दशैं बिदामा घुम्ने मुडमा हुनुहुन्छ? ट्राभल एजेन्सीहरुका इकोनोमी प्याकेज यस्ता छन्

बिजमाण्डू
२०७५ असोज ७ गते १६:१२ | Sep 23, 2018
दशैं बिदामा घुम्ने मुडमा हुनुहुन्छ? ट्राभल एजेन्सीहरुका इकोनोमी प्याकेज यस्ता छन्

काठमाडौं। ट्राभल एजेन्सीले दशैं तिहार लक्षित आकर्षक टुर प्याकेज ल्याएका छन्। पछिल्ला केही वर्षहरुमा चाडबाडको बिदालाई परिवारसँगै विदेश घुम्न जाने ट्रेन्ड बढ्दै गएको छ। 

Tata
GBIME
Nepal Life

बिगत ५ वर्षदेखि फ्यामिली टुर प्याकेजको माग निकै बढेको ट्राभल एजेन्सीहरुको अनुभव छ। यसैकारण विभिन्न एजेन्सीले यस वर्षको दशैंतिहार लक्षित प्याकेजहरु धमाधम सार्वजनिक गर्न थालिसकेका छन्। ग्राहकहरुले कम मूल्यका छोटा ट्रिप  र नजिकका गन्तब्य बढी रुचाउने उनीहरु बताउँछन्। 

दरबारमार्गस्थित प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले दशैं तिहार बिदामा विदेश घुम्न जाने नेपालीका लागि ५० हजारदेखिको टुर प्याकेज ल्याएको छ। 
भ्रमण प्याकेज अन्तर्गत दुबई, थाइल्याण्ड, मलेसिया र अजरबैजान जान सक्छन् भने मलेसिया, सिङ्गापुर र युरोप भ्रमण गर्न सक्ने कम्पनीका टुरअपरेटर शुदत्त राजभण्डारीले जानकारी दिए। 

उनका अनुसार न्यूनतम ५० हजार रुपैयाँदेखि चार रात पाँच दिन थाइल्याण्ड भ्रमण गर्न सक्नेछन् भने दुबईकालागि ९० हजार रुपैयाँमा चार रात पाँच दिन भ्रमण गर्न सक्नेछन्। 

दुबर्इ प्याकेजमा नेपाली पर्यटकहरूले फेरारी वर्ल्डसहित अवुधाबी ग्राण्ड मस्क घुम्न सक्ने उनले जानकारी दिए। 

बुर्ज खालिफा, वाइल्ड वादी वाटर पार्क, बक्वाभेन्चर र लस्ट च्याम्वर, डल्फीन सो, दुवाइ एक्युरियम, अन्डरवाटर जु, दुबर्इ  मल, बलिउड थिम पार्क लगायतका स्थानहरू घुम्ने  प्याकेजमा सुविधा रहेको उनले बताए।  

ग्राहकले मलेसिया र सिङ्गापुरमा चार रात पाँच दिनको प्याकेज ९० हजार रुपैयाँमा खरिद गर्न सक्ने उनले जानकारी दिए। 

ग्राहकले हरेक टुर प्याकेजमा तीनतारे होटलमा एकोमोडेसन , बी बी प्लान(बेड एण्ड ब्रेकफास्ट ), फ्री भिसा, मलेसिया र सिंगापुरबीच फ्री एयर फेयर लगायतका सुविधा लिन सक्ने उनले जानकारी दिए।    

युरोप भ्रमण गर्न इच्छुक नेपालीका लागि कम्पनीले फ्रान्स, बेल्जियम र नेदरल्याण्डको संयुक्त प्याकेज बनाएको छ। दुई लाख ५० हजार रुपैयाँदेखि सुरु रहेको भ्रमण प्याकेज सात रात आठ दिनको रहेको राजभण्डारीले बताए।  

'गत वर्ष हामीले बाकु र अजरबैजान लगायतको नयाँ गन्तब्य थप्दा ग्राहकबाट सकारात्मक प्रतिकृया आएपछि हामीले यस वर्ष पनि बाकु र अजरवैजानको भ्रमण प्याकेज राखेका छौँ।' उनले भने।

चार रात पाँच दिनको प्याकेज शूल्क ७५ हजार रुपैयाँ रहेको उनले बताए। उनका अनुसार बाकु र अजरवैजान भ्रमण प्याकेजअन्तर्गत ग्राहकले थ्री स्टार होटेलमा ब्रेकफास्ट सहितको ४ दिने नाइट एकोमोडेसन, एयर अरेबियामार्फत राउन्ड ट्रीप, फ्री भिसा लगायतका सुविधा रहेको राजभण्डारीले बताए। 

एभव एण्ड बियोन्ड ट्राभलले बैंकक, इन्डोनेसिया, मलेसिया र भारतको नैनितालका लागि टुर प्याकेज बनाएको टुर अपरेटर विजय श्रेष्ठले जानकारी दिए।

दशैं तिहार विदा लक्षित भ्रमण प्याकेजको बुकिङ सुरु भइसकेको श्रेष्ठले बताए। उनका अनुसार कात्तिकको पहिलो साता पाँच जानाको समुहले मलेसिया भ्रमण प्याकेज बुकिङ गरिसकेका छन् भने दोस्रो साता १० जानाको समुहले बैंकक भ्रमण प्याकेज बुकिङ गरेका छन्। 

कम्पनीले दशैं र तिहारको बीचमा ४ सय ५० जनाको समुह लिएर स्थल मार्ग हुँदै भारतको नैनिताल लाने योजना बनाएको उनले बताए। 

उनका अनुसार बैंकक भ्रमण प्याकेजकालागि प्रतिब्यक्ति ५० हजार रुपैयाँ र बाली भ्रमणकालागि प्रतिब्यक्ति ७० हजार रुपैयाँ रहेको छ। 

पछिल्लो समयमा विदेश भ्रमणमा जाने नेपाली पर्यटकको सङ्ख्या बढिरहेको जनाउँदै श्रेष्ठले भने 'मुलुकभित्रै घुम्न जाँदा कम्तीमा पनि २० देखि ३० हजार रुपैयाँ खर्च हुन्छ। त्यही रकममा २० हजार रुपैयाँ थप गर्दा बिदेशनै भ्रमण गर्न सकिने यात्रुहरुकै अनुभव छ। यही कारणले पनि पछिल्लो समयमा आउटबाउन्ड टुरिजम बढेको हो।'

पछिल्लो समयमा विभीन्न कर्पोरेट हाउसले इन्सेन्टिभमा स्टाफहरूलाई विदेश भ्रमणकै प्याकेज गिफ्ट गर्ने भएकोले पनि ग्रुप प्याकेजको माग बढ्न थालेको  श्रेष्ठले बताए।

घुम्न जाँदा बिभिन्न स्थानहरूको साइट सिइङमा जाँदा निःशुल्क पिक एण्ड ड्रपको सुविधा दिइने गरिएको हुन्छ। ग्राहकका लागि हवाई टिकट, निःशुल्क अनएराइभल भिसा, हवार्इ टिकट र होटेलको अग्रिम बुकिङ गरिसकेको श्रेष्ठले बताए। 

एस ट्राभलले 'यसपालिको दसैँ एसको प्याकेज सँगै' प्याकेज ल्याएको छ। ग्राहकका लागि कम्पनीले एसियादेखि युरोप र अस्ट्रेलियासम्मको १२ वटा भ्रमण प्याकेज बनाएको म्यानेजर विशाल श्रेष्ठले जानकारी दिए। 

पछिल्लो समयमा दसैँ तिहारको बिदामा विदेश भ्रमण गर्नेको संख्या बढ्दै गएको श्रेष्ठले बताए। मध्यमबर्गलार्इ समेत लक्षित गर्दै बनाइएको होलिडे प्याकेजहरूले कम खर्चमै विदेश घुम्न सकिने अफर रहेको उनले बताए।

उनका अनुसार यसपाली ग्राहकले दुबर्इ, सिङ्गापुर, थाइल्याण्ड, मलेसिया, बाली, इजिप्ट श्रीलङ्का लगायतका पर्यटकीय गन्तब्यमा भ्रमण गर्न सक्नेछन्।

ग्राहकले भ्रमणकालागि तोकेको मिति र योजना अनुसारको मूल्य निर्धारण गरिने श्रेष्ठले जानकारी दिए। 

'सबैभन्दा सस्तो इकोनोमी प्याकेज छ भने मध्यमस्तरको प्रिमियम प्याकेज र उच्च स्तरमा लक्जरी प्याकेज सार्वजनिक गरेको छ।

सबैभन्दा सस्तो ४९ हजार नौ सय रुपैयाँ देखि सुरु हुने भ्रमण प्याकेज ६ लाख रुपैयाँ सम्मका रहेका छन्' श्रेष्ठले भने।  

ग्राहकले ४९ हजार नौ सय देखि ७९ हजार नौ सय रुपैयाँ सम्म ‘अमेजिङ थाइल्याण्ड’को टुर प्याकेज खरिद गर्न सक्नेछन्। ग्राहकले ६९ हजार नौ सय रुपैयाँदेखि एक लाख १९ हजार रुपैयाँसम्मको ‘डेजलिङ्ग दुबई’ टुर प्याकेज खरिद गर्न सक्ने उनले बताए।

 उनका अनुसार ग्राहकले नौ रात १० दिनको थाइल्याण्ड-मलेसिया-सिङ्गापुर भ्रमण प्याकेजका लागि एक लाख १५ हजार रुपैयाँदेखि दुई लख रुपैयाँ सम्म खर्च गर्नुपर्ने हुन्छ। 

कम्पनीले असोज २५ गतेदेखि दुबई-बाकु भ्रमण प्याकेज सुरु गर्ने योजना बनाएको श्रेष्ठले बताए। उनका अनुसार दुबाई-बाकु प्याकेजकालागि ग्राहकले एक लाख २० हजार देखि दुई लाख ४४ हजार रुपैयाँ खर्च गर्नुपर्नेछ। 

'ड्रागन चाइना' प्याकेज असोज १२ गतेदेखि सुरु हुने उनले जानकारी दिए। उनका अनुसार उक्त प्याकेजका लागि ग्राहकले एक लाख २८ हजार रुपैयाँ देखि दुई लाख ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ। 

'रसिया, दुबई, थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, इन्डोनेसिया, मिनी युरोप अन्तर्गत फ्रन्स र स्विजल्याण्ड रहेको छ। जापान, कोरिया लगायत ६ देश समेटिएको युरोप टुरका साथै हामीले ११ दिनको अस्ट्रेलिया टुरको समेत प्याकेज सार्वजनिक गरेका छौँ'उनले भने।

ललितपुरको मानभवन स्थित रेक्स ट्राभलले बैंकक भ्रमणकालागि २५ हजार रुपैयाँकै प्याकेज सार्वजनिक गरेको छ। बैंकक भ्रमणमा जाने नेपाली पर्यटकको चासो बढेका कारण २५ हजार रुपैयाँमै प्याकेज तयार गरिएको ट्राभलकी टुर अपरेटर सुस्मिता तण्डुकारले जानकारी दिइन्। उनका अनुसार यो प्याकेजमा हवाई टिकट भने समावेश गरिएको छैन।    
 
ग्राहकले प्याकेजअन्तर्गत थ्री  स्टार होटेलमा बेड एण्ड ब्रेकफास्टको सुविधा पाउनुको साथै यातायातको समेत सुविधा पाउने छन्। कम्पनीले ग्राहकको रोजाइ अनुसारको भ्रमण प्याकेज उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन्।  

ग्रेट नेपाल होलिडेजले ग्राहकका लागि  ४५ हजार रुपैयाँदेखि चारलाख रुपैयाँसम्मको टुर प्याकेज राखेको प्रमुख बजार प्रबन्धक प्रनिशा श्रेष्ठले जानकारी दिइन्।

ग्राहकले न्यूनतम ४५ हजार रुपैयाँदेखि बैंकक र पटाया भ्रमण गर्न सक्ने उनले जानकारी दिइन्। उनका अनुसार ग्राहकले प्याकेजअन्तर्गत हवाई टिकट, तीन तारे होटलमा (बी एण्ड बी)बेड एण्ड ब्रेकफास्ट , अकमोडेशन, पीक एण्ड ड्रप लगायतका विभीन्न सुविधा लिन सक्नेछन्।  
 
कम्पनीले ग्राहकको माग अनुसार थाइल्याण्ड, मलेशिया, सिंगापुर, बाली, अस्ट्रेलिया, मालदिभ्स, इजिप्ट, टर्की लगायतका विभीन्न गन्तब्यमा प्याकेज उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन्।