क्लिंकरमा आधारित सिमेन्ट उद्योग स्थापना भएपनि विदेशबाट क्लिंकर आयात बढेको बढ्यै

बिजमाण्डू
२०७५ असोज २४ गते ०९:४३ | Oct 10, 2018
क्लिंकरमा आधारित सिमेन्ट उद्योग स्थापना भएपनि विदेशबाट क्लिंकर आयात बढेको बढ्यै


काठमाडौं । उद्योग विभागको दर्ता सूचीमा सिमेन्ट उद्योगको संख्या ८५ बाट उकालो लागिसक्यो। दर्ता भएका मध्ये ५० वटा उद्योगले सिमेन्ट उत्पादन थालिसके।

Tata
GBIME
Nepal Life

उनीहरुले उत्पादन गर्ने सिमेन्टको ब्राण्ड सय भन्दा बढी छ। अहिले सिमेन्ट उत्पादन गरिरहेका मध्ये एक दर्जन जति सिमेन्ट उद्योगले आफै क्लिङ्कर(चुनढुंगा) पनि उत्पादन गर्छन् । क्लिङ्कर सिमेन्ट उत्पादनमा प्रयोग हुने प्रमुख कच्चा पदार्थ हो ।अहिले सिमेन्ट उद्योगको लागि बार्षिक ४५ लाख टनको हाराहारीमा क्लिङ्करको माग छ । क्लिङ्कर उत्पादन गर्ने उद्योगको क्षमता बजार माग भन्दा बढी नै छ ।

अहिले अर्घाखाँची सिमेन्टले ७ लाख टन बढी क्लिङ्कर उत्पादन गर्ने गरी क्षमता बढाएको छ। वैदेशिक लगानीमा स्थापना भएको नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले पनि क्लिङ्कर उत्पादन गरिरहेको छ । त्यसैगरी, केही समयमै रिद्धिसिद्धि, सौर्य, शुभश्री, सिजी, सर्वोत्तम जस्ता सिमेन्ट उद्योगले पनि क्लिङ्करको उत्पादन सुरु गर्दैछन्।

तर, पनि हरेक वर्ष क्लिङ्करको आयात बढेको बढेकै छ । बजार माग धान्ने उत्पादन क्षमता स्वदेशी उद्योगकै हुँदा पनि निरन्तर आयात बढिरहनुको तथ्य रोचक छ ।भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा २४ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको थियो । गत आर्थिक बर्षमा क्लिङ्कर आयात बढेर ३० अर्ब ९६ करोड १९ लाख रुपैयाँ पुग्यो ।

केही वर्ष यता सिमेन्टको बार्षिक माग ६० लाख मेट्रिक टन भन्दा बढी छ । भूकम्प पछिको पुननिर्माण, राष्ट्रिय महत्वका आयोजना र अन्य भौतिक पूर्वाधारको निर्माण गतिविधिका कारण सिमेन्टको माग बढिरहेको छ। सिमेन्टको माग बढेसँगै यसको कच्चा पदार्थ क्लिङ्करको माग पनि स्वतः बढ्छ । तर, यो मागको पूर्ति भने स्वदेशी उत्पादनबाट हुन सकेको छैन ।

अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपाने  क्लिङ्कर उत्पादन गर्ने उद्योग आफैले पनि सिमेन्ट उत्पादन गर्ने भएकाले आफ्ना लागि मात्रैं क्लिंकर उत्पादन गर्ने बताउँछन्। उनका अनुसार ती उद्योगले अन्य सिमेन्ट उद्योगलाई क्लिङ्कर बेच्न सकेका छैनन् । ‘केही वर्ष यता सिमेन्टको माग बढेको छ । भएका सिमेन्ट उद्योग मध्ये एक दर्जन जतिले मात्रै क्लिङ्कर उत्पादन गरिरहेका छन् । जसले क्लिङ्कर बनाउँछ उसैले सिमेन्ट पनि उत्पादन गर्ने हुँदा अरुलाई क्लिङ्कर दिन सक्दैनन् । कतिपयले त पूर्ण क्षमतामा क्लिङ्कर उत्पादन गरेका पनि छैनन् । त्यसैले आयात बढिरहेको हो’, न्यौपानेले भने ।

गत आर्थिक वर्षमा भुटान र चीनबाट समेत क्लिङ्कर आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । भुटानबाट एक करोड पाँच लाख रुपैयाँको १३ लाख ३२ हजार किलो क्लिङ्कर नेपाल भित्रिएको थियो । त्यसैगरी, चीनबाट ३ लाख ५ हजार मूल्यको पाँच हजार केजी क्लिङ्कर आयत भएको थियो। ३० अर्ब रुपैयाँ बराबरको ३३ लाख टन क्लिङ्कर भारतबाट आयात भएको तथ्याङ्क छ ।

कसमस सिमेन्ट इन्डष्ट्रिजका निर्देशक प्रवलजंग पाण्डे भने स्वदेशी कम्पनीले उत्पादन गरेको क्लिङकर किनेर सिमेन्ट उत्पादन गर्दा अरु कम्पनीले बजारमा प्रतिस्पर्धा नै गर्न नसक्ने बताउँछन् । ‘नेपालमा क्लिङ्करको उत्पादन लागत नै बढी छ । कोइला र अन्य रासायनिक पदार्थ ल्याउन नै झण्झट छ । यसले क्लिङ्करको उत्पादन लागत बढाइरहेको छ’, पाण्डेले भने ।

क्लिङ्कर उत्पादनका लागि चुनढुङ्गासँगै १६ देखि १८ प्रतिशत कोइला मिसाउनुपर्छ । क्लिङ्कर उत्पादन गर्ने उद्योगको लागि मात्रै वार्षिक १० लाख टन कोइला आयात हुने गरेको छ । नेपालमा दक्षिण अफ्रिकाबाट कोइला आयात हुन्छ जुन नेपालसम्म ल्याउँदा व्यवसायीले निकै झण्झट बेहोर्ने गरेका छन् ।

‘महङ्गो क्लिङ्कर किनेर सिमेन्ट बनाउँदा क्लिङ्कर र सिमेन्ट दुवै उत्पादन गर्ने कम्पनीको भन्दा महङ्गो मूल्यमा सिमेन्ट बेच्नुपर्ने हुनाले धेरैजसोले विदेशबाटै क्लिङ्कर आयात गर्न रुचाउँछन्’, पाण्डेले भने ।नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष एवं अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारका भने आगामी वर्ष देखि नै क्लिङ्करको आयात घट्ने बताउँछन् ।

‘स्वेदशमै प्रशस्त क्लिङ्कर उत्पादन हुन थालेको छ । सिमेन्ट उत्पादनमा जस्तै क्लिङ्करमा पनि नेपाल आत्मनिर्भर हुने अवस्थामा छ’, मुरारकाले भने, ‘केही उद्योगीहरुले पहिल्यै क्लिङ्कर बुकिङका लागि पैसा पठाइसकेको कारण आयात बढेको देखिएको हो । अब क्लिङ्करको आयात एकै पटक घट्छ ।’केही समयमा नै आधा दर्जन भन्दा बढी सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन गर्ने हुँदा आयात घट्नेमा अम्बे ग्रुपका न्यौपाने पनि सहमत छन् । दुई चार वर्षमा क्लिङ्करको आयात नगन्य मात्रामा पुग्ने उनले बताए ।