दसैं लागेपछि नेपाली बजारमा ‘सुख्खा’ पर्यो, भारतीय बजार ‘गुलजार’, पहाडी क्षेत्रबाट पनि रक्सौल

बिजमाण्डू
२०७५ असोज २६ गते १२:०२ | Oct 12, 2018
दसैं लागेपछि नेपाली बजारमा ‘सुख्खा’ पर्यो, भारतीय बजार ‘गुलजार’, पहाडी क्षेत्रबाट पनि रक्सौल

वीरगंज। दसैंको मुखमा भारतीय बजार गुलजार हुँदा नेपाली बजार भने सुस्त देखिएको छ। वीरगंजका ग्राहक स्थानीय बजार छाडेर रक्सौल बजारमा जाँदा त्यहाँ खुट्टा टेक्ने ठाउँ छैन। विहान १० बजेपछि नै रक्सौलमा भिडभाड देखिएको छ। 

Tata
GBIME
Nepal Life

नेपाली बजारभन्दा १५ प्रतिशतमाथि सस्तोमा कपडा, दैनिक उपभोग्यका खद्या सामग्री पाइने भएकाले चर्को घाम, धुलो, ट्राफिक जाम तथा भारु सटहीको समस्या खेपेर पनि दिनहुँ हजारौको सख्यामा नेपाली ग्राहक भारतीय सीमावर्ती बजार पूग्ने गरेको यहाँका व्यवसायीहरु बताउँछन्।

वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल केडियाले भने, ‘यसपालीको दशैंमा वीरगंजमा अकाल परेको जस्तो छ, रक्सौलमा केही मल खुलेका छन्, जसले छुट पनि दिन थालेका छन्, त्यसले गर्दा पोहोरभन्दा यसवर्ष नेपालीहरु रक्सौल जाने क्रम ह्वातै बढेको महसुस गरेका छौ।’

उनका अनुसार, रक्सौलमा ‘बिग बजार, एम बजार, कोलकत्ता बजार’ गरी तीन वटा ठूला मल सञ्चालनमा आएका छन्। एउटा सामान खरिद गर्दा अर्को फ्रि वा केही पसलमा ३०/४० प्रतिशतसम्म छुट दिइएको छ। नेपाली व्यवसायीले भारत, चीन तथा तेस्रो मुलुकबाट ल्याएको समानमा भन्सार महसुल, ढुवानी खर्च र नाफा जोड्दा रक्सौलभन्दा १५ प्रतिशत महँगोमा बेच्नु पर्छ। त्यसैले नेपाली बजारमा सामान महँगो र सीमावर्ती बजार सस्तो भएर नेपालीको लाइन त्यता लागेको हो।

‘चिनी नेपालमा ७० रुपैयामा पाउँछ, रक्सौलमा ४० भारु अर्थात नेपाली ६४ रुपैयाँमा पाइन्छ। जोकोही रक्सौल जाँदा ४/५ किलो चिनी मज्जाले बाइकमा लिएर आउछ, रेडीमेड कपडाको व्यवसायमा वीरगंज डुबिसक्यो, अवस्था खराब छ,’ वीरगंजमा कपडा व्यवसाय गरिरहेका केडियाले भने, ‘आजको अवस्थामा भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सकेका छैनौं।’ 

उनले वीरगंजजस्तै विराटनगरको जोगबनी, गौरको वैरगिनीया, भैरहवाको सुनौली, नेपालगंजको रुपेडिया, काकडभिट्टाको पानीटंकी लगायत नाकामा चाडपर्वको बेला नेपालीहरुको यस्तै भीड लागेको जानकारी दिए।

भारतीय बजारका व्यवसायी खुशी
रक्सौलस्थित कपडा पसल अमरदिपका सञ्चालक विमलकुमार रुगंटाका अनुसार गत वर्षको दशैंको भन्दा यसपाली २० प्रतिशतले कारोबार बढेको छ। रक्सौल चेम्बर अफ कमर्शका महासचिव समेत रहेका रुगंटाले पोहोरभन्दा यसपाली नेपालीको भिड अझ बढेको बताए।

साउन तेस्रो सातादेखि नै नेपालीहरुको अगमनमा वृद्धि भएको बताउँदै उनले भने, ‘कारोबार बढेको छ, मधेसी, पहाडी सबै समुदायको ग्राहक आउँछन्, अब त हेटौडा, नारायणघाट, काठमाडौबाट पनि मोटरसाइकलमा बजार आइरहेका छन्।’

रक्सौलबाट ५ हजारको समान काठमाडौंमा लगेर केही व्यवसायीले १५ हजारमा बेच्छन्, त्यही सुनेर पनि कतिपय नेपाली पहाडी भेगबाट पनि आइरहेको उनले बताए। सस्तोमा राम्रो समान पाउनाले नेपालीहरुको रक्सौल किनमेल डेस्टिनेशन प्वाइन्ट बन्दै गएको उनले सुनाए।

रक्सौलमा जाने ग्राहकमध्ये ८० प्रतिशत नेपाली ग्राहक नै भेटिन्छन्। रक्सौलमा ९० वटा कपडा तथा फैन्सी पसल, १३२ वटा खद्यान्न समानको पसल तथा १६३ वटा ईलेक्ट्रोनिक्स आइटमको पसल सञ्चालमा छ। रक्सौलको वस्त्रलोक, दुलहन साडी, जय नेपाल, अर्चनाश्री, प्रिति, शिवहरि, हरिलक्ष्मी, श्रीमानश्रीमति, सियाराम लगायत पसलमा कपडा किन्नेको भीड लाग्ने गरेको छ।

रक्सौलका व्यवसायीका अनुसार रक्सौल वीरगंज नाकाको रेल्वे ट्रयाक माथि ओभर ब्रिज निर्माण भएपछि थप नेपाली ग्राहको लागि सहज हुने बताउँछन्।