दशैं बिदामा काठमाडौंमा खुलै रहने रेष्टुरेण्ट यस्ता छन्, नेपाली रैथाने खानादेखि युरोएशियन मेनु

बिजमाण्डू
२०७५ असोज ३० गते ११:०० | Oct 16, 2018


 काठमाडौं। दशैंमा राजधानी शहर काठमाडौं सुनसान जस्तै बन्छ। शहरका प्रायजसो सबै पसल र रेष्टुरेन्ट बन्द हुन्छन्। तर काठमाडौंका केही रेष्टुरेन्टहरु भने दशैंका समयमा पनि खुलै रहने भएका छन्।

Tata
GBIME
Nepal Life

दरबारमार्ग स्थित हट ब्रेड्स अघिपछि झैँ बिहान नौ बजेदेखि राती नौ बजेसम्म खुल्ला रहने प्रवन्धक शुभरत्न उदासले जानकारी दिएका छन्।

हाल कर्मचारी परिचालन र सामान स्टक व्यवस्थापनकालागि छलफल भइरहेको प्रवन्धक उदासले बताए।

'वर्षमा एकपटक आउने चाड हो। कर्मचारीहरुलाई विदामा बस्ने, घर पठाउने, सामान स्टकमा राख्ने र रेष्टुरेण्ट संचालनका लागि कर्मचारी परिचालन गर्ने विषयमा छलफल गरिरहेका छौँ। ग्राहकलाई अघिपछि जस्तै निरन्तर सेवा दिनका लागि दशैंमा पनि  हटब्रेड्स संचालनमा ल्याउनेछौँ।'- उनले भने।

उदासका अनुसार सामान्यतया विहान  खोलिने रेष्टुरेण्टमा बेकरी आइटम र फास्टफूड  सजिलै उपलब्ध हुनेछ।

ठमेलस्थित नर्थफिल्ड क्याफेले दशैंतिहार बिदा अवधिमा पनि अघिपछि झैँ सेवा दिने बताएको छ। विहान सात  बजेदखि राती ११ बजेसम्म संचालित क्याफेमा ग्राहकले क्याफे आइटम देखि आलाकार्ट मेनु सम्मको मेनुको सुविधा लिन सक्ने क्याफेले बताएको छ।

चाडबाडमा अघिपछि जत्तिकै ग्राहकको चाप नभएतापनि विदेशी तथा आन्तरिक ग्राहकलाई सेवा दिनकालागि क्याफे संचालन गर्दै आएको क्याफेले बताएको छ।

ठमेलस्थित गाया रेष्टुरेण्ट एण्ड कफी सप टीकाका दिन आंशिक रुपमा संचालन गर्ने र बाँकी दिन सधैं जसो विहान सात बजेदेखि राती १० बजेसम्म संचालन गर्ने भएको छ।

टीकाको दिन विहान सात बजेदेखि साँझ चारबजे सम्म बन्द गरी पुनः पाँच बजेदेखि १० बजेसम्म रेष्टुरेण्ट संचालन गर्ने योजना रहेको रेष्टुरेण्टका प्रवन्धक हरिबोल सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार रेष्टुरेण्टमा ग्राहकले कन्टिनेन्टल र नेपाल रैथाने परिकार आलाकार्ट  मेनु अन्तर्गतको सुविधा लिन सक्नेछन्।    

नेपाली रैथाने परिकारको पारखीका लागि डिल्लीबजार स्थित भोजन गृह दशैं विदा अवधिभर संचालनमा रहनेछ। तीन सय ६५ दिनै संचालन हुँदै आएको रेष्टुरेण्टमा विहान १० बजेदेखि राती १० बजेसम्म आन्तरिक र बाह्य(पर्यटक) तथा ग्राहकले सपरिवार आलाकार्ट मेनु अन्तर्गत भोजन गर्न सक्ने रेष्टुरेण्टका लेखा प्रमुख सुनील कार्कीले जानकारी दिए।

ठमेल स्थित जात्रा क्याफे एण्ड बार पनि दशैंको विदा अवधिभर खुला रहने रेष्टुरेण्ट प्रवन्धक राम डंगोलले जानकारी दिए। विहान नौ बजेदेखि  राती १० बजेसम्म संचालन हुँदै आएको रेष्टुरेण्ट टीकाको दिन बेलुका चारबजेदेखि १० बजेसम्म संचालन हुने डंगोलले जानकारी दिए।

डंगोलका अनुसार ग्राहकले रेष्टुरेण्टमा नेवारी रैथाने परिकारसँगै चाइनिज, इण्डीयन लगायत विभिन्न मुलुकको परिकारको स्वाद आलाकार्ट मेनु अन्तर्गत लिन सक्नेछन्।

सामान्यतयाभन्दा दशैं बिदामा ग्राहकको चाप बढी हुने बताउँदै उनले  भने,'यो समय प्राय रेष्टुरेण्ट बन्द भएको कारणले होला ग्राहकहरु अटाइ नअटाइ हुन्छन्। ग्राहकलाई यो समयमा सेवा दिनु नै हाम्रो मुख्य उद्देश्य हो।' – डंगोलले बिजमाण्डूसँग भने।