वीरगंजमा क्याल समुह आक्रमकः ८७ करोडको छड उद्योग, साढे चार अर्बको स्टील उद्योग थपिँदै

बिजमाण्डू
२०७५ असोज ९ गते २१:२२ | Sep 25, 2018
वीरगंजमा क्याल समुह आक्रमकः ८७ करोडको छड उद्योग, साढे चार अर्बको स्टील उद्योग थपिँदै

वीरगंज। वीरगंजको क्याल समुह लगानी विस्तारमा आक्रामक देखिएको छ। गत माघमा सवा अर्ब रुपैयाँको नारायणी स्ट्रिप्स सञ्चालनमा ल्याएको समुहले अहिले नारायणी ईस्पात प्रालि सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

गत असार २४ देखि डन्डी उत्पादन गरेको यो उद्योगमा करिब ८७ करोडको लगानी रहेको छ। वीरगंज–पथलैया औद्योगिक करिडरको छातापिपरा नजिक क्याल समूहकै नारायणी रोलिङ मिल नजिकै यो उद्योग संचालनमा आएको हो।

नारायणी रोलिङ मिलमार्फत् टिएमटी डण्डी, एंगल, पट्टी उत्पादन गर्दै आएको क्याल समूहले बजार प्रतिस्पर्धामा टिक्न लगानीसँगै उत्पादन क्षमतासमेत विस्तार गरेको हो। नारायणी ईस्पात सञ्चालनमा आएपछि वीरगंज कोरिडोरका स्टील उद्योगमा प्रतिस्पर्धा थपिएको छ।

अढाई दशकदेखि फलामकै व्यापार र उद्योगमा व्यवसाय गरेको क्याल समुहले बजारमा टिक्नको लागि डन्डी उद्योगमा हात हालेको क्याल समूहका अध्यक्ष सत्यनारायण क्यालले बताए। ‘बजारमा टिक्नकै लागी भएपनि आधुनिकीकरण गर्नुपर्ने बाध्यता थियो,’ उनले भने। उद्योगले वार्षिक १ लाख मेट्रिक टन  डन्डी उत्पादन गर्नेछ। स्ट्रीप्सले पनि वार्षिक १ लाख मेट्रिक टन जस्ता पाता उत्पादन गरिरहेको उनले बताए।

उद्याेगले शुरुमा डन्डी र पछि एमएस विलेट पनि उत्पादन गर्ने तयारीमा छ। डण्डी उत्पादनका लागि चौकस फलामको कच्चा पदार्थलाई एमएस बिलेट भनिन्छ। अहिले यो कच्चा पदार्थ भारतबाटै आयात गरी नेपाली उद्योगहरु डन्डी बनाउछन्। 

विदेशबाट आयात गर्दा कहिलेकाहीं बिलेटको आपूर्ति चक्र अवरूद्ध भइदिन्छ, त्यस्तो अवस्थामा पनि डण्डी उत्पादन जारी राख्न थोरै परिमाणमै भएपनि एमएस बिलेट समेत उत्पादन गर्ने तयारी रहेको समुहका अध्यक्ष क्यालले जानकारी दिए। स्पन्ज आइरन र स्क्रयाप प्रयोगबाट स्थानीय स्तरमै बिलेट उत्पादन गरिनेछ। अबको चार महिनामा बिलेट उत्पादन थाल्ने उद्योगले जनाएको छ।

नारायणी ईस्पात बाहेक यहाँ ठूला औद्योगिक समूहको लगानीमा करिब ४ अर्ब ४३ करोड रूपैयाँको लगानी सहित थप ४ वटा स्टील उद्योग सञ्चालनमा आउन लागेको छ।

साैरभ समूहको अगुवाईमा परवानीपुर ड्राइपोर्ट सडक खण्डको बगहीमा ३ अर्ब २८ करोड लगानीमा सर्वोतम स्टील्स प्रालि र गोल्छा समूहको ८९ करोड लगानीमा बिन्दवासिनी गाउँपालिकामा हुलास आइरन इण्डष्ट्रिज प्रालि संचालनमा आउने भएको हो। उद्योग विभागका अनुसार स्टील भाँडाकुँडा उत्पादनमा फर्च्युन स्टील इम्पेक्सले २१ करोड र एंगल पट्टी, वर्गाकार पाइप उत्पादनका लागी जय माता दि स्टील्स प्रालिले ५ करोड रूपैयाँ लगानी गर्दैछन्।

वार्षिक उत्पादन क्षमता २ लाख ६४ हजार टनको सर्वोतम स्टील्सले डण्डी, एंगल, पट्टी र ८० हजार टन उत्पादन क्षमताको हुलास आइरनले फलामे पाइप उत्पादन गर्नेछ। सर्वोतम स्टील्सले अहिले उद्योग परिसरमा पर्खाल लगाउने काम गर्दैछ भने हुलास आईरनले पनि गर्दौलमा जग्गा खरिद गरी पर्खाल लगाउन शुरु गरेको छ।