मेरोमा कारोबार गर्ने लगानीकर्ता डुबोस् भन्ने कुन ब्रोकरले चाहन्छ? रानाभाटको अन्तर्बार्ता




नेपाल स्टक ब्रोकर एसोसिएसनको पूरै कार्यसमिति सर्बसम्मत निर्वाचित हुँदा अध्यक्षमा भने निर्वाचन भयो। राजनीतिक एजेण्डा बोक्दा निर्वाचनमा जानु परेको आरोप पनि लाग्यो। यसैसन्दर्भमा नवनिर्वाचित अध्यक्ष भरत रानाभाटसँग बिजमाण्डूका सुवास निरौलाअरुण सापकोटाले सोधे-  सम्पुर्ण सदस्य तथा पदाधिकारीहरु सर्वसम्मत हुँदा अध्यक्षको पदमा भने किन सहमति जुट्न सकेन? ब्रोकरहरुबीचमा पनि राजनीतिक दलको ट्याग लाग्यो नि?

अध्यक्षबाहेक सम्पूर्ण पदमा सहमति जुट्यो तर अन्तिम अवस्थामासम्म पनि दुर्इ जनाको आकांङ्क्षा जारी रह्यो। तर हामीले दुर्इ पार्टीको राजनीति गरेर उपस्थिति जनाएका थिएनौं। अन्तिसम्ममा पनि चुनावमा नजाने भन्ने नै थियो राजकुमार जी (तिमिल्सिना) र मेरो। तर प्राविधिक कारणले अन्तिममा चुनावमा जानु परेको हो। तर चुनावमा जाँदा हामीले कुनै पनि पार्टीको प्रतिनिधि भएर भोट मागेका थिएनौँ। 


यहाँ सबैजना कुनै नै कुनै सिद्धान्तमा विश्वास गर्छौं। तर हामी ब्रोकर संघमा भने राजनीतिभन्दा पनि व्यवसाय गर्न आएका हौं। अबका दिनमा पहिलाको जस्तो पार्टीगत रुपमा अगाडि बढ्ने अवस्था छैन। 

दोस्रो बजारलार्इ सबैभन्दा धेरै ब्रोकरहरुले प्रभावित पार्दै आएको भन्ने स्थापित जस्तो छ। कारोबार तलमाथि हुँदा ब्रोकरहरुको भूमिका एकदमै शंकास्पद हुन्छ नि?
लगानीकर्ता आउने भनेको ब्रोकर कार्यालयमै हो। अहिलेसम्म त लगानीकर्ताले घरमै बसेर कारोबार गर्न सक्ने अवस्था आइसकेको छैन। ब्रोकर कार्यालयमा आउँदा त्यहाँ सबैखाले लगानीकर्ता आउँछन्। सबैखाले कुराहरु हुन्छन्। जसले गर्दा त्यहाँ कतिपय कुराहरु बजारलार्इ तलमाथि गर्ने कुराहरु होलान्। कारोबारका लागि बोल्ने, अर्डर दिने लगानीकर्ताले हुन् भने त्यहाँ कसरी ब्रोकरले प्रभावित पार्न सक्छन्। ब्रोकरले त काम गर्दिने मात्रै न हो। 

सबै किनबेच ब्रोकर कार्यालयमा आएर हुने हुँदा आरोपप्रत्यारोप हुने गरेको हो। भोलिका दिनमा अनलाइन प्रणाली आइसकेपछि यी सबै आरोप  हराउँछन्। 



तै पनि तपार्इहरु लगानीकर्तालार्इ शेयर खरिद बिक्रीकालागि सल्लाह त दिइरहनु भएको हुन्छ नि? 
अहिलेसम्म ब्रोकरले खरिद बिक्रीको लागि सल्लाह दिनै पाउँदैन। ब्रोकरले एडभाइजरी सुविधा दिन पाउने नियम छैन। तर ब्रोकरले लाइसेन्स प्राप्त गर्ने बेलामा आफुले जानेका कुराहरु, देखेका कुराहरु लगानीकर्तालार्इ घाटा नहुने गरी सल्लाह दिने गरका छन्। तर तपार्इ यो गर्नुस्, यसले तपार्इलार्इ फाइदा पुर्याउछ, यो नगर्नुहोस् तपार्इलार्इ घाटा हुन्छ भन्न चाँहि हामी पाउँदैन। र त्यो भनेका पनि छैनौ। 

कारोबार घट्दा ब्रोकर कार्यालयहरु खासै चिन्तित देखिदैँनन्। तर सूचक केही तलमाथि हुँदा चाहीँ एकदमै चिन्तित हुन्छन्। तर ब्रोकर कार्यलयहरु त कारोबार नहुँदा चाँहि बढी चिन्तित हुनुपर्ने होइन र? 
होइन होइन। हामीलार्इ लगानीकर्ता वा कारोबार गर्ने विभिन्न समुहले फोन गर्दा मार्केट के छ भनेर सोध्छन्। मार्केट के छ भनेर सोध्नुको मतलब सूचक के छ भनेर सोधिएको हो। हामीले पत्रकारहले सोध्दा पनि सूचक नै बताउने हो। बजार घटिरहेको छ भने सूचक डाउन छ भन्ने हो अनि बढिरहेको छ भने सूचक बढिरहेको छ भन्ने हो। तर मैले यति रुपैयाँको कारोबार भएको छ मात्रै भने भने त मेरो लागि मात्रै भने नि त। यसले गर्दा उहाँहरुले सोधेको उत्तर पाउनु हुन्न नि। 

ब्रोकरलार्इ कारोबार घट्दा घाटा हुने हो। तर वास्तविकता के हो भने सूचकमा आउने तलमाथिले ब्रोकरलार्इ नाफा घाटा हुन्छ। तर ऊसँग सम्वन्धित लगानीकर्ता छन्। यसले उनीहरुलार्इ पनि नाफा घाटा हुन्छ। मेरोमा कारोबार गर्ने लगानीकर्ता डुबोस् भन्ने कुन चाँहि ब्रोकरले चाहन्छ र? उसले राम्रै गरोस् भन्ने चाहन्छ। बजार एकदमै तल गयो भने मानवीय गुण नै हो, यसमा सेन्टिमेन्ट जोडिएको हुन्छ। जसले लगानी गरेको छ उसले घाटा बेहोर्दा त नचाहेर पनि त्यस्तो भावना आउनु स्वभाविक हो। 



ब्रोकरहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा कारोबार गर्ने भएर पनि होला नि त?
त्यस्तो होइन। तर ब्रोकरले जानेको पेसा भनेको यहि शेयरको कारोबार नै हो। ब्रोकरले शेयर किन्नै नपाउने भन्ने कहाँ छ? छैन नि। उसले आफैँले पो किन्न पाउँदैन तर अरुबाट किनिरहेको हुन्छ। आइपिओ, एफपिओ किनिरहेको हुन्छ। यसले गर्दा ब्रोकरसँग पनि शेयर हुन्छ। तर आफुसँग शेयर छ भन्दैमा घट्दा मलाई एकदमै घाटा भयो अनि बढ्दा मलार्इ नाफा भयो भन्ने प्रवृत्ति छैन।

अहिलेसम्म ब्रोकरको व्यावसाय डिपि र खरिद बिक्रीको आदेश दिने हो। बरु कारोबारको भोल्यूम चाँहि कम भयो भने ओहो कम भयो भनेर आफ्नो तर्फबाट हेर्ला। सूचक तल झर्दा केही दुखः व्यक्त गर्ला। तर दुखी हुँदै गर्दा उसको पनि लगानी हुन सक्छ। तर मेरो लगानी थियो मार्केट घट्यो भनेर टेन्सन भनेर हिड्दैन, हिड्नु पनि हुँदैन।  

यसैले गर्दा आफैँले कारोबार गरेर ब्रोकरले बजारलार्इ प्रभावित पार्यो भन्ने किसिमका आरोप आउँछ नि?
यी कुराहरु बाहिरबाट भन्ने कुराहरु हुन्। नेप्से फ्रन्टलाइन रेगुलेटर यसको निरीक्षण गर्ने छुट्टै विभाग छ। धितोपत्र बोर्डको पनि आफ्नै निरीक्षण विभाग छ। सानो मात्रै कहिँनेर उनीहरुलार्इ शंका लाग्यो भने उसले तत्काल निरीक्षण गरेर यो कारोबारको सम्पूर्ण विवरण दिनुहोस् भन्छ। अनि ब्रोकरले बजारलार्इ कसरी प्रभावित पार्न सक्छ? 

बरु ब्रोकरले पनि कारोबार गर्न पाउनु पर्छ भन्दै मागिरहेका छौ। ब्रोकरहरुले आफै कारोबार गर्न पाउने भयो भने नियामकलार्इ थप निरीक्षण गर्न सजिलो हुन्छ। भरत रानाभाटले ३५ नं ब्रोकर कार्यालयबाट कारोबार गर्दाखेरी तलमाथि गर्यो कि गरेन भनेर तुरुन्त हेर्न सक्छन्। विदेशमा यस्तो अभ्यास हुँदै आइरहेको छ। अनलाइन आइसकेपछि ब्रोकरलार्इ कारोबार गर्न दिनु पर्छ। अनलाइन आइसकेपछि आफ्नैबाट कारोबार गर्न दिनु पर्छ। यसले बजारलार्इ भाइब्रेन्ट बनाउँछ। अहिले ब्रोकरले आफ्नो नामबाट कारोबार गर्न नपाउँदा अरुको नामबाट गर्छन् भन्ने पनि सुन्नमा आउँछ। त्यसैले ब्रोकरलाई कारोबार गर्न दिनु पर्छ भन्ने मलाई लाग्छ। 



समग्र पूँजी बजारको विकासमा नेप्से र सेबोन कहँ न कहीँ चुकिरहेका छन्। दुबै संस्थाले जारी गरेका निर्देशनको पालना गर्ने भनेको ब्रोकर कार्यालयहरुले नै हो। यसमा धेरै जसो कुराहरुमा ब्रोकर कार्यालयहरुले असहयोग गर्दा पुरा नभएको देखिन्छ नि? 
हामीलार्इ जुनसुकै कुराहरु आजको आजै चाहिन्छ। सिडिएससी आउनुभन्दा तीन/चार वर्ष अगाडिदेखि तुरुन्तै चाहियो भनियो। जुनसुकै कुराहरु चरणबद्ध रुपमा अगाडि बढ्छन्। आज चाहिँदैमा आजै पाउन सकिँदैन। अनलाइनको प्रकृया अगाडि बढिरहेको छ तर तपार्इलार्इ अहिले नै अनलाइनबाट खरिद बिक्री गर्नु परेको छ। यसको लागि केहि निश्चित समय लाग्छ। मानिसहरु यस्तो समय पर्खन सक्दैनन्। 

हामी कुन धरातलमा छौ। हाम्रो यथार्थता के हो। सेवोन र नेप्सेको ग्राउण्ड रियालिटी के हो। हाम्रो बजार कहाँ पुगेको छ। केहि पनि हेर्देनौ। जे कुराहरु पनि विस्तारै हुँदै जान्छन्। एकै पटक केहि पनि हुँदैन। 

यो बजारको विकास हुँदा सबैभन्दा धेरै फाइदा ब्रोकरहरुलार्इ नै हुने हो। किनभने जति धेरै भोल्युम बढ्छ ब्रोकरलार्इ फाइदा हुन्छ। त्योसँगै सेवोन र नेप्सेलार्इ पनि फाइदा हुन्छ। अन्तत: लगानीकर्ता र सरकारलार्इ नै फाइदा हुन्छ। 

४/५ वर्ष अगाडिको तुलनामा नेपालको शेयर बजार धेरै नै विकास भएको छ। सेवोन र नेप्सेले निर्देशन दिए पनि आजको आजै गर्ने खालका हुँदैन। यसमा केहि समय लाग्न सक्ने हुन्छ। कतिपय प्राविधिक कुराहरु हुन्छ। अनलाइन पनि एक वर्ष अगाडि आउनु पर्ने हो। तर प्राविधिक कारणले अगाडि बढ्न सकेको छैन। मिल्दै नमिली ह्वात्तै ल्याउने कुरा हुँदैन। नियामक निकायले निर्देशन गरेका कुराहरु मान्छेले सोचेको जस्तो चाँडो नभएको मात्रै हो तर विस्तारै सम्पूर्ण निर्देशनहरु पालना हुँदै गएका छन्। 

अनलाइन प्रणालीको लागि आवश्यक पर्ने डाटा सेन्टरको विषयमालार्इ लिएर पछिल्लो समय नेप्से र ब्रोकरहरुबीच जुहारी चलेको छ। कहिले क्लाउडका विषयमा त कहिले ५० वटै ब्रोकर कार्यालयले एकै स्थानमा डाटा सेन्टर राख्ने विषयमा। तपार्इहरुको इन्ट्रेष्ट के हो? 

नेप्से र ब्रोकरहरुका बीचमा त्यस्तो आरोप प्रत्यारोप छँदैछैन। अहिले खासमा भएको के हो भने एकातिर अनलार्इको टेस्टिङ चलिरहेको छ। हामीले डाटा सेन्टर नलिएर काम रोकिएको छैन। दुर्इ महिना पहिले बनाएको भए पनि यो समय आउने नै थियो। पहिला पहिला क्लाउड नआउँदा डाटा सेन्टरको कुराहरु जायज थियो होला। अहिले प्रविधि कहाँबाट कहाँ पुगिसक्यो। हामीले सस्तोमा प्रविधि पाइरहेका छौ भने महंगो किन तिर्ने? हामीहरु उनीहरुलार्इ प्रतिस्पर्धा गराएर राम्रो र सस्तो सेवा दिने कम्पनी छन् भने हामी किन नजाने। यस विषयमा हामी अन्तिम चरणमा पुगिसकेका छौ। केहि दिनमा नै यस विषय टुङ्गिने छ। नेप्सेलार्इ पनि जतिसक्दो चाँडो अनलाइन ल्याउनु परेको हुँदा हामीहरु बीच खासै केही मतैक्यता छैन। नेप्सेलार्इ ब्रोकरले ल्याएको कुराहरु ठिक छ भन्ने लागिसकेको छ। 



अहिले मक ट्रेडिङ भइरहेको छ। मक ट्रेडिङका लागि नेप्सेको निर्देशन अनुसार ब्रोकरहरुले आफ्नो डाटा सेन्टर बनाइसक्नु पर्ने थियो। यस विषयमा त ब्रोकरहरुले असहयोग गरेको देखियो नि? 
हामीले आफ्नो छुट्टै डाटा सेन्टर ल्याउने भन्दै गर्दा पनि समय लाग्थ्यो। यो भोलि नै आउँदैन। सुरुमा हामीले डाटा सेन्टरको सेवा प्रदायक कम्पनी लिएर गएकै हो। उनीहरुले केही कुराहरु पूरा गर्न सकेनन् होला। त्यसमा पनि ती कम्पनीलार्इ दिएर पनि भएन, योग्य र विश्वसनीय पनि हुनु पर्यो। 

त्यसमा पनि नेप्से हामीभन्दा माथिल्लो निकाय हो। उसले गरेका निर्देशन हामीले मान्नै पर्छ। र उनीहरुलार्इ विश्वास पनि गर्नु पर्छ। हाम्रो तर्फबाट गर्ने सहयोग गरिरहेका छौ। सम्पूर्ण प्राविधिक कुराहरु हामीलार्इ थाहा हुँदैन। हामीले गर्न सक्नेजति सबै सहयोग गर्न तयार छौं।

पछिल्लो समय बैंकलार्इ ब्रोकरको लाइसेन्स दिने कुराहरु भैरहेको छ। साथै तपार्इहरुले शाखा विस्तार गर्न बोर्डमा निवेदन दिइरहनु भएको छ। तर लामो समयदेखि अनुमति प्रदान गरिएको छैन। नियामक निकायले ब्रोकरको शाखा विस्तार रोकेर बैंकलार्इ लाइसेन्स दिन खोज्नु भनेको त तपार्इहरुलार्इ नियामक निकायले विश्वास गर्दैन भनेजस्तो देखियो होइन?  
उहाँहरुले शाखा खोलेर चलाउ भन्नु भएको छ तर अनुमति दिनु भएको छैन। के कारणले अनुमति दिइएन हामीलार्इ थाहा छैन। दुर्इ करोड रुपैयाँ पूँजी पुर्याउन भनियो त्यो पनि पुर्यायौ। मार्जिन लेन्डिङको लागि ५ करोड भनिएको छ। त्यसका लागि पनि हामी तयार छौ। अहिले ४२ वटा शाखा उपत्यका बाहिर छ। अहिलेसम्म कुनै पनि शाखाहरुबाट तलमाथि भएको छैन। यस बाहेक अन्य के के कुराहरु आवश्यक पर्छ हामीहरु गर्न तयार छौं। 

तपार्इहरुले कुनै पनि लगानीकर्तालार्इ हितग्राहि खाताको सेवा ब्रोकरले राम्रो दिन्छन कि बैंकले भनेर सोध्नु भयो भने म दावाका साथ भन्छु ७५ प्रतिशतभन्दा धेरैले ब्रोकरले राम्रो चलाएका छन् भन्छन्। लगानीकर्ताले ब्रोकरको कार्यालयबाट हितग्राही खाताको कुनै पनि सुविधा सजिलै प्राप्त गर्न सक्छन्। बैंकको शाखामा गएर यस्तो सुविधा पाउनै सक्दैनन्। 

हाम्रो सेवा विस्तारका लागि के के गर्नु पर्ने हो हामी तयार छौ। बोर्डको निर्दशन अनुसार घाटै हुने स्थानमा पनि भोलिको व्यापार देखेर हामीहरु जान तयार छौं। कि त हामी ब्रोकरलार्इ शाखा विस्तारको लागि अनुमति दिदैनौ भन्नु पर्यो। होइन भने थप के के आवश्यकता पूरा गर्नु पर्ने हो भन्नु पर्यो। यति हुँदा हुँदै पनि नियामक निकायले हामीलार्इ विश्वास नगरेर बैंकलार्इ ब्रोकरको लाइसेन्स दिने भनिरहको छ। प्रत्यक्ष रुपमा बैंकलार्इ ब्रोकरको लाइसेन्स दिने पनि होइन। 

बैंकहरुले छुट्टै अर्को संस्था खोल्दा ब्रोकरको भन्दा पनि कमजोर सुविधा प्रदान गर्नेछन्। बैंकका शाखा कार्यालयले सेवा प्रदान गरे भने पनि ब्रोकरको जस्तो सेवा प्रदान गर्न सक्दैनन्। बैंकको एउटा शाखाको एउटा कर्मचारीले दिने सुविधाभन्दा एउटा ब्रोकर कार्यालयले धेरै नै राम्रो सुविधा प्रदान गर्छ। 



तपार्इहरु २५ वर्षदेखि शेयर बजारमा हुनुहुन्छ। तर सँधै शेयर खरिद बिक्रीमा मात्रै केन्द्रित रहनु भयो। आफ्नो कार्यक्षमता तथा सुविधाको क्षेत्र चाहिँ बढाउनु पर्दैन? 
हाम्रो सेवा क्षेत्र विस्तारको लागि नियामक निकायसँग मागेका कुराहरु धेरै छन्। जसमा मार्जिन लेन्डिङको लागि हामीले एक वर्षदेखि तयारी गरेका छौं। तर अझै कार्यान्वयनमा आउन सकेको छैन। ५ करोड रुपैयाँ पूँजी जुटाएर बसेका छौं। तर अनुमति पाएका छैनौं। डिपि चालाउँदा घाटामै भए पनि राम्रोसँग संचालन गरिरहेका छौं। नियामक निकायले अनुमति दिएका कुराहरु हामीले गरेका छौं। दुर्इ करोड पूँजी भएको कम्पनीलार्इ ८ अर्बको कम्पनीसँग तुलना गर्दा मात्रै कमजोर देखिएला, होइन भने दुर्इ करोड रुपैयाँको अन्य कम्पनीको तुलनामा हामीले राम्रोसँग संचालन गरिहरेका छौं।

ब्रोकर एसोसिएसनको अध्यक्ष भैसकेपछि आफ्नो कार्यकाल भरी के के काम गर्ने योजना बनाउनु भएको छ? 
मैले मेरो कार्यकाल भरी एसोसिएसनको भित्र तथा बाहिरका काम गर्ने योजना बनाएको छु। नियमित रुपमा नियामक निकाय सेवोन, नेप्सेसँग गएर गर्ने कुराहरु भैरहने छन्। यसभन्दा अगाडि भएका पहलहरुलार्इ नियमितता प्रदान गर्ने। भविष्यमा आउने कुराहरुलार्इ मिलाएर लैजाने छु। सेटलमेन्ट ग्यारेन्टी  फण्ड, पोर्टफोलियो म्यानेजमेन्ट, अक्सन मार्केटकालागि आवश्यक प्रयास गर्नेछु। अक्सन मार्केटकालागि आवश्यक पर्ने कार्यविधिलार्इ अगाडि बढाउन दवाव सिर्जना गर्नेछु। विहान उठेदेखि बेलुका नसुतेसम्म हामी यही मार्केटकै बस्छौ। त्यसैले पोर्टफोलियो म्यानेजमेन्टको काम गर्न तयार छौं।

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ब्रोकरको वर्गीकरण योजना ल्याएको छ। यसो भनिरहँदा ब्रोकरको वर्गीकरण गर्नु पर्ने आवश्कयता हो कि होइन? 
ब्रोकरको वर्गीकरण गर्नु पर्ने आवश्यकता छैन। हाम्रो सेवोनलार्इ एउटै प्रश्न, ब्रोकरको वर्गीकरण केको आधारमा गर्ने? यसलार्इ प्रष्ट पारिनु पर्छ। ब्रोकरको वर्गीकरण केका लागि गर्ने? हाम्रो काम शेयर खरिद बिक्री गर्ने र डिपी संचालन गर्ने बाहेक केही छैन भने केका लागि बर्गीकरण आवश्यक पर्यो? 

Share this Story

   

मेरोमा कारोबार गर्ने लगानीकर्ता डुबोस् भन्ने कुन ब्रोकरले चाहन्छ? रानाभाटको अन्तर्बार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.