राष्ट्र बैंक गैरजिम्मेवार बन्दै गएको भन्दै अर्थमन्त्री रिसाए, ‘राष्ट्र बैंकको टिप्पणी हचुवा’

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७५ कात्तिक १४ गते १५:२१ | Oct 31, 2018
राष्ट्र बैंक गैरजिम्मेवार बन्दै गएको भन्दै अर्थमन्त्री रिसाए, ‘राष्ट्र बैंकको टिप्पणी हचुवा’


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर डा. चिरञ्जिबी नेपालसहितको टोलीसँग जङ्गगिएका छन्। वित्तिय अवस्थाका बारेमा बुझ्न भनेर बोलाएपनि खतिवडाले राष्ट्र बैंकले बुझाएको मुलुकको आर्थिक अवस्थाको भाषालार्इ लिएर जङगिएका हुन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनको सानो 'टिप्पणी' लाई लिएर अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकका अधिकारीहरुको सातो लिएका हुन्। सहभागीहरुका अनुसार, जुन बिषयलाई लिएर अर्थमन्त्रीले सातो लिए त्यसमा खतिवडा र राष्ट्र बैंकका अधिकारीको दोष १९/२० मात्रै फरक छ।सरकारले राजस्व मात्र उठाउने तर खर्च नगर्ने विगतको प्रबृत्ति अहिले पनि दोहोरिएको टिप्पणी हुन थालेपछि अर्थमन्त्री खतिवडा चिन्तित थिए। यहीबीचमा राष्ट्र बैंकले चालु आर्थिक बर्षको दुई महिनाको विवरण सार्वजनिक गरेको छ। त्यसको 'सारांश' बनाएर अर्थमन्त्रीलाई बुझाइएको थियो। त्यसमा लेखिएको भाषालाई लिएर खतिवडा रिसाएका हुन्।

देशको वर्तमान आर्थिक अवस्थाको विवरण राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पार्छ। यो विभागको प्रमुख हुन् नरवहादुर थापा।सहभागीहरुका अनुसार, थापाले ३४ प्रतिशतले राजस्व वृद्धि हुँदा पनि विकास खर्च नभएको र यसले गर्दा ऋण योग्य पूँजीको अभाव भएको टिप्पणी मन्त्रीलाई बुझाइएको प्रतिवेदनमा थियो।

यो टिप्पणी हेर्ने वित्तिकै खतिवडाले सरकारले खर्च नगरेर नै अभाव भएको हो ? कसले तयार गरेको यो? भन्दै हप्काउन सुरु गरेका थिए। थापाले आफू अनविज्ञ रहेको जवाफ दिए। अर्थमन्त्रीले डेपुटी गभर्नरलार्इ सोधे उनले पनि जानकारी नभएको जवाफ फर्काए। त्यसपछि यही प्रश्न गभर्नरलार्इ अर्थमन्त्रीले सोधे। गभर्नर नेपालले समेत प्रतिवेदन तयार पारेको बारे जानकार नभएको उत्तर दिए। गभर्नर नेपालले समेत जानकारी नभएको बताएपछि खतिवडा जंगिदै भने,’जिमेवारी बोध गरेर काम गर्नुस्। हचुवाको भरमा टिप्पणी गर्ने?’ उनले केन्द्रीय बैंकको भूमिकाका बारेमा पनि लामो पाठ पढाए।

'केन्द्रीय बैंकले विचार विश्लेषण नगरी जस्तो पनि स्टेटमेन्ट ल्याउने? जिम्मेवारीवोध गरेर ल्याउनु पर्दैन? ख्यालख्यालमा र अपरिपक्व कुरा गर्ने? अर्थमन्त्रीको भनाइ उदृत गर्दै सहभागीमध्ये एकले भने। उनका अनुसार पछिल्लो समय राष्ट्र बैंकको सार्वजनिक गर्दै प्रतिवेदनमा परिपक्वता देखिएको छैन।

छलफलमा गभर्नर नेपाल, डेपुटी गभर्नर श्रेष्ठ, कार्यकारी निर्देशक थापा, नारायण पौडेल, भीष्मराज ढुङ्गाना र महेश्वरलाल श्रेष्ठ सहभागी थिए। मन्त्रालयका तर्फबाट अर्थमन्त्री खतिवडा, सचिवहरु राजन खनाल र शिशिरकुमार ढुङ्गाना, सहसचिवहरु उत्तरकुमार खत्री, मुकुन्दप्रसाद पौडेल र राष्ट्र बैंकबाट अर्थमन्त्रालयमा काजमा रहेका डा. रामशरण खरेल सहभागी थिए।

'जसरी विवरणको  विश्लेजषण हुनु पर्ने हो त्यो भएको छैन। अर्थमन्त्रालयको निर्देशन मान्ने/नमान्ने उहाँहरु (राष्ट्र बैंक) को कुरा हो,' सहभागी एकले भने, 'जे तथ्यांक निकालिन्छ त्यसमा जिम्मेवारी नलिनेजस्तो देखियो।'

आफैले सार्वजनिक गरेको विवरणमा समेत जानकारी नभएको जवाफ आउनु गैरजिम्मेवारीपन भएको अर्थका अधिकारीहरुले बताए। राष्ट्र बैंकका अधिकारीहरुले भने विना एजेण्डा मन्त्रीले बोलाएर राष्ट्र बैंकको स्वायत्ततालाई आक्रमण गर्न खोजेको टिप्पणी गरेका छन्।

'केन्द्रीय बैंकले आफ्नो काम त जिम्मेवारी लिएर गर्नु पर्यो नि। एउटा खरिदारले रिपोर्ट बनाउँछ र त्यतिकै आधारमा सार्वजनिक गरिन्छ भने त्योजस्तो गैरजिम्मेवारीपन के हुन्छ?' ती सहभागीले भने।

अर्थमन्त्रीले राष्ट्र बैंकको कामकारवाही पछिल्लो समय गैरजिम्मेवार ढंगले अगाडि बढेको संकेत गरेका थिए। उनले गभर्नरलगायतलाई आफूले गरेको कामको जिम्मेवारी लिनसमेत सुझाव दिए। 'अर्थमन्त्रीले तपाईहरु अध्ययन गर्नुस्। समस्याको जरो पत्ता लगाउनुहोस्। हचुवाका भरमा टिप्पणी नगर्नुस् भन्नु भएको थियो,' ती सहभागीले भने।

अर्थमन्त्रीले केही समयअघि पनि राष्ट्र बैंकका अधिकारीहरुलाई डाकेर राम्रोसँग काम गर्न नसके जागिर छाड्न सुझाब दिएका थिए। 'जिम्मेवार रुपमा प्रस्तुत हुन अर्थमन्त्रीले सम्झाउनु स्वभाविक हो,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'तर मानमर्दननै हुने गरि गाली गर्न सुहाउँदैन।।'

स्रोतहरुका अनुसार, अर्थमन्त्री खतिवडा गभर्नर नेपाल र डेपुटी गभर्नर श्रेष्ठ र चिन्तामणि शिवाकोटीको कामप्रति सन्तुष्ट छैनन्। राष्ट्र बैंकले आफ्नो भूमिका प्रभावकारी बनाउन नसकेको खतिवडाको बुझाइ छ।

'सबैले आआफ्नो क्षेत्रको काम राम्रोसँग गर्नु पर्यो भन्ने मन्त्रीको चाहना हो। त्यो काम राष्ट्र बैंकबाट भएन भन्ने मन्त्रीको गुनासो छ,' खतिवडा गभर्नर हुँदा उनीसँग काम गरेका राष्ट्र बैंकका एक अधिकारीले भने। उनका अनुसार अर्थमन्त्री खतिवडाले प्रत्यक्ष रुपमा नरवहादुर थापालार्इ गाली गरेको देखिएपनि अप्रत्यक्ष रुपमा गभर्नर र डेपुटी गभर्नरलार्इ लक्षित गरेर आक्रोश पोखेका हुन्।