कम्प्युटरको माउस घुमाएर इन्नोभेसन गर्ने सूचना प्रविधि कम्पनी सरकारी झमेलाको मारमा

बिजमाण्डू
२०७५ कात्तिक ९ गते २३:५१ | Oct 26, 2018
कम्प्युटरको माउस घुमाएर इन्नोभेसन गर्ने सूचना प्रविधि कम्पनी सरकारी झमेलाको मारमा


काठमाडौं । सूचना प्रविधि क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी कम्पनीले सरकारी प्रकृया झण्झटिलो हुँदा व्यवसाय आक्रामक रुपमा विस्तार गर्न नसकेको बताएका छन्।

Tata
GBIME
Nepal Life

विश्व बजारमा सम्भावना भएपनि कम्पनी दर्तादेखि विज्ञ जनशक्ति विदेशबाट ल्याउनसम्म कठिन रहेको ती कम्पनीका संचालकहरुले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिले शुक्रबार सूचना प्रविधि क्षेत्रमा स्थापित कम्पनीसँग गरेको अन्तरकृया कार्यक्रममा सहभागीले यो गुनासो गरेका हुन्।

इन्नोभेसनमार्फत आफ्नो व्यवसायलार्इ विश्व बजारसम्म पुर्याएका कम्पनीका प्रतिनिधीहरुले सरकारी निकायले सहजीकरण गरे रोजगारीदेखि वैदेशिक मुद्रा भित्र्याउन सकिने ठूलो सम्भावना रहेको उनीहरुले बताए। कम्प्युटरको माउसमार्फत इन्नोभेसन गर्ने कम्पनीलार्इ उद्योग दर्ता, भिसा, राजस्व दाखिलासम्म सरकारी कागजले फनफनी घुमाउने गरेको उनीहरुले आफ्नो अनुभव सुनाए।

क्लाउड फ्याक्ट्रीका जनरल म्यानेजर जोन स्नोडेनले नेपाल सूचना प्रविधि उद्योगमा लगानीको प्रशस्त अवसर भए पनि विदेशी कामदारलाई ल्याउन भिसा प्रक्रिया झन्झटिलो भएको बताए । ‘नेपालको भिसा प्रक्रिया सरल छ तर, धेरै समय लाग्ने लम्बेतान प्रक्रिया छ । जसले कामदार भित्र्याउन समस्या हुन्छ’, स्नोडेनले भने ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रवद्र्धक डा. महाविर पुनले नेपाल शिक्षण संस्थाबाट हरेक वर्ष सूचना प्रविधि क्षेत्रमा पाँच हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन हुने गरेको भए पनि उनीहरुलाई उचित अवसर दिन र स्टार्टअप कम्पनीलाई प्रवद्र्धन गर्ने खालको नीति हुनुपर्ने बताए । 

लिपफ्रग टेक्नोलोजी नेपालका बरिष्ठ उपाध्यक्ष रिचन श्रेष्ठले विश्व बजारले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई नियालिरहेको भन्दै ठूलो लगानीको कम्पनी स्थापना गर्ने सोच बनाए विदेशी लगानी भित्रन सक्ने बताए ।

सस्तो डिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले भने सरकारी अनुमति लिने प्रक्रिया लामो हुँदा अनावश्यक रुपमा लगानी खेर जाने गरेको अनुभव सुनाए । उनले भने, ‘अन्य क्षेत्रमा एक वर्षमा हुने काम प्रविधि क्षेत्रमा एक महिनामा हुन्छ । अनुमति लिन नै ६ महिना लाग्यो भने हाम्रो ६ वर्ष खेर गए बराबर हो ।’

कार्यक्रममा एफ वान सफ्ट प्रमुख कार्यकारी अधिकृत विश्वास ढकालले नेपाली कम्पनीले विश्व बजारमा चिनिने गरी काम गरे आफै विदेशी लगानीकर्ता आफै लगानी लिएर नेपालमा आउने बताए ।

‘नेपालको सञ्चार प्रविधि उद्योगमा ठूलो डिल हुनुपर्छ र त्यो कारोबारलाई अन्तर्राष्ट्रियको मिडियाले स्थान दिने खालको हुनुपर्छ । त्यसपछि विदेशी लगानीकर्ता आफै आउँछन’, ढकालले भने, ‘नेपालको बजार सानो भएर लगानी नहुने होइन । विश्व बजारमा नेपाली कम्पनी चिनिन सकेकै छैनन् । लगानीको प्रतिफल प्रस्ट रुपमा देखाउन सक्यौ भने लगानी ल्याउन समस्या छैन ।’

महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति साहिल अग्रवालले नेपालमा काम गरिरहेका सूचना प्रविधि सम्वन्धी कम्पनीले राम्रो प्रगति गरेको बताउँदै त्यस क्षेत्रमा काम गर्ने उद्यमीका नीतिगत सहजता आवश्यक रहेको बताए। समितिका सदस्य रञ्जित आचार्यले नेपाली कम्पनीको केही इन्नोभेसन विश्व बजारले समेत एडप्ट गरेको बताए।