दशैंमा आयात ह्वात्तै बढ्दा वीरगंज भन्सारमा कारका लस्कर, राजस्व नतिरेका २ हजार गाडी नाकामै

बिजमाण्डू
२०७५ असोज १९ गते १२:२४ | Oct 5, 2018


वीरगंज। दशैंमा गाडी किन्ने बढेपछि नेपाली आयातकर्ताहरु धमाधम भारत तथा विदेशबाट महंगा चार पाङग्रे कार मगाउन थालेका छन् ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन, भदौ, असोजमा वीरगंज नाकाबाट भित्रिने विलासी गाडीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

नेपालकै मुख्य नाकाको रुपमा रहेको वीरगंजबाटै सबैभन्दा बढी  गाडीहरु भित्रिरहेको देखिएको छ ।

मारुती सुजुकीको वीरगंजको बिक्रेता मंगलम ईन्टरप्राइजेजका मार्केटिङ हेड आशिष चौधरीका अनुसार असोजमा मात्रै १२ सय कार भित्र्याउने लक्ष्यमध्ये ७ सय जति गाडी भित्र्याइसकेको बताए ।

असोज १५ सम्म गाडीको आयातमा भएको वृद्धिले गर्दा राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको देखिएको छ ।

वीरगंज भन्सारले असोजमा पाएको १२ अर्ब १ करोडको लक्ष्यमध्ये ६५ दशमलव ८७ प्रतिशत ७ अर्ब ९१ करोड उठाइसकेको छ भने भैरहवाले पाएको ६ अर्ब ५७ करोड लक्ष्यमा ६७ दशमलव ५ प्रतिशत अर्थात ४ अर्ब ४३ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारीहरुले जनाएका छन् ।

वीरगंज भन्सारको मात्रै कुरा गर्ने हो भने भदौमा मात्रै लक्ष्य भन्दा बढी ८७ प्रतिशत अन्तशुल्क संकलन भएको देखिएको छ । यसबाट गाडीको आयात लक्ष्यको ८७ प्रतिशतले वृद्धि भएको अनुमान लगाउन सकिन्छ ।

भदौमा १ अर्बं ४९ करोड ५९ लाख ९१ हजार अन्तशुल्कमा लक्ष्य पाएको वीरगंज भन्सारले २ अर्ब ७९ करोड ३० लाख २० हजार असुली गरेको थियो भने साउनमा अन्तशुल्कको लक्ष्यभन्दा ३७ प्रतिशतले राजस्व असुली बढेको छ ।

साउनमा पाएको १ अर्ब ६३ करोड ९५ लाख ७७ हजार लक्ष्यमा कार्यालयले २ अर्ब २५ करोड ७० लाख ४६ हजार असुली गरेको थियो ।

वीरगंज–रक्सौल दुबैतिर २ हजार गाडी रोकिए

गाडीको आयात बढदा नेपाली आयातकर्ताहरुले नेपाल–भारत सीमा क्षेत्रमा भारी परिमाणमा गाडी पार्किङ गरी थन्काएका छन् ।

रक्सौल, पन्टोका, डन्कन क्षेत्रमा विभिन्न कम्पनीको भाडाको गोदाममा करिब १ हजार गाडीहरु थन्काएर राखिएका छन् भने नेपाल तिरको वीरगंज भन्सार(पुरानो),आईसिपी अलौ यार्ड र श्रीर्सिया सुक्खा बन्दरगाहमा गरी करिब ११ सय गाडी रोकिएको अधिकारीहरुले बताएका छन् ।

हुन्डाई, मारुतीसुजुकी, फोर्ड, महिन्दा, निशान, रिनल्ट, नेक्शन, टाटा, फक्सवागन, टोयटा, मर्सिडिजलगायतका कार, जिप, भ्यान, पिकअप एवं ट्रक, ट्रिपर, मिनी बस लगायत गाडीहरु दुबै तिर रोकिएका हुन् । रोकिएका गाडी मध्ये २ हजार कार मात्रै रहेको छन् ।

वीरगंज भन्सारमा ७ सय,आईसिपीमा ३ सय तथा सुक्खा बन्दरगाहमा ५० वटा गरी नेपाल तिर एक हजार ५० वटा कार थन्केको भन्सार अधिकारीहरुले बताएका छन् ।

गाडी आयातमा राजस्व खरिद मुल्यकै जति तिर्नु पर्ने भएकोले आयातकर्ता वा विक्रेताहरु गाडी छुटाउन एक हप्ता देखि तीन हप्तासम्म ढिलाई गर्ने गरेको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।

उनको अनुसार महंगा गाडीको डिजाइन र सेवासुविधाको अधारमा गाडीको भन्सार महसुल र अन्तशुल्क फरक पर्छ । चालु आर्थिक वर्ष देखि सरकारले हजार सिसिभन्दा बढीको गाडीको आयतामा राजस्व वृद्धि गर्दा पनि गाडीको आयात नघटेको पाइएको छ ।

भन्सार कार्यालयहरुले खरिद गरेको मुल्यको ८० प्रतिशत भन्सार महसुल, ६० प्रतिशत अन्तशुल्क र १३ प्रतिशत मुल्य अभिवृद्धि कर गरी तीन प्रकारको राजस्व बुझाएर गाडी छुटाउनु पर्छ ।

बिक्रेताले गाडीको बुकिङ र राजस्व बुझाउने एडभान्सको पैसा लिएर मात्र गाडी छुटाउने गरेकोले पनि गाडी सीमा नाकामा थन्किने गरेको आरोप लाग्दै आएको छ ।