दशैंमा चोरले घर रित्याउन सक्छ, होम अटोमेशनमार्फत बनाउनुहोस् स्मार्ट होम, यसरी हुन्छ सुरक्षित

बिजमाण्डू
२०७५ कात्तिक २ गते १४:३९ | Oct 19, 2018
दशैंमा चोरले घर रित्याउन सक्छ, होम अटोमेशनमार्फत बनाउनुहोस् स्मार्ट होम, यसरी हुन्छ सुरक्षित



घरमा भएका सामग्रीलाई प्रविधिको सहयोगले निगरानी, नियन्त्रण र सञ्चालन गर्नु नै होम अटोमेशन हो । यस्तो प्रविधि जडित घरलाई 'स्मार्ट होम' भन्न थालिएको छ ।

Tata
GBIME
Nepal Life

समयसँगै भएको प्रविधिको विकासले हरेक कुरालाई सरल बनाइरहेको छ । अहिले यही विकसित प्रविधिको प्रयोगबाट स्मार्ट घर बनाउन 'होम अटोमेशन' को अवधारणा प्रचलनमा आएको छ । घरमा भएका सामग्रीलाई प्रविधिको सहयोगले निगरानी, नियन्त्रण र सञ्चालन गर्नु नै होम अटोमेशन हो । यस्तो प्रविधिजडित घरलाई ‘स्मार्ट होम’ भन्न थालिएको छ ।

प्रविधिकै सहयोगमा कसैले आफ्नो घरभन्दा निकै टाढा रहेर पनि घरभित्र रहेका सामग्रीको निगरानी र नियन्त्रण गर्न सक्छन् । अहिले कतिपयले आफूसँग भएको मोबाइलको सहायताले आफ्ना घरका सामग्रीको निगरानी र सञ्चालन गर्न थालेका छन् ।

घरमा भएका रेफ्रिजेरेटर, राइसकुकरजस्ता उपकरणको सञ्चालन, तापक्रमको नियन्त्रण तथा झ्याल–ढोका खोल्ने तथा बन्द गर्नेसम्मको कामसमेत घरबाहिरैबाट गर्न सकिन्छ । रेसिडेन्टियल तथा कमर्सियल दुवै प्रकारका घरमा अहिले यस्तो स्मार्ट प्रविधिको प्रयोग भइरहेको छ ।

काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्रमा होम अटोमेशनको प्रयोग बढ्दै गएको छ । तर, निजी आवासीय घरको होम अटोमेशन गर्ने सवालमा सीमित धनाढ्य तथा हाई प्रोफाइल व्यक्तिहरू मात्र भेटिन्छन् । होटल, अपार्टमेन्ट आदिमा भने कतिपय सेवा स्वचालित र सहज बनाउन अटोमेशन गर्ने यस्तो प्रविधिको प्रयोग व्यापक भइरहेको छ ।

होम अटोमेशन सेवाप्रदायक कम्पनी 'होम अटोमेशन नेपाल' का अनुसार आवासीय घरहरूमा अटोमेशन प्रणाली जडान गर्दा मुख्यतः फायर अलार्म, भिडियो डोर फोन, डिजिटल डोर लकजस्ता ग्याजेटहरू अहिले बढी प्रयोग भइरहेका छन् । यस्तै, स्मार्ट पावर सकेट, स्मार्ट क्यामेरा, युनिभर्सल रिमोट, बग्लर अलार्म सिस्टम, मोटरबाट अटोमेटिक रूपमा चल्ने पर्दा, सर्भिलेन्स सिस्टम, लाइटिङ, अटोमेटिक गेटको प्रयोग पनि क्रमशः बढिरहेको छ ।

होम अटोमेशनमा प्रयोग गरिने यस्ता विभिन्न उपकरणहरू नेपालमा फ्रान्स, अमेरिका, भारत र चीनबाट आयात हुने गरेका छ ।

के गर्छ होम अटोमेशनले

होम अटोमेशनले समयको बचत गराउँछ, घरलाई छरितो बनाउँछ । घरको बत्ती बाल्ने वा निभाउनेदेखि घरको कम्पाउण्ड सुरक्षित गर्नेसम्मको काम घरबाहिरैबाट गर्न सकिने भएकाले यी सामान्य कामका लागि समय खर्चेर बस्नु पर्दैन ।

धाराको पानी बन्द गर्न, कम्पाउण्ड वालको बत्ती निभाउन, रेफ्रिजेरेटर अन–अफ गर्न इत्यादिका लागि ती सामग्री भएकै ठाउँमा पुुग्नुपर्ने बाध्यता होम अटोमेशनले दूर गरिदिन्छ । घर पूर्णरूपमा प्रविधि नियन्त्रित र स्वचालित हुने हुँदा यसले समयको बचत गराउँछ । घरको तापक्रम नियन्त्रण गर्न पनि होम अटोमेशनले सहयोग गर्छ । बेडमा बसेर पूरै घरको तापक्रम वातानुकूलित बनाउन सकिन्छ ।

स्मार्ट होमको सबैभन्दा ठूलो फाइदा भनेको घरको सुरक्षा हो । प्रविधिको सहायताले चौबीसै घण्टा घर आफ्नो निगरानीमा राख्न सकिने हुँदा चोरीलगायतका चुनौती रहँदैनन् । अत्याधुनिक प्रविधिजडित ढोकाको प्रयोगले घरलाई अझ धेरै सुरक्षित बनाउँछ । होम अटोमेशनका कारण सम्पूर्ण घर नै एउटा बटनको भरका नियन्त्रण गर्न सकिन्छ ।

घरमा जडित विद्युतीय उपकरणहरू पनि स्मार्ट तरिकाले प्रयोग हुने हुँदा बिजुलीको खपत कम गराउन पनि सहयोग मिल्छ । सेड्युल बनाएर विद्युतीय उपकरणहरू चलाउँदा निश्चित समयपछि त्यस्ता उपकरणहरू आफैं बन्द हुन्छन् ।

कति लाग्छ खर्च

घरमा राखिने ग्याजेटहरूको संख्या तथा घरको अवस्थाले पनि अटोमेशन उपकरण जडानको लागतमा फरक पर्छ । बजारमा न्यूनतम एक लाख रुपैयाँदेखि करिब ४ लाख रुपैयाँका अटोमेसन प्याकेज उपलब्ध छ । एक लाख रुपैयाँको प्याकेजमा फायर अलार्म किट, स्मार्ट क्यामेरा, डिजिटल डोर लक, भिडियो डोर फोन, अकुपेन्सी सेन्सर तथा स्मार्ट प्लगजस्ता उपकरणहरू हुन्छन् ।

यस्तै, त्योभन्दा माथि तीन लाख रुपैयाँ हाराहारीको प्याकेजमा माथिका सहित लाइटिङ अटोमेशन, बग्लर अलार्म किट, वायरलेस स्मोक सेन्सर, वायरलेस ग्यास लिक सेन्सर इत्यादि हुन्छन् । यसमा थप मोटरबाट चल्ने अटोमेटिक इलेक्ट्रिक कर्टेन (झ्याल–ढोकाको पर्दा), युनिभर्सल रिमोटलगायतका प्रणाली जडान गर्दा खर्च चार लाख रुपैयाँको हाराहारीमा पर्ने होम अटोमेशन नेपालका बिजनेस डेभलपमेन्ट प्रमुख प्रशान्तराज मोक्तानले जानकारी दिए ।

– प्रोपर्टी मासिकबाट