'एउटै अपार्टमेन्टलाई १० करोड पर्ने प्रोजेक्ट ल्याउँदै छौं' अक्षय गोल्यानको अन्तर्वार्ता




म दाबाका साथ भन्न सक्छु, जुन फिनिसिङ हामी यो अपार्टमेन्टमा दिँदैछौं त्यस्तो नेपालमा अहिलेसम्म कुनै पनि प्रोजेक्टमा भएको छैन । सम्पूर्ण फिनिसिङ मेटेरियल युरोपेली प्रयोग भएको छ । उच्चवर्गका परिवारलाई लक्षित गरेर लग्जरी प्रडक्ट ल्याएका हौं । त्यहीअनुसार उच्चवर्गको पनि 'ड्रिम होम' को अपेक्षा पूरा गर्ने क्लासको बन्नेछ यो ।
---
अमेरिकाबाट अन्डर ग्र्याजुएट गरेर फर्किएपछि अक्षयले गोल्यान समूहको रियल इस्टेट विङमा काम गर्न थाले, वेस्टार प्रोपर्टिज्को बिक्री विभाग सम्हालेर। त्यसपछि एमबीएका लागि संसारका उत्कृष्ट १५ विश्वविद्यालयभित्र पर्ने स्पेनको 'एसाडे युनिभर्सिटी' पुगे। नेपाल फर्किएर पारिवारिक व्यवसायलाई नयाँ उचाइ दिने सोच पालेका अक्षयले 'फेमिली बिजनेस' नै मुख्य विषय राखेर एमबीए गरे। त्यसले पारिवारिक व्यवसायमा पुस्तान्तर हुँदै जाँदा आउन सक्ने चुनौती र पारिवारिक व्यवसायको 'ग्रोथ' का आयाम बुझ्मा सैद्धान्तिक ज्ञान मिलेको छ उनलाई। अहिले करिब ६ महिना भयो अक्षयले रिलायन्स स्पिनिङ मिल्सको नेतृत्व बुबा पवन गोल्यानबाट टेकओभर गरेको। ३० वर्षमा हिँड्दै गरेका उनी भन्छन्, ‘पुस्ता नयाँ उमेरले मात्र हुने होइन, अग्रजले तय गरेकै लक्ष्यमा पुग्न पनि नयाँ पुस्तामा सोच, तरिका र रणनीतिक बाटो फरक र सुदृढ हुनुपर्छ। कर्मचारीहरूलाई आफ्नो  'भिजन' र 'आइडिया' मा विश्वस्त गराएर संस्थाको उद्देश्यअनुरूप हिँडाउन सक्नुपर्छ। 

गोल्यानलाई प्रोपर्टी मासिकका सम्पादक मधुकर दाहालले सोधे- एउटै प्रिमिसेसमा दुई फरक प्रयोजनका रियल इस्टेट प्रडक्ट ल्याउने योजना थियो गोल्यान समूहको  अहिले कहाँ पुग्यो त्यो प्रोजेक्ट?
काठमाडौंको सोल्टीमोडमा हामीले एउटै कम्पाउन्डभित्रका दुईवटा टावरमा फरकफरक प्रडक्ट ल्याउन लागेका हौं। सँगै रहेका दुईमध्ये एउटा टावरमा रेजिडेन्सियल अपार्टमेन्ट र अर्कोमा तारे होटल हुनेछ। होटल हाम्रो हस्पिटालिटी कम्पनी सिटी होटल लिमिटेडअन्तर्गत र रेजिडेन्सी वेस्टार प्रोपर्टिज्भित्र आउँछ।


रेजिडेन्सियल टावर निर्माणको काम सकियो, इन्टेरियर र फिनिसिङको काम ३ महिनाभित्र पूरा भइसक्छ। होटल पनि २०१९ अक्टोबर–नोभेम्बरतिर सकेर त्यही डिसेम्बर वा जनवरी २०२० भित्रमा सञ्चालनमा ल्याउने योजना छ।

शायद एकै ठाउँमा पूर्णहोटल र अपार्टमेन्टको यो परियोजना नेपालमा पहिलो हो। कसरी यो अवधारणामा प्रोजेक्ट ल्याउने सोच बन्यो?
यो प्रोजेक्टको कन्सेप्ट र डिजाइन सन् २०१०–११ मा नै तयार भएको हो। त्यो बेला दुईवटै टावर रेजिडेन्सियल बनाउने योजना थियो। प्रोजेक्ट अघि बढ्यो। बीचमा भूकम्प गयो। भूकम्पपछि एकाएक अपार्टमेन्टप्रति बजारको कन्फिडेन्स  नकारात्मक बन्यो। त्यसको असर हाम्रो बालकुमारीको अपार्टमेन्ट र यो प्रोजेक्ट, दुवैको बिक्रीमा पनि पर्यो। त्यसबाट पनि हामीले नयाँ प्रोजेक्टमा अलिक सुरक्षित कमद चाल्ने सोच बनायौं  सोल्टीमोडको परियोजनाको एउटा टावरमा रेजिडन्सियल प्रडक्ट नै ल्याउने तर अर्कोलाई होटल बनाउने निर्णय गर्यौं।

होटलको सर्भिस र रेटिङ कुन स्तरको बनाउँदै हुनुहुन्छ?
हाम्रो होटलमा १५६ वटा कोठा रहनेछ। त्यसको ५० प्रतिशत जतिमा बाथटबसहितको अट्याच्ड बाथरूम राख्ने गरी काम भइरहेको छ। तर हामी फाइभस्टार रेटिङको होटल सञ्चालन गर्न चाहन्छौं। त्यसका लागि सबै कोठाका बाथरूम बाथटबसहितको हुनुपर्छ। यसैले सबै कोठालाई त्यहीअनुसार तयार गर्ने कि भन्ने पनि सोच्दै छौं। 

केही वर्षयता नेपालमा अन्तर्राष्ट्रिय होटल चेन ब्रान्ड भित्र्याउने एक किसिमको प्रतिस्पर्धा नै चलेको छ। तपाईंहरूले पनि सोल्टीमोडको होटलमा यो क्रमलाई पछ्याउनुभएकै होला?
हो। अमेरिकी होटल चेन ह्यात कर्पोरेशनअन्तर्गतको 'ह्यात प्लेस' सँग हामी सहकार्य गर्दै छौं। 'ह्यात प्लेस  काठमाडौं' ब्रान्डमा सञ्चालन हुने यो होटलको व्यवस्थापन ह्यात प्लेसकै हुनेछ। 

अझै पनि नेपालमा आर्थिक अवसरको केन्द्र काठमाडौं मात्र छ, जहाँ थप विकासको सम्भावना पहिलेभन्दा साँघुरिएको छ । यसैले हामीले अब आर्थिकरुपमा भाइब्रेन्ट हुने दोस्रो, तेस्रो, चौथो आइकोनिक शहर विकास गर्न जरुरी छ ।
---

सँगैको अपार्टमेन्ट फिनिसिङ हुने बेला भइसक्दा पनि तपाईंहरूले आजसम्म यसलाई बिक्रीका लागि फ्लोट गरेको सुनिएको छैन। यसरी चुपचाप कस्तो प्रडक्ट ल्याउन खोज्दै हुनुहुन्छ?
रेजिडेन्सियल टावर जम्मा १३ तलाको हो। त्यसको तलको २ वटा होटलले लिइसकेको छ। बाँकी ९ तलामा नौंवटै अपार्टमेन्ट हुनेछ, एउटा तलामा एउटा मात्र। त्यस्तो अपार्टमेन्ट नेपालमा आजसम्म कसैले पनि ल्याएको छैन र सायद भविष्यमा पनि आउन गाह्रो नै छ  किनकि हामीले बनाइरहेजस्तो सुविधासम्पन्न प्रिमियम प्रडक्ट ल्याउन धेरै नै महँगो पर्छ। फेरि नेपालमा अपार्टमेन्ट किन लिने, जग्गा किनेर घर नै बनाऊँ न भन्ने सोच पनि छ। यसैले उपभोक्ताको यस्तो सोचका बीच लग्जरी क्लासको रेजिडेन्सियल प्रोजेक्ट ल्याउने जोखिम उठाउन जोकोहीलाई पनि गाह्रै हुन्छ।

यति ठूलो दाबी गर्नुभएको अपार्टमेन्टमा त्यस्तो खास के छ?
प्रत्येक अपार्टमेन्ट ४४०० वर्गफिटको हुनेछ। मास्टर बेडरूम नै ६ सयदेखि ७ सय वर्गफिटको हुन्छ, जुन अहिले भएका कतिपय अपार्टमेन्टको पूरा साइजभन्दा ठूलो हो। हरेक अपार्टमेन्टमा प्राइभेट एलिभेटर, फुल साइज बाल्कोनीसहितका ४ बेडरूम, फुल साइज किचेन हुनेछन्। सबै बेडरूममा अट्याच बाथरूम रहन्छ। गेस्ट रूम, मेड रूम, लिभिङ एरिया, पनि हुनेछ।

म दाबाका साथ भन्न सक्छु, जुन फिनिसिङ हामी यो अपार्टमेन्टमा दिँदैछौं त्यस्तो नेपालमा अहिलेसम्म कुनै पनि प्रोजेक्टमा भएको छैन। बाथ फिटिङ्स, इलेक्ट्रिकल, स्विच गियर, मार्बल, टायल, फ्लोरिङ, वाल, पेन्ट्सलगायत सम्पूर्ण फिनिसिङ मेटेरियल युरोपेली प्रयोग भएको छ। यसबाहेक स्विमिङ पूल, जिमलगायतका कमन फेसिलिटी त छँदैछन्।

निर्माणको काम नेपालकै सीई कन्स्ट्रक्सनले गरेको यो प्रोजेक्टका अपार्टमेन्टलाई साचेजस्तो क्लासको बनाउन आर्किटेक्टरल डिजाइन 'हफिज कन्ट्राक्टर' बाट गराएका छौं। हफिज अन्तर्राष्ट्रियस्तरमा चर्चित भारतीय कम्पनी हो। युरोप, अमेरिकामा विश्वस्तरीय थुप्रै काम गरेको छ यसले।

यो डिटेलका आधारमा तपाईंहरूले ल्याउन लागेको अपार्टमेन्ट नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हुनेछ भनेर बुझ्दा फरक पर्ला?
हामीले उच्चवर्गका परिवारलाई लक्षित गरेर यो प्रडक्ट ल्याएका हौं। त्यहीअनुसार उच्चवर्गको पनि ‘ड्रिम होम' को अपेक्षा पूरा गर्ने क्लासको बन्नेछ यो। यसको दर तत्काल एक वर्गफिटको २० हजार रुपैयाँ राखिएको छ। यसअनुसार एउटा अपार्टमेन्टको अहिले ९–१० करोड पर्छ। तर २–३ महिनाभित्रै एक वर्गफिटको २५ हजार रुपैयाँ पुग्दैछ।

गोल्यान समूहको पारिवारिक उद्योग–व्यवसायमध्ये केहीको नेतृत्व गर्ने जिम्मेवारी तपार्इं लगायतको नयाँ पुस्ताले पाएको छ अहिले। अग्रजभन्दा के फरक शैली हुनेछ तपाईंको?
पुस्ता नयाँ उमेरले मात्र हुने होइन, अग्रजले तय गरेकै लक्ष्यमा पुग्न पनि नयाँ पुस्तामा सोच, तरिका र रणनीतिक बाटो फरक र सुदृढ हुनुपर्छ। कर्मचारीहरूलाई आफ्नो ‘भिजन' र ‘आइडिया' मा विश्वस्त गराएर संस्थाको उद्देश्यअनुरूप हिँडाउन सक्नुपर्छ। 

नेपालको रियल इस्टेट क्षेत्रलाई तपाईंले कसरी बुझ्नुभएको छ?
यो क्षेत्रलाई मैले त्यति गहिरोसँग बुझिसकेको छैन। तैपनि नेपालमा अहिलेसम्म व्यवासायिक रियल इस्टेट डेभलपमेन्ट भनेकै काठमाडौंकेन्द्रित रहेको देखिन्छ। काठमाडौंमा अब एक त खाली ठाउँ नै छैन भने भएको जग्गा पनि असाध्यै महँगो भइसकेको छ। पुरानो जग्गा जसको थियो ऊ मालामाल भएको छ। काठमाडौंमा देशका अन्य ठाउँबाट पनि मान्छे आएका छन्– रोजगारी, वृत्तिविकासका साथै अन्य आर्थिक अवसरहरूका लागि। तर मलाई लाग्छ अब नेपालमा व्यावसायिक अवसर काठमाडौंबाहिर नै बढी छ, विशेषगरी रियल इस्टेट डेभलपमेन्टका लागि। काठमाडौं जग्गाको साथसाथ निर्माण लागत, श्रमिकको ज्याला सबै हिसाबले असाध्यै महँगो भइसकेको छ।

तर, हामीले अब एउटा हिस्सालाई मात्र होइन, समग्रमा हेर्नुपर्छ। समग्र भनेको योजनाबद्ध सहरी विकास हो, रियल इस्टेट त्यसभित्रको एउटा हिस्सा। सबैभन्दा पहिले त सरकारमा देशको पूर्वी, मध्य, पश्चिम सबै भागमा योजनाबद्ध शहर विकासको भिजन हुनुपर्यो। सरकारले त्यस्तो योजनाबद्ध खाकासहितको शहर बनाएपछि मात्र त्यसमा यस्तो प्रोजेक्टहरू बनाउ यस्तो किसिमको हाउजिङ, रिटेल तथा कमर्शियल स्पेस, होटल आदि बनाऊ भनेर भनेर हामी जस्तो डेभलपरहरूलाई जिम्मा दिनुपर्छ।  

अमेरिका र युरोप बसेर पढ्नुभयो, अरू विकसित देश पनि सायद घुम्नुभयो। त्यहाँका व्यवस्थित सहर देखेर फर्किंएपछि नेपालका सहर यसरी व्यवस्थित गर्नुपर्छ भन्ने सोचाइ कत्तिको आउँछ?
म तपाईंलाई भारतकै एउटा उदाहरण भन्न चाहन्छु। दिल्लीबाट करिब एक घण्टाको दूरीमा रहेको गुडगाउँ पहिले केही थिएन। त्यहाँ सुरूमा 'प्लान्ड सिटी' बन्यो। त्यसपछि कमर्शियल स्पेसहरू विकास गरियो। क्रमशः होटल, रेस्टुरेन्टलगायत अन्य व्यापारहरू आए। मान्छेहरूले घर किनेर, बनाएर बस्न थाले। ग्लोबल मल्टिनेशनल कम्पनीहरूको हेड अफिस दिल्लीबाट गुडगाउँ सर्यो। हामीले पनि नेपालको अर्थतन्त्रलाई भाइब्रेन्ट र रियल इस्टेट क्षेत्रलाई बुम गराउन सहरी विकासमा त्यस्तै बृहत् र भिजनरी प्लान गर्नुपर्यो। कम्तीमा ठूला सहरको मुख्य क्षेत्रबाट ४५ मिनेटदेखि १ घण्टाको दूरीमा 'सेटेलाइट' अवधारणाका व्यवस्थित शहरी क्षेत्रको विकास गर्नुपर्छ।

तर, अझै पनि नेपालमा आर्थिक अवसरको केन्द्र काठमाडौं मात्र छ, जहाँ थप विकासको सम्भावना पहिलेभन्दा साँघुरिएको छ। यसैले हामीले अब आर्थिकरूपमा भाइब्रेन्ट हुने दोस्रो, तेस्रो, चौथो आइकोनिक शहर विकास गर्न जरुरी छ– पर्यटकीय र आर्थिक दुवै प्रयोजनका लागि, जुन व्यवस्थित पनि होस्। युरोप, अमेरिकामा त त्यस्ता शहर छन् नै एशियाकै जापान, चीन, थाइल्याण्डले पनि यस्ता दोस्रो, तेस्रो शहर विकास गरेका छन्। भारतमै पनि दिल्ली, मुम्बई, बेङ्ग्लोर, कोलकत्ता छन्।श्रीलंकामा कोलम्बो, क्यान्डी छ  पाकिस्तानमा लाहोर, कराँची, इस्लामाबाद र बंगलादेशमा ढाका, चिटगोङ छन्। हाम्रो देशमा भने काठमाडौं मात्र। हुन त वीरगञ्ज, भैरहवा, विराटनगर पनि नभएका होइनन् तर त्यहाँ मान्छे आर्थिक अवसरका लागि जाँदैन। व्यापारिक नाका नजिक र जग्गा सस्तो थियो, त्यसैले इन्डष्ट्रियल सेटअप ती शहरमा केन्द्रित भएका हुन्, बस्।

पुस्ता नयाँ उमेरले मात्र हुने होइन, अग्रजले तय गरेकै लक्ष्यमा पुग्न पनि नयाँ पुस्तामा सोच, तरिका र रणनीतिक बाटो फरक र सुदृढ हुनुपर्छ। कर्मचारीहरूलाई आफ्नो ‘भिजन' र ‘आइडिया' मा विश्वस्त गराएर संस्थाको उद्देश्यअनुरूप हिँडाउन सक्नुपर्छ। 
---

नयाँ प्रोजेक्ट ल्याउने सवालमा काठमाडौंबाट मोहभङ्गा भइसकेको अथवा अब काठमाडौंबाहिर जाने चाहना हो?
हामी नेपालमा प्रोजेक्टहरू त गर्छौं तर अहिले काठमाडौंमा गर्ने कुनै सोचाइ छैन। मेरो र हाम्रो परिवारकै लक्ष्य नेपालकै विकासमा सघाउने गरी काम गर्ने भन्ने छ, चाहे त्यो टेक्सटायल, होटल, रियल इस्टेट वा अन्य कुनै पनि व्यवसाय होस्। हामी ऊर्जा क्षेत्रमा पनि केन्द्रित हुँदैछौं। रियल इस्टेट क्षेत्रको पनि विकास सम्भावना अथाह छ नेपालमा। सबै ठाउँमा सडक, पुल, भवन इत्यादि निर्माण भइरहेका छन्। 

हाम्रो उद्देश्य पर्यटनसँग जोडिएर देशकै लागि नतिजामुखी काम गरौं भन्ने छ। काठमाडौं वा ट्रेकिङका लागि मात्र होइन, नेपालमै पर्यटक आगमन बढाउने खालका प्रजेक्टहरू गर्न चाहन्छौं । पूर्वी भेगदेखि पश्चिमसम्मै हामीकहाँ असाध्यै राम्रो हावापानी, साइट सिनरी र भौगोगिक विविधीकरण छ। यसलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्छ, पर्यटकीय आकर्षणका गुणस्तरीय प्रोजेक्टहरू बनाउनुपर्छ। यसका लागि सरकार तथा निजी क्षेत्रको सक्रिय सहभागिता र एउटा भिजनरी व्यक्ति चाहिन्छ। 

पर्यटनतिर तपाईंको रुचि बुझिन्छ।  हस्पिटालिटीमा कुनै नयाँ प्रोजेक्टको योजनामा हुनुहुन्छ?
पूर्वको असाध्यै रमणीय ठाउँ फिक्कलमा पर्यटकीय आकर्षण बढाउने गरी काम गर्ने योजनामा छौं। यसका लागि अहिले अध्ययन गरिरहेका छौं। हामीले सोचेको प्रोजेक्ट गर्न ठूलो जग्गा चाहिन्छ, जुन निजी प्रयासमा जुटाउन गाह्रो छ। यसैले स्थानीय सरकारसँग मिलेर ठूलो पार्क, राम्रो रिसोर्टलगायतका प्रडक्ट विकास गर्ने विचार हो। त्यसले पर्यटकको आगमन, व्यापारिक तथा आर्थिक क्रियाकलापहरू र रोजगारीका अवसरहरू सँगसँगै बढाउनेछ। यसले त्यो ठाउँको पनि विकासमा मद्दत पुग्नेछ। त्यही ट्रेन्डमा अरूअरू ठाउँमा पनि काम गर्नुपर्छ। एउटा उदाहरण, चितवनको विकासमा पर्यटकीय प्रोपर्टीहरूको योगदानलाई लिन सकिन्छ जसका कारण अहिले बस्नका लागि पनि चितवन नेपालीहरूको रोजाइको ठाउँ बन्नपुगेको छ। रियल इस्टेट डेभलपर्सले हस्पिटालिटी र रियल इस्टेट दुवैलाई जोडेर यस्ता प्रोजेक्ट विकास गर्ने लक्ष्यमा अघि बढ्नुपर्छ।

नेपालमा हाउजिङ डेभलपरहरू धनीलाई मात्रै हुने प्रडक्ट विकासमा केन्द्रित देखिन्छन्। सरकारको पनि यसमा अग्रसरता नहुँदा निम्नमध्यम र मध्यम वर्गले समेत आफ्नै घर जोड्न नसक्ने अवस्था छ। माग अत्यधिक भएको समूहका लागि हुने ‘अफोर्डेबल हाउजिङ' ल्याउन तपाईंहरूजस्तो डेभलपरको त्यति रुचि देखिँदैन, किन होला?
हाउजिङ व्यवस्थित भएका देशमा सरकारले विकास गर्ने अर्गनाइज्ड हाउजिङ नेपालमा छैन। यसैले अफोर्डेबल हाउजिङ नेपालमा ठूलो चुनौती बनेको छ। बाहिरबाट आएको मान्छे काठमाडौंमा कोठा भाडा तिरेर पनि बस्न मुस्किल भइसकेको छ। यसमा सरकारको भुमिका नै महत्वपूर्ण हुन्छ। सरकारले निजी क्षेत्रबाट सस्ता आवास आओस् भन्ने चाहने हो भने सिटी प्लानिङ गर्दा नै अर्गनाइज्ड हाउजिङका लागि एरिया छुट्याएर डेभलपरहरूलाई म्यान्डेट दिनुपर्छ– यहाँ बढीमा प्रति वर्गफीट यति रुपैयाँमा आउने, यस्तो गुणस्तर वा प्रकारको हाउजिङ बनाऊ, म तिमीहरूलाई त्यसका लागि जमीनमा अनुदान दिन्छु, अरू  यस्तो यस्तो सहुलियत उपलब्ध गराउँछु भनेर। त्यसो भयो भने निजी क्षेत्रले न्यून आयवर्गका साथै लग्जरी हाउजिङ, कमर्शियल स्पेसलगायतका प्रडक्ट ल्याउन सक्छ। अन्यथा जग्गाको मूल्य छोइनसक्नु भएको यो अवस्थामा निजी क्षेत्रबाट सस्तो हाउजिङ प्रडक्ट ल्याउन सम्भव नै छैन। 

अर्को महत्वपूर्ण कुरा, हाम्रोमा होम लोनको ब्याजदर अहिले पनि ११–१२ प्रतिशत छ जुन सस्टेनेबल छैन। मानौं, कुनै औसत आय भएको व्यक्तिले ५० लाखको घर किन्नुपपर्यो तर आफूसँग १५ लाख मात्रै छ भने बैंकको ३५ लाख ऋण लिँदा ब्याज नै वर्षमा साढे ३ लाखभन्दा बढी तिर्नुपर्छ। कमाई ५० हजार हुनेले ब्याज मात्र ३० हजार खर्च गर्न कसरी सक्छ?
साँच्चै भन्ने हो भने नागरिकलाई गुणस्तरीय बसोबास दिलाउन र व्यवस्थित सहर विकास गर्न रियल इस्टेट डेभलपर वा यो क्षेत्रको भूमिका कति महत्वपूर्ण छ भन्ने सरकारलाई महसुस नै छैन। अन्यथा अरू थुप्रै क्षेत्रलाई सुविधा र संरक्षण दिएको राज्यले यो क्षेत्रलाई यति बेवास्ता गर्दैनथ्यो। यसैले, सबै नागरिकमा आवास पहुँच बनाउन सरकारले सर्वप्रथम नीति तथा योजना त बनाउनुपर्यो नै, सँगसँगै चरणबद्ध रूपमा कार्यान्वयन पनि गर्नुपर्छ। 

हाउजिङ, अपार्टमेन्ट, कमर्शियल कम्प्लेक्सजस्ता परम्परागत प्रोजेक्टबाहेक अब कस्ता किसिमका रियल इस्टेट प्रडक्टहरू ल्याउनुपर्ने आवश्यकता वा बजार बनिसकेको देख्नुहुन्छ?
हाम्रोमा रियल इस्टेट प्रडक्टको भेराइटी र इन्नोभेशनमा त्यति काम हुन सकेको छैन। जस्तै, हाम्रा सहरहरूमा मल वा व्यापारिक कम्प्लेक्सहरू त बनेका छन् तर अन्तर्राष्ट्रिय गुणस्तरका कुनै पनि छैनन्। मल पूर्ण रूपमा इन्टर्याक्टिभ प्रडक्टसहितको हुनुपर्छ जहाँ परिवार जाँदा बच्चादेखि वृद्धसम्मका लागि रिक्रिएशन सेन्टरहरू हुन्। 

त्यो भनेको मुभी थिएटर मात्र होइन। शहर उद्यम, व्यापार–व्यवसाय लगायत आर्थिक गतिविधिहरूको केन्द्र हो, जसका लागि सुविधायुक्त अफिस स्पेस पनि जरुरी हुन्छ।  हामीकहाँ यो खाँचो छ। सहरी क्षेत्रमा कम आय हुनेलाई रेन्टल हाउजिङ आवश्यक छ, तर निजी क्षेत्रले जग्गा किनेर चर्को ब्याजको बैंक कर्जाबाट रेन्टल हाउजिङ ल्याउने बिजनेस मोडेल उपयुक्त हुँदैन। यस्तै, हामीलाई यति वर्षमा कति र कस्तो–कस्तो हाउजिङ प्रडक्टहरू अवाश्यक पर्छ भन्ने सरकारले जनसंख्याको वृद्धिका आधारमा प्रक्षेपण गरेर सहरी क्षेत्र र त्योभन्दा केही बाहिर उपलब्ध जग्गा आवश्यकताअनुसारका प्रोजेक्ट विकास गर्दै जानुपर्छ, सरकार आफैं वा डेभलपरसमेतको सहभागितामा। 

वेस्टार रेसिडेन्सी प्रोजेक्ट लञ्चदेखि भूकम्पअघिसम्म रियल इस्टेटमा तपाईंहरूमा जुन उत्साह थियो, अहिले सुस्त भएजस्तो देखिन्छ, किन?
रियल इस्टेटमा हाम्रो अनुभव धेरै नराम्रो भइदियो। भूकम्प हाम्रा लागि ठ्याक्कै नराम्रो समयमा आइदियो। बिक्री ‘पिक' मा थियो, ११० युनिट बेचिसकेका थियौं। प्रोजेक्ट लगभग सकिएको थियो। भूकम्पले वेस्टारको पूरा नभएको टावरमा केही क्र्याक आयो। त्यो देखेर मान्छेहरू डराएर भागे। बिक्री भएका युनिटको आउनुपर्ने भुक्तानी पनि रोकियो। सोल्टीमोडमा अहिले बन्दै गरेको प्रोजेक्ट दुवै टावरमा अपार्टमेन्ट ल्याउने गरी अघि बढेको थियो। त्यसका दुईवटा टावरमा गरेर ३६ वटा अपार्टमेन्टको योजना थियो। त्योमध्ये १५ वटा बिक्री भइसकेको थियो तर भूकम्पपछि हामीले त्यसको पनि सबै पैसा ग्राहकलाई फिर्ता गर्नुपर्ने स्थिति भयो। भूकम्पयता एउटा अपार्टमेन्ट बेच्न हामीलाई करिब ३ वर्ष लाग्यो। केही महिनायता अपार्टमेन्टको कारोबार पुनः राम्रो भएको छ।

प्रोपर्टी मासिक बिजमाण्डू डट कमको प्रकाशक बिजमाण्डू प्रा.लि.को सहप्रकाशन हो।

Share this Story

   

'एउटै अपार्टमेन्टलाई १० करोड पर्ने प्रोजेक्ट ल्याउँदै छौं' अक्षय गोल्यानको अन्तर्वार्ता को लागी १ प्रतिक्रिया(हरु)

Saroj[ 2018-10-29 03:18:17 ]
— १ पटक सम्पादित
Please try to build apartments with cost around 10 to 20 lakhs. That will be a heroic deed, innovation and contribution to the society.
Your wellwisher

   हालसम्म २६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.