अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो अर्थतन्त्रकालागि लागि आफूलाई केही समय दिन आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनको साधारणसभामा अर्थमन्त्री डा खतिवडाले समग्र अर्थतन्त्र खतरामा नरहेको समेत स्पष्ट पारे।
अर्थमन्त्रीले बजेट अनुशासनमा नभएको बेला आफूले अनुशासनमा ल्याउने प्रयास गरेकोमा आफ्नो आलोचना भएको बताए। उनले अर्थतन्त्रका केही सूचकहरु मात्रै कमजोर रहेको भन्दै अहिले नै रिजल्ट खोज्ने बेला नभएको बताए।उनले भने- "हामीले नराम्रो काम गरेका छैनौं. बजेट कार्यान्वयन भएको छ साता भएको छैन अहिले नै रिजल्ट नखोजौं।'
उनले दुई वर्ष ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गरेको र ८ प्रतिशतको बृद्धिको लक्ष्यमा रहेको भन्दै ‘माथि जाने स्पाईरल खडा गर्दै गरेको’ दावी गरे। उनले भने- केही समय पर्खिनुस्, दिगो बनाउन खोज्दा केही समय लाग्छ।
भन्सारको दर बढाएको बिरोध गर्दै आएका उद्योगीहरुलाई लक्षित गर्दै अर्थमन्त्रीले भने- धान्न नसक्ने आयात गर्न हुँदैन। उनले जहाज आउँदा ब्यापार घाटा बढेपनि त्यसको सेवाले घाटा कम गर्ने बताए।
उनले उद्योगीहरुलाई भने- मेरो प्रोडक्टको मूल्य तोक्न म स्वतन्त्र रहुँ तर मैले प्रयोग गर्ने वस्तु तथा सेवा सरकारले तोक्देओस् भन्ने कुरा गर्नु हुँदैन।
आफू राजस्व बढ्दा गर्व गर्ने अर्थमन्त्री नभएको भन्दै उनले निजी क्षेत्रबिना ८ प्रतिशतको आर्थिक बृद्धि सम्भव नभएको बताए। उनले केही कानुन निर्माण गरी अनुकुल वातावरण बनाउन लागेको पनि जानकारी दिए।
उनले लगानी बोर्ड ऐन संशोधन गर्न लागेको जानकारी दिँदै लगानीकर्ताको संरक्षण हुनुपर्नेमा सँधै आफूले जोड दिएको पनि बताए। उनले मजदूर र रोजगारदाताको ज्याला बाहेक अरुमा सुमधुर सम्बन्ध भएको भन्दै आलोचना समेत गरे।