नेपाललाई माछामा आत्मनिर्भर बनाउदैं बारा,विदेशबाट १५ प्रतिशत आयात, चाँडै प्रतिस्थपान पनि हुने

बिजमाण्डू
२०७५ कात्तिक २ गते १३:०६ | Oct 19, 2018
नेपाललाई माछामा आत्मनिर्भर बनाउदैं बारा,विदेशबाट १५ प्रतिशत आयात, चाँडै प्रतिस्थपान पनि हुने

वीरगंज । नेपाललाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन बारा जिल्ला अग्रसर बन्दै गएको छ। गत वर्षको जिल्ला कृषि विकास कार्यालय बाराको तथ्यांक हेर्ने हो भने बारामा दुई अर्ब ६३ करोड ७५ लाख मुल्य बराबरको माछा उत्पादन भएको छ।

Tata
GBIME
Nepal Life

नेपालमा खपत हुने माछाको ८५ प्रतिशत नेपालमा र १५ प्रतिशत विदेशबाट आयात भइरहेको अवस्थामा बारा जिल्ला माछा उत्पादनमा आक्रामक रुपमा अघि बढेको देखिन्छ। बाराले नेपालमा खपत हुने माछाको यो ४५ प्रतिशत माछा उत्पादन गर्न थालेको छ। केही वर्षमा नेपालको कुल खपतको ६० प्रतिशत माछा बाराबाट उत्पादन हुने गरी माछा व्यवसायीले लगानी बढाएका छन्।

२०६९ साल अघि नेपालमा ७० प्रतिशत माछा भारतको आन्ध्रा, पश्चिम बंगालको कोलकत्ता र बंगलादेशबाट आयात हुन्थ्यो भने ३० प्रतिशत नेपालमा उत्पादन हुन्थ्यो। हाल भारत र बंगलादेशबाट गरी जम्मा १५ प्रतिशत मात्र माछा नेपाल भित्रिने गरेको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए।

नेपाल जिउँदो माछा व्यवसायी महासंघका केन्द्रिय अध्यक्षसमेत रहेका साहले हाल बारामा ३७ सय हेक्टर क्षेत्रफलमा छ हजार ६५ भन्दा बढि पोखरीमा माछा उत्पादन भैरहेकाे जानकारी दिए। उनले यसमा बाराका करिब ३७ सय कृषक प्रत्यक्ष रुपमा संलग्न भएको समेत बताए। बारामा लागु भएको प्रधानमन्त्री कृषि आधुनकिकरण परियोजना अन्तर्गतको माछा सुपरजोन र नेपाल समृद्ध कार्यक्रम समेत लागू भैरहेकाे बताए।

अन्यबालीबाट आठ गुणा बढि फाइदा हुने माछा पालनमा कम खर्च र कम जनशक्ति चाहिने हुँदा बाराका हजारौ किसानको ध्यान माछा पालनतर्फ केन्द्रित भएको उनले जानकारी दिए। 

बाराको माछा उत्पादन हुने पाकेट क्षेत्रको रुपमा कोल्भी,बोधवन,फेटा,पचरौता,सिम्रौनगढका करिब दर्जनौ किसान उदाहरणीय माछा व्यवसायीका रुपमा अघि बढेका छन् । कोल्भीका वीरेन्द्र चौधरी,माछा गाउँ बोधवनका विष्णुबहादुर थापाको परिवार,फेटा गाउँपालिकाका अध्यक्ष अमिरी साह,सिम्रौनगढका रामप्रवेश कुशवाहा,गगनदेव कुशवाहा,छोटेलाल चौहानलगायत किसान माछा पालनबाट नै बार्षिक लाखौं रुपैया आम्दानी गरिरहेको उनले बताए ।

नेपाल मत्स्य व्यवसायी बाराका अध्यक्ष साहले एक हेक्टर आफनो र एक हेक्टर लिजमा गरी दुई हेक्टरमा माछा पालेका छन । वर्षमा दुई हेक्टरको पोखरीबाट करिब १२ लाख रुपैयाँ नाफा हुने समेत बताए।