नाटकीय रुपमा यसरी समातिए सुनका भरिया : किन तस्कर उम्किन्छ? प्रहरीको औंला राजस्वतिर

सविन ढकाल/बिजमाण्डू
२०७५ असोज ९ गते १६:४४ | Sep 25, 2018

काठमाडौं। 'रसुवाको केरुङ नाका हुँदै सुन तस्करी भइरहेको छ,' महानगरीय प्रहरी परिसरमा केही दिन अगाडि यस्तै सूचना आयो।

Tata
GBIME
Nepal Life

सूचनापछि डिएसपीको कमाण्डमा सुन तस्कर पक्राउ गर्न टोली बनायो परिसरले। 

'सोमवार केरुङ हुँदै काठमाडौंको टोखाको बाटोबाट मोटरसाइलमा सुन आउँदैछ,' इन्फर्मरले तस्करीमाथिको फलो-अप सुनाउँछ। 

त्यही सूचनालाई पछ्याउँदै सोमवार दिउँसो टोखामा प्रहरी तम्तयार रहे। करिब ५ बजेर ३० मिनेटमा बा ७३ प ३४०२ नम्बरको पल्सर मोटरसाइकल आयो। पल्सरमा थिए दुई युवा।

सिकार कुरिरहेको प्रहरीको नजिकै पुग्नुअघि एक्कासी मोटरसाइकलले दिशा फेर्‍यो। जाल थापेर बसेका प्रहरीको शंका बलियो भयो, पिछा गर्न थाले। केही बेरमै उनीहरू प्रहरीको नियन्त्रणमा पुगे। समातिने तिनै थिए जसबारे प्रहरीले पटकपटक इन्फर्मरबार जानकारी लिएका थिए। 

प्रहरीले बाइकको सबै भाग चेक गरे। एक एक गरेर पेट्रोल ट्याङ्की, साइलेन्सर, लुकिङ ग्लास सबैतिर प्रहरीले नजर लगाए। प्रहरीको नजरी त्यहाँ त्यहाँ पर्‍यो जहाँ यसअघि तस्करले सुन ल्याउँदा लुकाएका हुन्थे। 

ती सबै ठाउँमा हेर्दा पनि सुन कतै भेटिएन। उनीहरूले बोकेको झोलामा पनि सुन थिएन। शरीर पूरै चेक गरे। अन्ततः उनीहरूले लगाएको बेल्टभित्र सुन भेटियो। परिसरका प्रमुख एसएसपी वसन्त लामाले लामो समयको अनुसन्धानपछि सुन तस्करीलाई पक्राउ गर्ने सफल भएको बताए।  

प्रहरीले सहजै थाहा नपावस् भनेर १२ वटा टुक्रा बनाएर सुन ल्याइएको रहेछ।  अन्तत: ३ किलो सुन बरामद भयो। रसुवा गोसाइकुण्ड गाउँपालिका १ घर भएका २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्वा तामाङ पक्राउ परे सुनसहित। 

१ किलो सुनको ५० हजार रुपैयाँ ज्याला
घले र तामाङ आफै सुन तस्करमा रहे पनि भरिया मात्र हुन्। कसैले केरुङबाट दिएको सुन काठमाडौं बुझाउनमात्र आएका। उनीहरूले केरुङमा भने अनुसारको व्यक्तिलाई सुन बुझाउनु पर्ने थियो। 'भोटे' भन्ने व्यक्तिलाई सुन नबुझाउँदै उनीहरू पक्राउ परेका थिए। प्रहरीले भोटेलाई पक्राउ गर्ने एम्बुस त थाप्यो। तर, उनी त्यसमा परेनन्।

जुन ठाउँमा सुन दिने कुरा भएको थियो त्यही स्थानमा उनीहरूलाई लिएर प्रहरी गोप्य रूपमा पुग्यो। रातिको ९ बज्दा समेत भोटे आएनन्। भरिया पक्राउ परेको भोटेले थाहा पाइसकेका थिए। एसएसपी लामा भन्छन्, 'हामीले भोटेलाई पक्राउ गर्न हरेक प्रक्रिया गर्‍यौं  तर ऊ आएन। प्रहरी भन्दा चोर अगाडि भने जस्तै भयो।'

पक्राउ परेका दुवै जना सानतिना ठेक्कामा सक्रिय हुन्। उनीहरूलाई एक किलो सुन पुर्‍याए वापत ५० हजार रुपैयाँ दिने सहमति भएको थियो। उनीहरूले यसअघि पनि दुई पटक सुन ल्याएको प्रहरीमा बयान दिएका छन्। 

भरिया समातिँदा किन समातिँदैन मुख्य तस्कर?
राजस्व अनुसन्धानको कारणले गर्दा सुन तस्करी पक्राउ नपरेको एसएसपी लामाको दाबी छ। उनी भन्छन्, 'हामी सुन भरिया पक्राउ गरेपछि राजस्वलाई बुझाउँछौं। राजस्वले अनुसन्धान गर्छ। राजस्वले अनुसन्धान गरेपछि मुख्य व्यक्ति पक्राउ पर्दैनन्। राजस्वले प्रहरीसँग समन्वय नै गर्ने चाहँदैन।'