देश आर्थिक संकटमा जानै लागेको हो? अर्थमन्त्रीको चाहानामा राष्ट्र बैंकको नीतिगत हस्तक्षेप




काठमाडौं। वाह्यीय क्षेत्रको वित्तीय असन्तुलन बढेपछि अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकमार्फत सुधारको प्रयत्न गरेको छ। मंगलबार नेपाल राष्ट्र बैंकले नेपालबाट बाहिरिने पूँजीलाई न्यूनीकरण गर्दै बढिभन्दा बढि पूँजी भित्र्याउने नीतिगत निर्णय गरेको छ। 

उच्च आयातका कारण चालु खाता र शोधनान्तर घाटा निरन्तर बढिरहेको सन्दर्भमा राष्ट्र बैंकले हस्तक्षेपकारी नीति लिएको हो। राष्ट्र बैंकले भदौसम्मको विवरण सार्बजनिक गर्दै चालु खाता घाटा ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको जनाएको छ। शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।


उच्च आयातले आर्थिक कृयाकलाप बढे पनि बाह्यीय क्षेत्र सन्तुलन खस्किँदा आगामी दिन भने असहज हुन सक्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरुको विश्लेषण छ। उच्च आयातकै कारण अनुत्पादक क्षेत्रमा बैंक ऋण केन्द्रित भएर आर्थिक बृद्धि लक्ष्य पुरा नहुने देखिएको छ। साथै निरन्तर बढ्दो घाटाले डलरको स्टक घटिरहेको छ। आयात घटाउँदै चालु खाता घाटा र शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गरेको हो।

शोधनान्तर
एक देशको अन्य देशबीच हुने वित्तीय लेनदेनको हिसाव नै शोधनान्तर (ब्यालेन्स अफ पेमेन्ट) हो। यसमा एक देश र बाँकी सन्सारका बीच आयात निर्यातका लागि हुने वित्तीय लेनदेन समेटिन्छ। बस्तु तथा सेवाको आयात निर्यात, वित्तीय पूँजी, वित्तीय हस्तान्तरणमा पर्छ। नेपालमा शोधनान्तर हरेक महिना मापन गरिन्छ।

ब्यापार घाटाजस्तै देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढि भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ। गत बर्ष मुस्किलले देशको शोधनान्तर बचतमा थियो। चालु बर्षको पहिलो महिनाबाटै शोधनान्तर घाटामा छ। भदौसम्मको घाटा साढे २५ अर्ब पुगेको हो।

विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्स ३३.४ प्रतिशतले बढेर १५४ अर्ब २० करोड रुपैयाँ भित्रिएको छ। तर उच्च आयातले गर्दा शोधनान्तर घाटा भएको हो। राष्ट्र बैंकका अनुसार आयात साढे ३८ प्रतिशतले बढेर दुई महिनामै २३२ अर्ब ३५ करोड रुपैयाँ बाहिरिएको छ। निर्यात भने जम्मा १४ अर्ब ७० करोड रुपैयाँ मात्र छ। यसले गर्दा ब्यापार घाटा २१७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार, पेट्रोलियम पदार्थ र सवारी साधनको आयात निक्कै बढेको छ। पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने अवस्था छैन। त्यही भएर राष्ट्र बैंकले सवारी साधनमा जाने ऋणको सीमा ६५ प्रतिशतबाट झारेर ५० प्रतिशतमा ल्याएको छ। यसबाट आयात न्यूनीकरण हुने केन्द्रीय बैंकको अनुमान छ।

चालु खाता
चालु खाता देशभित्र आउने कुल विदेशी मुद्र र वाहिरिने मुद्राबीचको अन्तर हो। बढि भित्रिए चालु खाता बचतमा हुन्छ, बढि बाहिरिए घाटा हुन्छ। अहिले देश चालु खाता घाटाको अवस्थामा छ। 

विदेशी मुद्रा निर्यात, प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ), रेमिटेन्सका कारण देशभित्र भित्रिरहेको हुन्छ। गत बर्ष चालु खाता घाटा जिडिपीको ८ प्रतिशत पुगेको थियो। ३० खर्बको अर्थतन्त्रमा घाटा २ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ पुगेको थियो। पेट्रोलियम पदार्थ, यातायातका साधन र औद्योगिक सामाग्रीको उच्च आयातले घाटा आकासिएको हो। दुई महिनामै चालु खाता घाटा ३५ अर्ब ५६ करोड नाघिसकेको छ।

चालु खाता घाटा बढ्दा विदेशी मुद्राको सञ्चितिमा दवाव पर्छ। चालु खाता घाटाको असरले अहिले विदेशी मुद्रा सञ्चिति (डलरमा आधारित) घट्न थालेको छ। डलरको भाउ बृद्धिले नेपाली रुपैयाँमा गणना गर्दा बढेजस्तो देखिए पनि डलरमै राख्दा सञ्चिति घटेको देखिन्छ। यसलाई कम गर्न राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीको खर्चमा लगाम लगाएको छ। 

एउटा पासपोर्ट बराबर २५०० डलर सटही सुविधा दिँदै आएको राष्ट्र बैंकले मंगलबार नीतिगत निर्णय गर्दै १५०० डलरमा झारेको छ।

बढिभन्दा बढि विदेशी पूँजी भित्र्याउन बैंकहरुले ल्याउने ऋणको सिमा बढाइ दिएको छ। प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ऋण ल्याउने पाउने ब्यवस्थालाई संशोधन गरेर ५० प्रतिशत पुर्याइएको छ। आयातका लागि हुने भुक्तानीमा पनि कडाइ गरेको छ। 

Share this Story

   

देश आर्थिक संकटमा जानै लागेको हो? अर्थमन्त्रीको चाहानामा राष्ट्र बैंकको नीतिगत हस्तक्षेप को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.