कलङ्की-नागढुङ्गा कालोपत्रे धमाधम, बिस्तार नभएका ठाउँमा जति बाटो त्यति मात्रै कालोपत्र

बिजमाण्डू
२०७५ असोज २८ गते १६:२३ | Oct 14, 2018
कलङ्की-नागढुङ्गा कालोपत्रे धमाधम, बिस्तार नभएका ठाउँमा जति बाटो त्यति मात्रै कालोपत्र

काठमाडौं। सडक विस्तारका लागि विभिन्न ठाउँको विवाद मिलाउन खोज्दा अलपत्र परेको कलङ्की-नागढुङ्गा सडक नयाँ उपायबाट निर्माण अगाडि बढाइने भएको छ।

Tata
GBIME
Nepal Life

तीन बर्षमा आधा काम पनि नभएपछि बिस्तार गर्न उपलब्ध ठाउँमा कालोपत्रे गरिने भएको छ। यहि बर्षभित्र कालोपत्रे सक्ने गरी काम भइरहेको उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्व विजयलाल श्रेष्ठले जानकारी दिए। 

सडक विस्तारका नाममा लामो समयसम्म स्थानीयले धुवाँधुलो तथा घण्टौसम्म जाम खेप्नु परेको भन्दै आयोजनाले यथास्थितिमा कालोपत्रे गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत मन्त्रीपरिषदमा पेश गरेको थियो। मन्त्रीपरिषदबाट स्विकृत भएर आएपछि सडक निर्माणको काम अघि बढार्इएको आयोजनाले जनाएको छ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायत युटिलिटिजहरुका अधिकांश पोलहरु समन्वय भएर हटेपछि काम गर्न केहि सहज भएको आयोजना सिडिर्इ श्रेष्ठले जानकारी दिए। तर पुरै समस्या भने हटेको छैन। 

सडक विस्तारको विरोधमा स्थानीयले गत बर्ष सर्वोच्चमा मुद्धा दायर गरेका थिए। सर्वोच्च अदालतले घर जग्गा दुवैको मुआब्जा दिएर सडक  विस्तार अघि बढाउन फैसला गरेको थियो। फैसलापछि स्थानीयले घर जग्गा दुवैको मुआब्जा पाउने भन्दै विस्तार भएका ठाउँमा समेत अवरोध गर्न थालेका छन्। सडकको सीमा छुट्याएर वालहरु उठाएका ठाउँमा समेत स्थानीयले मुआब्जा पाउने भन्दै काम गर्न दिएका छैनन्।

आयोजनाका अनुसार यथास्थितिमा कालोपत्रे गर्ने भनिए पनि सडक विस्तार भने रोकिने छैन। तत्कालका लागि सडक सुधार  गर्न यथास्थितिमा काम अघि बढार्इएको हो। विस्तारै कालोपत्रे सँगसँगै सडक विस्तार पनि अघि बढ्ने छ। 

४ लेनमा २ मिटरमा हालको सडकलार्इ विस्तार गर्न लागिएको हो तर अहिले केहि स्थानमा मात्रै विस्तार भइरहेको छ। बिस्तार नभएको ठाउँमा जति सडक छ त्यतिमै कालोपत्रे गरिने छ। विस्तार भएका ठाउँहरुमा भने डिजाइन अनुसार नै २२  मिटरमा कालोपत्रे काम हुनेछ।

श्रेष्ठका अनुसार करिव ५० प्रतिशतभन्दा बढी काम सकिएको छ। यसै बर्षभित्र जसरी पनि कालोपत्रे भैसक्ने छ। 

आयोजनाले समयमै सक्ने भन्दै करिव  १२ किलोमिटर लामो सडकलार्इ ४ वटा प्याकेजमा ठेक्का लगाएको थियो। जसमा अन्तिम प्याकजेको करिव ७० प्रतिशत र बाँकी प्याकेजको लगभग ५० प्रतिशतको हाराहारीमा काम सकिएको आयोजनाले जनाएको छ।

विभिन्न खण्डमा गरि करिव ३ किमी सडक कालोपत्रे गर्नका लागि पेभमेन्ट स्तरको बनिसकेको छ। त्यस्तै अन्य भागको पनि आधा जस्तो काम सकिएको छ। दशै तिहार लगत्तै काम तिव्र रुपमा अघि बढाउने योजना रहेको श्रेष्ठले जानकारी दिए।