर होइन। केहि नराम्रा तथा प्रतिफल दिन नसक्ने जलविद्युत कम्पनी बाहेक अन्य कम्पनीको वित्तीय अवस्था राम्रो छ। 

प्राथमिक शेयर बिक्री नहुनुको प्रमुख कारण दोस्रो बजार हो। नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्काशनको अनुमति प्रकृया नै लम्वेतान छ। नियामक निकायले तथा कम्पनीले एफपिओ मूल्य बजार माथि भएका बेला निर्धारण गरेका हुन्छन्।  बजार निरन्तर ओरालो लाग्ने क्रममा अनुमति पाएर एफपिओ निष्काशन अवधिसम्ममा कम्पनीको मूल्य एफपिओ मूल्यभन्दा तल झरिसकेको हुन्छ। 

दोस्रो बजारमै एफपिओको मूल्यमा शेयर खरिद गर्न पाइन्छ भने लगानीकर्ताले महँगोमा एफपिओ खरिद गर्दैनन्। अर्कोतिर जलविद्युत कम्पनीले प्रतिफल दिन सकेका छैनन्। दोस्रो बजारमै सस्तो मूल्यमा राम्रा कम्पनीको शेयर पाइन थालेकाले लगानीकर्ता प्रतिफल अनिष्चित भएको जलविद्युतमा लगानी गर्न निरुत्साहित भएका छन्।

शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको पकड बलियो छ। शेयर बजारमा अन्य क्षेत्रका कम्पनीहरुलाई समेट्न सरकार र नियामकहरुले लचिलो नीति ल्याएका छन्। सरकारी नीतिकै कारण वास्तविक क्षेत्रमा नयाँ कम्पनीले साधारण शेयर जारि गर्यो, तर बिक्री हुन सकेन।

पहिलो पटक सिमेन्ट उद्योग ‘शिबम् सिमेन्ट’ ले प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्दा बिक्रि हुन सकेको छैन। प्रभावित क्षेत्रका लागि प्रति शेयर ३०० रुपैयाँमा शेयर निष्काशन गर्दा ८६१ आवेदकबाट ६ करोड ७० लाख रुपैयाँको मात्रै आवेदन परेको छ। 

वास्वतिक क्षेत्रका अन्य उद्योग तथा कम्पनीहरु शिवम् सिमेन्टले निष्काशनमा देखिने उत्साहका आधारमा आफुहरुले पनि योजना बनाउने तयारीमा छन्। यदि शिवम् सिमन्टले निष्काशन गरेको प्राथमिक शेयर असफल भएमा सरकारी योजनामा पनि धक्का पर्ने देखिएको छ। 

सरकारले चालु आर्थिक बर्षको बजेटमा एक अर्ब रुपैयाँभन्दा माथिका कम्पनीले अनिवार्य रुपमा प्राथमिक शेयर निष्काशन गर्नु पर्नेछ। 

'भर्खर स्थापना भएका तथा आधार मूल्यमै शेयर निष्काशन गर्नेलार्इ खासै समस्या नपर्ला तर बजारमा आफ्नो छुट्टै साख बनाएका कम्पनीले बास्तविक मूल्याङ्कनसँगै प्रिमियममा शेयर निष्काशन गर्न खोज्दा विक्री नहुने अवस्था आए सरकार के गर्छ,' एक ठूला लगानीकर्ताले प्रश्न गरे।