चोभारको सुख्खा बन्दरगाहमा दशैँ लगत्तै कन्स्ट्रक्सन सुरु हुने, अलपत्र जग्गा यसरी उपयोग हुँदै

बिजमाण्डू
२०७५ कात्तिक ३ गते १२:३२ | Oct 20, 2018


काठमाडौं। चोभारमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको काम दशैँलगत्तै सुरु हुने भएको छ।

Tata
GBIME
Nepal Life

दशैँ लगत्तै कन्स्ट्रक्सनको काम सुरु गर्न लागिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर हरेराम मिश्रले जानकारी दिए।
उनका अनुसार कन्स्ट्रक्सन थाल्नु अघिको तयारीका कामहरु अहिले भैरहेका छन्।बन्दरगाह निर्माणको मुख्य काम भने सुरु भैसकेको समितिले जनाएको छ।

निर्माणको जिम्मा पाएको कम्पनीले ड्रइङ अनुसारको लेआउट फाइनलाइज गर्ने, बाटो बनाउने लगायतका कामहरु गरिरहेका छन्। विश्व बैंकको १ अर्व २८ करोड रुपैयाँ सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो।

आगामी १८ महिनामा सुक्खा बन्दरगाह तयार हुने समितिले जनाएको छ।समितिका इन्जिनियर मिश्रका अनुसार चोभारमा सुक्खा बन्दरगाह तयार भएपछि भारतको कलकत्ता, बिशाखापटनम लगायत र चीनको केरुङ हुँदै सामान लिएर आउने सवारीसाधनहरु सिधै चोभारमा आउनेछन्।

ती सवारीसाधन र सामानको चेकजाँच चोभारमै हुनेछ।सम्बन्धित नाकामा रहेका भन्सार कार्यालयहरुले लकिङ चेकजाँच गरेर मात्रै पठाउनेछन्।

सुख्खा बन्दरगाह निर्माणको जिम्मा चिनियाँ कम्पनी साक्षी र नेपाली कम्पनी आशिष जेभीले पाएका छन्।गत साउनमा निर्माणको जिम्मा पाएका यी कम्पनीहरु निर्माण थाल्नु अघिका तयारीहरु गरिरहेको समितिले जनाएको छ।

चोभारलार्इ ट्रान्जिट हब बनाउने तयारी

सरकारले बाहिरी चक्रपथ, फाष्ट ट्रयाकका साथै चीन र भारतबाट आउने रेल चोभारमा जोडेर ट्रान्जिट बनाउने योजना अघि सारेको छ।

चीन नेपाल जोड्ने केरुङ काठमाडौं रेल परियोजना टोखामा आइपुग्नेछ।उक्त रेललार्इ चोभारमा विस्तार गर्ने योजनामा छलफल भैरहेको रेल विभागले जनाएको छ।

त्यसै गरी वीरगंज हुँदै आउने भारतीय रेल पनि चोभारसम्मै पुर्याउने गरी अध्ययन भैरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। उनका अनुसार टेक्निकल रुपले सम्भव देखिएमा चीन र भारतको रेलको भेट चोभारमा हुनेछ।

त्यसै गरी काठमाडौंलार्इ तरार्इ मधेश जोड्ने द्रुतमार्ग समेत चोभारमा जोड्न विषयमा अनौपचारिक छलफल भएको सेनाले जनाएको छ।तर निर्णय भने भैसकेको छैन।

बाहिरी चक्रपथ पनि चोभारमा जोडिन्छ। त्यसैगरी चोभारमा बन्ने सुख्खा बन्दरगाह र  अन्तराष्ट्रिय प्रदर्शनी स्थलले ट्रान्जिट हबका रुपमा चिनाउनेछन्।

यसरी दुर्इ देशका रेलमार्ग चोभारमा जोडिए भने सिधै सामानहरु चोभारमा आएर चेक हुनेछन्। सम्बन्धित भन्सारमा लकिङ मात्रै हेरे पुग्छ।

त्यस्तै सामानहरु छुटाउनका लागि सम्बन्धित भन्सार कार्यालय धाइरहनु पर्दैन। चोभार गए पुग्छ। यसबाट आर्थिक भार समेत घट्ने छ।
हिमाल सिमेन्टको कारखाना रहेको अलपत्र परेको जग्गालार्इ उपयोग गर्दै १ हजार रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह र अन्तराष्ट्रिय प्रदर्शनीस्थल निर्माण गर्न लागिएको हो।

समितिका अनुसार बन्दरगाहमा आयात र निर्यातका लागि आन्तरिक र बाह्य गरि दुर्इवटा टर्मिनल हुनेछन्।बन्दरगाहमा दुवै टर्मिनलमा गरी करिव ६ सय कन्टेनरहरु अटाउने छन्।

एउटा मुख्य प्रशासनिक भवन र क्वार्टर ‍निर्माण हुनेछ। त्यसै गरी मुख्य भवनभित्र बैक,भन्सार लगायतका कार्यालयहरु रहनेछन्। बन्दरगाहका लागि आवश्यक सबै कार्यालयहरु मुख्य भवनभित्र रहनेछ। बन्दरगाह करिव २ सय रोपनीमा फैलने छ।