मासिक १० लाख कमाइ हुने एक्चुरीको पढाइ यसरी सुरु भयो, ‘पहिला पढ्ने कोही भएनन् अहिले पावर लगाउँछन्’

अरुण सापकोटा/बिजमाण्डू
२०७५ असोज १ गते १६:०६ | Sep 17, 2018


काठमाडौं। नेपालमा एक्चुरी विषयप्रति आकर्षण बढ्दै गएको छ।  त्रिभुवन विश्वविद्यालयले आधार कोर्ष पढाउन थालेको २ वर्ष भएपनि अहिलेमात्रै यसतर्फ रुचि बढ्दै गएको एक्चुरी स्कुलका निर्देशक प्राध्यापक डाक्टर प्रकाश मुनि बज्राचार्यले बताए। 

Tata
GBIME
Nepal Life

बीमा कम्पनी तथा दायित्व बहन गर्ने कम्पनीहरुले अनिवार्य रुपमा गर्नु पर्ने एक्चुरियल भ्यालुएसनको लागि आवश्यक पर्ने एक्चुरीको हाल अभाव रहेको छ।

विश्व बजारमा नै अभाव भएकाले यस्ता जनशक्तिले वार्षिक करोडौ रुपैयाँ आर्जन गर्छन्। हाल नेपालमा एक्चुरियल भ्यालुएसन गर्ने एक जना पनि जनशक्ति छैनन्।

यस्तै जनशक्तिको अभाव पूरा गर्न त्रिभुवन विश्व विद्यालयले विगत दुर्इ वर्षदेखि एक्चुरीको प्रारम्भिक अध्ययन पढाइ गर्ने भन्दै गणित विज्ञान स्कुलको स्थापना भएको थियो।

यसरी एक्चुरीको आधार कोर्ष पढाइ हुने गणित विज्ञान स्कुल स्थापना गर्दा स्कुलका निर्देशक प्राध्यापक डाक्टर प्रकाश मुनि बज्राचार्यलाई  एक्चुरीको 'ए' पनि थाहा थिएन।

उनी म्याथका प्राध्यापक थिए तर गणित विज्ञान स्कुल स्थापना गर्ने निर्देशन दिएपछि उनको टाउको दुखार्इ सुरु भयो। उनी भन्छन्- ‘यसअघि म्याथम्याटिकल साइन्स, म्याथम्याटिक फाइनान्स, म्याथम्याटिकल अर्थशास्त्र, म्याथम्याटिकल वायोलोजी लगाएतका विषय पढाइ हुने गरेको त थियो। तर एक्चुरियल साइसन्को लागि के के पढाउने भन्ने थाहा थिएन।’

गुगलमा एक्चुरियल साइन्सबारे खोजेर पढाउन थालेको उनी बताउँछन्। उनका अनुसार नेपालमा एक्चुरियल साइन्स पढेका कोहि पनि छैनन्। त्यति ठूलो अर्थतन्त्र भएको भारतमा पनि मान्यता प्राप्त एक्चुरीहरुमा जम्मा ३२३ जना भएको उनले जानकारी दिए।

बीमा कम्पनीहरुलार्इ भने एक्चुरी नभइ हुन्न। त्यसैले उनका अनुसार अमेरिकाको स्टेट युनिभर्सिटी अफ इलिनोइजले अध्यापन गर्ने कोर्ष हेरेर नेपालको लागि पनि कोर्ष तयार पारिएको हो।  

कोर्ष त बन्यो तर पढाउने कसले? कोर्ष अनुसार सुरुका दुर्इ वर्षमा अध्ययन हुने विषय म्याथम्याटिक्स हुने हुँदा यसमा पढाउने मानिसको खाँचो हुदैन। तर पछिल्लो दुर्इ वर्षमा भने एक्चुरीकै विषय पढाइ हुने हुँदा कसले पढाउने भन्ने समस्या भयो।

तर वीमा क्षेत्रमै काम गरेका तथा एक्चुरीको ज्ञान भएका मानिस पनि भेटेपछि समस्या हल भएको उनले सुनाए।

स्कुल सुरु गर्दा  पढाउने ठाउँ समेत थिएन। बज्राचार्यले बसै किताब लेटरप्याड र पढाउने सामान झोलामै बोकेर हिँडेको सम्झन्छन्। तर पछि जनप्रसाशन क्याम्पसले अध्यापन गर्ने ठाउँ दियो। धेरैलार्इ पढ्न बोलाएपनि पहिलोपटक  बल्ल बल्ल ३० जनालार्इ भर्ना गरेर पढाउन सुरु गरेको उनले बताए।

दोस्रो सत्रमा ३१ जनालार्इ भर्ना गरेर पढाइयो। तर तेस्रो सत्रमा  आइपुग्दा भने यसप्रति रुची देखिएको छ। तेस्रो सत्रमा  माग गरिएको ३६ जनाको कोटा पुरा भएको छ। अहिले त भर्ना गरिदिनु पर्यो भनेर धेरै प्रेसर आउन थालेको उनले बताए।

बैंक तथा वित्तीय संस्थाको साधारण वित्तीय विवरण बनाए जस्तै बीमा कम्पनीहरुलार्इ साधारणसभा गर्नको लागि एक्चुरी गरेको वित्तीय विवरण चाहिन्छ। बीमा कम्पनीहरुको जोखिमको मूल्याङ्कन गर्नको लागि एक्चुरी गरेकै हुनु पर्छ।

बीमा कम्पनीले जारी गरेका पोलिसीहरु मध्ये कुनैमा नाफा हुन्छ भने कुनैमा हुँदैन। यसको हिसाव किताव गर्नको लागि पनि एक्चुरी गर्नु पर्ने हुन्छ। त्यसमा पनि बीमा समितिले बीमा कम्पनीहरुलार्इ एक्चुरी भ्यालुएसन गर्नै पर्ने वाध्यकारी नियम बनाएको छ। यसका लागि जीवन बीमा कम्पनीले एक जना एक्चुरी नियुक्ती गरेकै हुनु पर्ने व्यवस्था छ।

गणित विज्ञान स्कुलमा पढेका विद्यार्थीलार्इ बीमा कम्पनीहरुले रोजगारका प्राथमिकता दिने भएकाले रोजगारीकालागि कुनै समस्या नपर्ने पनि बज्राचार्यले बताए।