युनाइटेड फाइनान्सले मुत्तुट फाइनान्सलार्इ २०.७८% शेयर दिएर भित्र्यायो, प्रति शेयर १९० रुपैयाँ

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १५:५७ | Oct 23, 2018
युनाइटेड फाइनान्सले मुत्तुट फाइनान्सलार्इ २०.७८% शेयर दिएर भित्र्यायो, प्रति शेयर १९० रुपैयाँ

काठमाडौं। युनाइटेड फाइनान्सले आफ्नो कार्यक्षेत्र विस्तारको लागि भारतको मुत्तुट फाइनान्सलार्इ रणनीतिक साझेदारका रुपमा भित्र्याउने निश्चित भएको छ। 

Tata
GBIME
Nepal Life

भारतमा 'गोल्ड लोन' का लागि 'पायोनियर' मानिने मुत्तुट फाइनान्सको व्यवस्थापन तथा प्रविधि भित्र्याउन रणनीतिक साझेदार बनाउन लागिएको युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठले बताए। 

युनाइटेडले सुरुमा मुत्तुटले अवलम्बन गर्ने गरेको सुन धितो कर्जाको प्रकृया र उसको नेटवर्थलार्इ प्रयोग गर्ने भएको छ। नेपालमा सुन धितो कर्जाका लागि बैंक तथा वित्तीय संस्थाभन्दा पनि निजी स्तरका सुनचाँदी व्यावसायीमै पुग्ने चलन छ। मुत्तुटसँगको सहकार्यले त्यस्ता ग्राहकलाई फाइनान्सले लक्षित गरेर 'प्रडक्ट' ल्याउने छ।

बैंक तथा वित्तीय संस्थाले सुन धितोमा दिने ऋण पनि झन्झटिलो छ। मुत्तुटको प्रयोग तथा प्रविधि भित्र्याएसँगै नेपाली ग्राहकले पनि सजिलै सस्तो दरमा ऋण पाउने उनले बताए। 

फाइनान्सको अंकित मूल्य १०० रुपैयाँमा ९० रुपैयाँ थप प्रिमियम सहित २१ लाख कित्ता संस्थापक शेयरधनी कायम रहने गरी मुत्तुट नेपाल भित्रिने छ। लगानीसँगै मुत्तुट फाइनान्सको तर्फबाट एक जना संञ्चालक समितिमा आउने छन्। 

कम्पनीमा अहिले ६ जना मात्रै सञ्चालक छन्। मुत्तुटबाट एक जना थपिएपछि सञ्चालक समिति पूर्ण हुने छ। अब मुत्तुट सहित ४ जना संस्थापक संञ्चालक, दुर्इ जना सर्वसाधारण संञ्चालक र एक जना स्वतन्त्र सञ्चालक रहने गरि नियमावली संसोधन गरिने भएको छ। 

कात्तिक ३० गतेका लागि डाकिएको २४औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांस पारित गर्ने भएको छ। साधारणसभा प्रयोजनको लागि संस्थाले कात्तिक १३ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। 

संस्थाको हालको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा २२ करोड ४३ लाख रुपैयाँ रहेको छ। 

रिटेल बैंकिङमा रमाइरहेको युनाइटेड फाइनान्स अब सुन धितो कर्जामा बढि लक्षित हुने भएको छ। मुत्तुटले सून धितो कर्जाको लागि आउने ग्राहकलार्इ १० मिनेटमै ऋण दिने गरेको छ। नेपालमा पनि १० मिनेटमै सुन धितो ऋण दिने वातावरण बन्ने श्रेष्ठले जानकारी दिए। 

मुत्तुटले २०७२ भन्दा अगाडिदेखि नै नेपालमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको थियो। तर शान्ति सुरक्षा तथा राजनीतिक स्थिरताको हिसावले सहज नदेखेपछि फिर्ता भएको थियो। यसै सिलसिलामा दुर्इ वर्ष अगाडि मुत्तुटले युनाइटेड फाइनान्सलार्इ टाइअपको लागि प्रस्ताव गरेको थियो। उसको प्रस्तावलार्इ स्वीकार्दै रणनीतिक साझेदारको रुपमा भित्र्याउन युनाइटेड फाइनान्सलाई झण्डै १५ महिना बढि समय लाग्यो। 

शेयर पूँजीको विषयलार्इ लिएर नेपाल राष्ट्र बैंकमा मात्रै झण्डै एक वर्ष अल्झनु परेको थियो। शेयर पूँजीसहित भित्र्याउँदा सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) गरेर आपसी संझौता गर्दा दुर्इ वर्ष लागेको श्रेष्ठले जानकारी दिए। 

रणनीतिक साझेदार तथा भेन्चर कम्पनी भित्र्याउँदा सर्वसाधारण र संस्थापकको शेयर संरचना परिवर्तन हुन नहुने भन्ने किसिमका अस्पस्ट व्यवस्थाले केही समय लागेको थियो। 

सर्वसाधारण शेयर दिन नमिल्ने ब्यवस्था छ। संस्थापक शेयर दिन संचरना परिवर्तन गर्नु पर्छ। संस्थापकतर्फ मुत्तुटको २० प्रतिशत शेयर थपिदाँ सर्वसाधारणको हिस्सा घटेर ३८ प्रतिशत कायम हुनेछ।   

अब यो प्रस्ताव साधारणसभामा जानेछ। कात्तिक ३० गतेको वार्षिक साधारणसभाले पारित गरेसँगै मुत्तुटको नेपालमा आगमन हुने छ। 

साधारणसभाले पारित गरेसँगै मुत्तुटका पदाधिकारी सुन धितो कर्जाको लागि अध्ययन गर्न नेपाल आउने छन्। अध्ययनसँगै मुत्तुटले युनाइटेडका कर्मचारीलार्इ तालिम दिनेछन्। सुन धितो कर्जाको लागि मुत्तुटले आफ्नो प्रविधि सहित लगभग चैतबाट पूर्ण रुपमा कर्जा प्रवाह गर्ने योजना बनाएको छ। 

मुत्तुटले भारतमा सुन धितो कर्जा प्रवाह गर्दा सुरुमा व्यक्तिगत विवरण भर्नु पर्छ। व्यक्तिगत विवरण भरेपछि ग्राहकले आफ्नो सुन लिएर फाइनान्समा जानु पर्छ। फाइनान्सले सुनको चेक जाँच गरि उचित मूल्याङ्कन गरेर कर्जा प्रवाह गर्नेछ। पहिलो पटक व्यक्तिगत विवरण भर्ने क्रममा केहि ढिला भए पनि दोस्रो पटकदेखि सुन लिएर गएको १० मिनेटमा सुन धितो कर्जा प्रवाह गर्छन्। 

मुत्तुटको भारतभरी ४५ सय वटा शाखा कार्यालय रहेको छ। ती शाखा कार्यलयबाट नेपालमा रेमिट्यान्स सेवा प्रदान गर्ने योजनासमेत बनाइएको छ। भारतमा स्थापित मुत्तुटले विस्तारै अन्य देशमा पनि आफ्नो शाखा विस्तार गरिरहेको छ। मुत्तुटले श्रीलङ्का, इङ्ल्याण्ड, खाडी मुलुकमा शाखा विस्तार गरिसकेको छ।