एनएमबीको शेयरमा किन झुम्मिए लगानीकर्ता? ‘३०% लाभांस दिनसक्ने विश्लेषण हुन थाल्यो’

बिजमाण्डू
२०७५ असोज १ गते १४:३३ | Sep 17, 2018

काठमाडौं। दोस्रो बजारमा एनएमबी बैंकको शेयरमा आकर्षण देखिन थालेको छ। गत भदौ ६ गतेबाट मूल्य बढ्न थालेको बैंकको शेयर सोमबार करिव ६ करोड रुपैयाँको किनबेच भएको छ।

Tata
GBIME
Nepal Life

केही सातायतादेखि बैंकको शेयर सर्वाधिक बिक्री हुने सूचीमा छ। बैंकको महिनाभरीको कारोबार हेर्दा औषत ७९ हजार कित्ता शेयर किनबेच हुने गरेको छ। ३०८ रुपैयाँ हाराहारी रहेको बैकको शेयर पछिल्लो समय बढ्दै ३५८ रुपैयाँ हाराहारी पुगिसकेको छ।

अंकित मूल्य १०० रुपैयाँमा २३३ रुपैयाँ प्रिमियम मूल्यसहित ३३३ रुपैयाँमा एफपिओ निष्कासन गरेपछि मूल्य ओरालो लाग्न थालेको थियो। वित्तीय विवरण सार्बजनिक भएपछि बैकको शेयरमा आकर्षण देखिएको हो।

अघिल्लो बर्षकै नाफाबाट वितरण गरिएको १५ प्रतिशत लाभांस एफपिओधनीले समेत पाएका थिए। बैंकले यसपाली राम्रो नाफा गरेको र एफपिओ प्रिमियमबाट राम्रो कोष जगेडा गरेका कारण लगानीकर्ता आकर्षित भएका हुन्।

'नियमित नाफाबाटै १५ प्रतिशत लाभांस दिने अवस्थामा बैंक देखिन्छ' एक विश्लेषकले भने, 'एफपिओको प्रिमियमबाट आएको पैसा बोनस शेयरका रुपमा वितरण गर्न सकिन्छ। त्यसो हुँदा बैंकले २८/३० प्रतिशत लाभांस दिनसक्छ भन्ने अनुमानका आधारमा लगानीकर्ता आकर्षित भएका हुन्।'

एक ब्रोकरका अनुसार, एनएमबीको शेयर ठूलो ठूलो कित्तामा खरीद बिक्री भएको छैन। बढिमा २/४ हजार कित्ताका दरले नै खरीद बिक्री हुँदा पनि कारोबार रकम उच्च हुन पुगेको हो।

'बैंकको शेयर सस्तो मूल्यमा आएको छ। थोरै लगानी गर्दा २८/३० प्रतिशत लाभांस आउँछ भने किन पैसा नलगाउने भन्नेखालका लगानीकर्ता बढि देखिन थालेका छन्' उनले भने, 'पछिल्लो समय एनएमबीको शेयरमा पैसा लगाउन लगानीकर्ता झुम्मिनुको कारण नै यही हो।'