सरकारको नियत नभए किन चाहियो व्यक्ति पिच्छे संस्था? नेता बन्ने रहरले निजी क्षेत्र कमजोर

बिजमाण्डू
२०७५ असोज २६ गते १४:३६ | Oct 12, 2018
सरकारको नियत नभए किन चाहियो व्यक्ति पिच्छे संस्था? नेता बन्ने रहरले निजी क्षेत्र कमजोर


निजी क्षेत्रसँग नजिकमा रहेर काम गरेको झण्डै दुई दशक हुन लागेछ । प्रत्यक्ष कुनै उद्योग व्यवसायमा लगानी नभएपनि जीवनका महत्वपूर्ण र उर्जावान समय यीनै उद्योग व्यवसायसँग आवद्ध उद्यमी व्यवसायीहरूको सेवामा काम गर्न निरन्तर लागिरहे र हालसम्म पनि तीनै उद्यमी व्यवसायीहरूको सेवामानै समर्पित छु ।

Tata
GBIME
Nepal Life

यो समय आज मैले जति मेहनत गरेर जति निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरीरहेको छु त्यतिनै निष्ठापूर्वक सायद मैले उद्यम गरेको भए म पनि कुनै ठूलै व्यवसायिक औद्योगिक घराना कहलाउन सक्थे कि ? म पनि निजी क्षेत्रको नेता हुन सक्थे कि ? खैर त्यो गरिएन त्यसमा पछुतो लिएर हुनेवाला पनि केही छैन । तर फेरी सम्हालिने कोसिस गर्छु, के गर्नु ?

अहिले मुलुकभित्र उद्योग व्यवसायको वातावरण हेर्दा रुन मन लाग्छ । देशभित्र उद्योग व्यवसायको वातावरण छैन, भएका उद्योगी व्यवसायीहरू पनि धमाधम उद्योग बन्द गरेर देशको परिस्थिति अनुसार व्यापारतिर लागेर जेनतेन चलिरहेका छन् । कोही, न व्यापार छ, न उद्योग छ, केवल दौडिएका छन्, नेता कहलिएका छन् । फेरी कोही सरकारको बक्रदृष्टिबाट बच्दै धिमागतिमा उद्योग व्यवसाय चलाएर जेनतेन जिजिविसा धानीरहेका छन् ।

केही दिन अघि अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुले हाम्रो देशको आर्थिक वृद्धिको प्रक्षेपण गरे। चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर करिव साढे पाँच प्रतिशत रहने प्रक्षेपण गरे। लगत्तै अर्को अन्तर्राष्ट्रिय वित्तिय संस्थाले पनि आर्थिक वृद्धिको प्रक्षेपण ५.९ प्रतिशत गर्यो । अन्तर्राष्ट्रिय वित्तिय संस्थाको समेत संस्था पिच्छेनै आर्थिक वृद्धिदरको प्रक्षेपण फरक छ। कसलाई आधिकारिक मान्ने ? अन्तर्राष्ट्रिय संस्थाको मात्रै होइन सरकारकै समेत तौरतरिका त्यस्तै देखिन्छ। फुटाउ र राज गर भने जस्तै जति बढी प्रक्षेपण गर्ने सँस्था भए त्यतिनै सरकारलाई पनि सजिलो हुने हो कि ? भोलि आफ्नो प्रक्षेपण सही भएन भने त्यस्तै संस्थाको आडमा रहेर संशोधित प्रक्षेपण गर्न पाइने भएर सरकारलार्इ पनि हाइसञ्चोनै भएको छ।

अहिले उद्योग व्यवसाय क्षेत्रको नेतृत्व गर्ने भनेर थुप्रै संस्था जुरमुराएर आएका छन् । सबैले आफूलाई नेतृत्वदायी संस्था भनेर दावी पनि गरिरहेका छन्। सबै नेता बन्न आतुर छन्। सबै आ–आफ्नो डम्फु बजाउन व्यस्तनै । सरकार पनि कुनै एउटालार्इ निजी क्षेत्रको नेतृत्वदायी संस्था भन्न सक्दैन र चाहँदैन । पछिल्ला केही घट्नाले सरकारको रवैया त्यस्तै देखिन्छ। निजी क्षेत्रका व्यवसायिक संस्थालार्इ कार्यक्षेत्र फुकुवा गरेर अस्वस्थ प्रतिस्पर्धाका लागि बाटो खोलिदिएको छ। यो खोल्नुको पछाडी सरकारको आफ्नै स्वार्थ छ।

निजी क्षेत्र भनेको स्थायी प्रतिपक्षी पनि हो। सरकारका राम्रा विषयमा समर्थन र नराम्रा विषयमा निजी क्षेत्रको संगठन विपक्षमा उत्रिन्छ। निजी क्षेत्रको संस्था कमजोर हुनेवित्तिकै सरकारको विरोध कम हुन्छ। अहिले सरकारको चाहना कमजोर बनाउनेतर्फ लागेको देखिन्छ। सरकारको यो नियत नभए किन चाहियो व्यक्ति पिच्छे संस्था ।

उद्योग व्यवसाय क्षेत्रका जति बढी नेतृत्वदायी संस्था भएपनि केही भएको छैन र हुनेवाला पनि छैन। नेता बन्नका लागि मात्रै संस्था चाहिएको छ।संस्था धेरै भएर उद्यमी, व्यवसायीका समस्या समाधान भएका छैनन्। दर्जनौ समस्याहरुबाट उद्यमी व्यवसायीहरु ग्रसित छन् । फगत प्रधानमन्त्री, मन्त्रीसम्म पहुँच बनाएर आफ्नो स्वार्थ पूरा गर्न मात्रै तल्लिन देखिन्छन । व्यवसायिक मुद्दा भन्दा व्यक्तिगत मुद्दा लिएर सरकारका उच्च तहसम्म पुग्ने भएकै कारण सरकारले समेत संस्थागत मुद्दा संबोधन गर्दैन। र, संस्थाप्रति हेर्ने सरकारी दृष्टिकोणनै  नकारात्मक बन्ने हो कि भन्ने चिन्ता व्याप्त छ ।

अहिले केही व्यवसायिक संस्थाको हालत त्यस्तै छ। संस्था विस्तार भइरहेको छ । खादा र मालाले पुरिएका ती नेतृत्वको स्वार्थलार्इ साना उद्यम गर्नेले बुझ्न सकेका छैनन्। यस्तो अवस्थामा कसरी निजी क्षेत्रका समस्या समाधान हुनु ? जसलाई पनि नेता बन्नु परेपछि उद्यमी व्यवसायीका समस्या समाधानमा नेतृत्व लिने भन्दा पनि संघ संस्थाको नेतृत्व लिनेमा राजनीति भएपछि अनि कसरी उद्योग व्यवसाय तङग्रिन सक्छन् ?

आफ्नालाई भन्दा अरूलाई आफ्न्त ठान्ने संस्कार व्याप्त छ । आफ्नैलाई शत्रुको रूपमा देख्न थालेपछि निजी क्षेत्र बलियो हुने कल्पना पनि गर्न सकिदैन। कसरी उद्यमी व्यवसायीको आवाजहरू बुलन्द हुन्छन् ? निजी क्षेत्रका समस्या कसरी संवोधन हुन्छन् ? उद्यमी व्यवसायीले खोजे जस्तो औद्योगिक व्यवसायिक वातावरण कसरी बन्छ ? अहिलेको अवस्थामा निजी क्षेत्र एकजुट हुनुपर्ने होइन ? निजी क्षेत्रको न कुनै वाद छ, नकुनै पोलिटिकल फिलोशोपी, वाद छ त भने केवल उन्नति, प्रगति र समृद्धिको ।

दशमुख, दश अवतार र दश बिचार भएपछि निजी क्षेत्र कमजोर हुँदैन ? एक विचार, एक आवाज र एकता भएको भए सायद देश यो हदसम्म सफर गर्न पर्दैनथ्यो कि ? अन्त्यमा, निजी क्षेत्रको एकता र दरिलो आवाजका कारण २०४५ सालतिर निजी क्षेत्रले लिएको उचाईको यथार्थ घटनालाई राख्दै यसलाई टुंग्याउने जमर्को गर्दछु । नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष महेशलाल प्रधानले महासंघले आफ्नो स्वर्ण वर्षका अवसरमा प्रकाशित स्वर्ण स्मारिकामा आफ्नो स्मरणमा लेख्नु भएको छ ।

“२०४५ साल चैत्र १० गते भारतले नेपालमा नाकाबन्दी गर्यो । मुलुकमा अत्यावश्यक वस्तुको अभाव भयो । राजा वीरेन्द्रबाट हरिहर भवनस्थित आपूर्ति विभागको कार्यालयमा सम्बन्धित सबै पक्षको बैठकको आव्हान गरियो । मुलुकमा आपूर्ति व्यवस्था के कस्तो भइरहेको छ भनेर बुझन् राजाले डाकेको त्यो भेलामा महासंघको अध्यक्षका नाताले मलाई पनि आमन्त्रण गरिएको थियो ।  राजा समक्ष कुरा राख्ने प्रायःले ‘सरकार हामी सबै आपूर्ति व्यवस्था मिलाउँछौं’ भनेर झुठो व्रिफिङ गरिरहेका थिए । मलाई त्यो उचित लागेन अनि, कुनाबाटै हात उठाएर भनें, ‘सरकार मैले पनि बोल्न पाउनुपर्यो, यहाँ साथीहरुले झुठ बोलिरहनुभएको छ ।’ मैले त्यसो भनेपछि बैठकको माहोलनै चेन्ज भयो । तात्कालिन अधिराजकुमार ज्ञानेन्द्रले मलाई नजिकै आएर बस्न र आफ्नो कुरा राख्न इशारा गर्नुभयो । 

‘ल भन’, राजाबाट हुकुम भयो । ‘सरकार, यहाँ जे कुरा राखिदैछ त्यो सबै झुठो हो है । कमसे कम सरकारको अगाडि त झुठ बोल्न भएन नि । पचहत्तरै जिल्लामा उद्योग वाणिज्य संघहरू छन्, म सबै साथीहरूको सम्पर्कमा छु, आपूर्ति भइरहेको छैन सरकार । मलाई दश मिनट टाइम बक्सियोस्, म सरकारलाई आँखै अगाडि देखाइदिन्छु कहाँ सप्लाई भएको छ, कहाँ भएको छैन भनेर’, मैले भनें । मेरो कुरा सुनेपछि राजाबाट हुकुम भयो, अबदेखि सरकारको सबै निकायमा उद्योग वाणिज्य महासंघको प्रतिनिधि पनि राख्नु र सल्लाह लिनु ।( लेखकका माथिका बिचार नितान्त निजी बिचार हुन्)