नागढुंगा-मुग्लिन सडक चार लेनको बन्ने, सर्भे र डिजाइन सकियो, त्रिशुली पारि पनि दुर्इ लेनको सडक

बिजमाण्डू
२०७५ असोज २७ गते १०:०३ | Oct 13, 2018
नागढुंगा-मुग्लिन सडक चार लेनको बन्ने, सर्भे र डिजाइन सकियो, त्रिशुली पारि पनि दुर्इ लेनको सडक


नारायणगढ- मुग्लिन सडक।तस्विर- नारायणगढ मुग्लिन सडक आयोजनाको फेसबुकबाट

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौंको नागढुंगा-नौविसे-मुग्लिन सडक चार लेनमा विस्तार हुने भएको छ।

सडक विस्तारका लागि सर्भे र डिजाइन सकेर सडक  विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले विश्व बैकसँग लगानीका प्रस्ताव पेश गरेको छ।महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार विश्व बैकसँग लगानीका लागि अहिले छलफल अघि बढेको छ।उनका अनुसार करिव ९६ किलोमिटर लामो यो सडक विस्तारका लागि करिव २० अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

नारायणगढ-मुग्लिन सडक विस्तारसँगै यो खण्डको डिजाइन र सर्भे तयार पारिएको हो।विश्व बैककै सहयोगमा नारायणगढ मुग्लिन सडक विस्तार भएको छ।वैकले यो  सडक खण्डको विस्तारका लागि पनि चासो देखाएपछि डिजाइनको काम अघि बढेको हो। महाशाखा प्रमुख श्रेष्ठका अनुसार अन्तिम चरणमा छलफल भइरहेकोले ढिलोमा दुर्इ महिनाभित्र ऋण सम्झौंता भइसक्ने छ।ऋण सम्झौता भएपछि टेण्डर आव्हान हुनेछ।टेण्डर निकालेफो ६ महिनामा निर्माणको काम सुरु हुनेछ। तीन वर्षमा सडक विस्तारको काम सक्ने लक्ष्य लिइएको छ।

हाल यो सडकको अधिकांश ठाउँ दुर्इ लेनको छ भने केही स्थानहरु दुर्इलेनको सडक पनि छैन्।महाशाखाका इन्जिनियर छविलाल पौडेलका अनुसार हालको सडकलार्इ मिल्ने ठाउँमा चार लेन र नमिल्ने ठाउँमा दुर्इ लेनमा स्तरोन्नति गरेर विकल्पका रुपमा खोलापारि दुर्इ लेनको सडक बनाइनेछ। करिव २५ किलोमिटर विद्यमान सडकमा चार लेन बनाउन नसकिने भएकाले त्रिशुली पारि दुर्इ लेन निर्माण हुनेछ।

सिस्नेखोला नजिकैबाट दुर्इ लेनको सडक धार्केसम्म करिव ११ किलोमिटर र विशालटारदेखि फिस्लिङ करिव १५ किमी बाटो अहिलेकै बाटोको पारिपट्टी निर्माण हुनेछ।त्यस्तै वैकल्पिक मार्गका जानका लागि खोलामा चारवटा पुल समेत निर्माण गरिनेछ।अहिले नागढुंगा-नौविसे सडकखण्ड अन्तर्गत बस्नेतछापदेखि सिस्नेखोलासम्म २.७ किलोमिटरसुरुङमार्ग निर्माण हुन लागेको छ।

सुरुङमार्गको पश्चिमद्धार सिस्नेखोलामा आएर यो सडक जोडिने छ। नारायणगढदेखि मुग्लिन सडक विस्तार भैसकेको छ।यता नागढुंगा देखि कंलकीसम्म उपत्यका सडक विस्तार आयोजना अन्तर्गत विस्तार धमाधम भैरहेको छ। चार लेनको सडकमा ३.५ मिटर बराबरको एउटा लेन रहनेछ।बजार र बस्तीहरु रहेका क्षेत्रमा भने फुटपाथ र साइड लेनहरुसमेत निर्माण हुनेछन्।बजार क्षेत्रका केहि स्थानमा ओभरहेड व्रिज समेत निर्माण गर्न लागिएको महाशाखाले जनाएको छ।

बाटो साँघुरो र बाटो निर्माण भैरहेका कारण राजधानीको लार्इफलाइन मानिने यो सडकमा घण्टौसम्म जाम हुने गरेको छ।मालवाहक सवारीसाधन र उपत्यका बाहिर जानका लागि प्रयोग हुने मुख्य सडक भएका कारण अहिले जामको ठूलो समस्या हुने गरेको छ।दैनिक रुपमा ८ हजार सवारीसाधन यो सडकबाट आवतजावत गर्छन्।सडक विस्तार भएर जाम हट्ने अपेक्षा सडक विभागको छ।