बौद्धिक सम्पत्तिमा समुदायको अपनत्वः पस्मिना र जुजुधौले लिए कलेक्टिभ ट्रेडमार्क, अब पालो कसको?

बिजमाण्डू
२०७५ कात्तिक ३ गते १२:५८ | Oct 20, 2018


काठमाडौं। चेतनाको कमीले आफ्नो समुदायको पहिचान गुम्ने गरी कुनै व्यक्ति विशेषले ट्रेडमार्क लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ।

Tata
GBIME
Nepal Life

बौद्धिक सम्पत्ति भनेको कुनै व्यक्ति वा संस्थाको मात्रै हुँदैन। कुनै खास समुदायको उत्पादन वा सेवालाई पनि बौद्धिक सम्पत्तिको हक दिन सकिन्छ।

आज भन्दा २ वर्ष अघि एक ठूला व्यापारिक घरानाका व्यवसायी भक्तपुरमा उत्पादन हुने जुजुधौ दहिको नामबाट ट्रेडमार्क लिन उद्योग विभागमा निवेदन लिएर गए।

बौद्धिक सम्पत्ति शाखाका तत्कालिन निर्देशक दीपक घिमिरेले उक्त निवेदन सोझै खारेज गरिदिए। विदेशी कम्पनीका ट्रेडमार्क चोरी गर्न सिपालु नेपाली व्यवसायी त्यतीबेला भने नेपालकै समुदायको ट्रेडमार्क आफ्नो नाममा बनाउने दाउ छोपेर उद्योग विभागमा पुगेका थिए।

जुजुधौ भनेको भक्तपुरका स्थानीयले उत्पादन गर्ने दहि हो। एउटा सिंगो समुदायले परमपरागत शैलीमा दहि उत्पादन गर्छन्। त्यसैले त्यसलाई कुनै व्यक्तिको उत्पादनमा ट्रेडमार्क दिन हुन्नथ्यो। तत्कालिन निर्देशकले त्यसैगरे। ती व्यवसायीको केहि चलेन। त्यसको २/४ महिनापछि उद्योग विभागमा जुजुधौ कलेक्टिभ मार्क दर्ताको लागि निवेदन पर्योा। विभागले ट्रेडमार्क दिने निर्णय गर्योा।

नेपालमा अहिलेसम्म च्याङ्ग्रा पस्मिना र जुजुधौ गरी दुइवटा मात्रै कलेक्टिभ ट्रेडमार्क दर्ता भएका छन्। तर समुदायको उत्पादन भनेर परिचित त्यस्ता धेरै उत्पादनले अहिले सम्म पनि ट्रेडमार्क लिएका छैनन्।

भक्तपुरका कानुन व्यावसायी प्रेम सुवाल जुजुधौको ट्रेडमार्क दर्ता गरिसकेपछि भादगाउँले टोपीको ट्रेडमार्क दर्ता गर्ने तयारीमा रहेको बताउँछन्।
‘भादगाउँले टोपी पनि भक्तपुरको भादगाउँमा उत्पादन हुने सामुहिक उत्पादन हो। यसको पनि ट्रेडमार्क रक्षाका लागि निवेदन दिने तयारीमा छौ।‘ सुवालले भने।

नेपालमा खास समुदायको उत्पादनको पहिचान बनाएका पाल्पाली ढाका, इलामको चिया, गुल्मीको कफी, जुम्लाको सिमी, मुस्ताङी स्याउ, लगायत ठाउँ विशेषमा उत्पादन हुने वस्तुको पनि ट्रेडमार्क दर्ता गरिएको छैन।

नेपालमा सामुदायिक र भौगोलिक रुपमा लिनुपर्ने हजारौं ट्रेडमार्क दर्तामा कसैको पनि चासो गएको छैन। यस्तो अवस्थामा जो कसैले पनि एउटा समुदायको उत्पादनको पहिचान बनाएको वस्तुको ट्रेडमार्क व्यक्ति विशेषले कब्जा गर्ने जोखिम बढेको छ।

यस्ता वस्तुको उत्पादन कुनै एक व्यक्तिले गर्ने हैनन्। सिंगो समुदायनै त्यसमा लागेको हुन्छ। त्यसैले त्यस्ता वस्तुको पनि समुदायकै नाममा ट्रेडमार्क दर्ता गरेर उनीहरुको पहिचान जोगाउनु पर्ने देखिएको छ।