बैतडीको एउटै वडाबाट दुई महिनामा १० लाखको बन्दा निर्यात, अन्नबालीभन्दा तरकारीले बनायो धनी

रासस
२०७५ कात्तिक ३ गते १४:०२ | Oct 20, 2018


बैतडी।तरकारीकालागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका १ बाट १० लाख रुपैयाँ भन्दा बढीको बन्दा निकासी भएको छ ।

Tata
GBIME
Nepal Life

दुई महिनाको अवधिमा वडा नं १ बाट  १० लाख रुपैयाँ भन्दा बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी  दिए। तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी खेती तर्फ आकर्षित छन् ।

पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि उनीहरुको जिविकोपार्जनमा सहज भएको जेटीए पुस्करराज भट्टले बताए।

अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नं १ का अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।

किसान कृष्णदत्त भट्ट, चन्द्रदेव भट्ट, जयसिंह टेर, कृष्ण बोहरा, भरत टेरलगायलतले एक लाख रुपैयाँ बढीको बन्दा बिक्री गरेका छन् ।

अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानले पछिल्लो समय तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेकाले तरकारी खेतीमा आर्कषण बढेको शिखर बिउ प्रवर्धन केन्द्रका प्रोपाइटर देब दत्त भट्टले बताए।

अहिले उपभोग्य सामान किन्नका लागि तरकारी बेचेरै किन्न सकिन्छ भने नजिकैको बजारभन्दा पनि जिल्ला बाहिरसमेत किसानको तरकारी गइरहेको छ ।

प्रतिकिलो २० रुपैयाँका दरले किसानले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि जेटीए सविता चन्दले बताए।

बन्दा लगाउने किसानलाई वडा नं १ को कार्यालयले ५० प्रतिशत अनुदानमा बन्दाको बीऊ उपलब्ध गराएको थियो ।

किसान तरकारी खेतीमा आत्मनिर्भर बन्दा उनीहरुलाई जिविकोपार्जन गर्न सहज भएको छ भने उपभोक्ताले पनि सजिलै तरकारी किन्न पाएकाछन् ।

दशरथचन्द नगरपालिका १ का अन्य धेरै किसानमेत तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् ।