वीरगंज। २४ वर्षअघि वीरगंजको एउटा सामान्य मारवाडी घारानाको ठिटो मुरली जालान धागोको काम सिक्न धनगढी हिड्यो ।
धनगढीको एक धागो काराखानामा काम गर्न गएका मुरलीले वीरगंजमै सामान्य नोकरी भएका बुवा बनवारीलाल र भाइ सन्दिपलाई सानैदेखि भरथेग गर्न थाले।
उनले सुरुमा एकदिनको ज्याला पाउँथे २ रुपैयाँ। ज्यालादारी कामदारको रुपमा काम शुरु गरेको तीन वर्षपछि उनले मासिक ४ हजार पाउन थाले । त्यति बेला उनी धागो कारखाना चलाउने प्राविधिकको काम सिकिसकेका थिए ।त्यसपछि उनी वीरगंज फर्किए अनि एक लाख रुपैयाँबाट धागो व्यवसाय शुरु गरे।
३० वर्षे उमेरसम्म अर्काको नोकरी गर्ने मुरली आज वीरगंजका युवा उद्यमीमा दरिएका छन्।
उनले १५ वर्षदेखि वीरगंजमा कपडा सिलाउने धागो उत्पादन गर्ने ‘एस थ्रिड’ उद्योग चलाउँदै छन् ।सामान्य परिवारबाट उठेका मुरली डेढ करोडको लगानी रहेको उद्योगको मालिक बनेका छन् । उनले हरेक वर्षको मुनाफा पनि उद्योग व्यवसायमा नै थप्दै गएको बताउँछन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घका सदस्य, आदर्शनगनर ग्रीनसिटी वीरगंजका सचिव तथा ठाकुरराम बहुमुखी क्याम्पसको दक्षिणमा रहेको महानगरपालिका अधारभूत विद्यालय प्रगतिनगरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मुरली उद्योगीसंगै सामाजिक क्षेत्रमा पनि परिचय बनाइसकेका छन्।
उनले सञ्चालन गरेको उद्योगमा २८ जना महिला र १२ जना पुरुष गरी ४० जनाले रोजगारी पाएका छन् । उनी भन्छन्,‘पहिले अरुको उद्योगमा काम गरे,आज अरुलाई रोजगारी दिइरहेको छु ।’
करिब ४ हजार वर्गफिटमा बिस्तार भएको धागो उद्योगले विभिन्न रंग र प्रकारको कपडा सिलाउने धागो उत्पादन गर्छ । नेपालको जय स्पिनिग र रिलायन्स स्पिनिग एवं चीनबाट कच्चा पदार्थमा धागो ल्याएर विभिन्न कलर र रंगमा डाईङ् गरी आवश्यकता अनुसारको धागो उत्पादन गरी नेपाली बजारमा बेच्ने गरेको उनले बताए।
उनका अनुसार उद्योगमा वार्षिक ५ प्रतिशत देखि ८ प्रतिशत सम्म फइदा हुने गरेको छ। ‘कम पढेर पनि लगनशील भएर सीप सिकियो भने विदेश जानु पर्दैन’-उनले भने ।