बनाउने हो चिटिक्क परेको भान्सा? २ लाख रुपयाँमा नै तयार हुन्छ आकर्षक मोडुलर किचेन

बिजमाण्डू
२०७५ कात्तिक २४ गते ०८:५८ | Nov 10, 2018
बनाउने हो चिटिक्क परेको भान्सा? २ लाख रुपयाँमा नै तयार हुन्छ आकर्षक मोडुलर किचेन

भनिन्छ, डाइनिङ टेबल सबैभन्दा गुणस्तरीय पारिवारिक माहोलको थलो हो। खाना खाने समयमा परिवारका सबै जना एकै ठाउँमा हुनुजत्तिको ‘क्वालिटी फेमिली टाइम’ सायदै अरू होला। यसैले भान्छालाई अन्य कोठाजत्तिकै महत्व दिएर बनाउनुपर्छ भन्ने मान्यता पछिल्लो समय बलियो बन्दै गएको छ।

Tata
GBIME
Nepal Life

 

परिवारको स्वास्थ्य भान्छासँगै जोडिने हुँदा व्यवस्थितसँगै ‘हाइजेनिक’ भान्सा महत्वपूर्ण शर्त हो। प्रकाश र हावाको प्रवाह राम्रोसँग हुने सफा, व्यवस्थित र छरितो भान्छाको आधुनिक पर्याय बनेको छ— ‘मोडुलर किचेन।’

 

मोडुलर किचेन हेर्दा मात्र सुन्दर र स्टाइलिस हुने नभएर प्रयोग गर्न सहज र सजिलो हुने गरी (फङ्सनल) बनाइएको हुन्छ, जसले गर्दा समयको पनि बचत गर्छ।

 

नयाँ घर बनाउँदा होस् वा बसिरहेको पुरानो, शहरवासी आफ्नो घरमा मोडुलर किचेन नै बनाउने चाहना राख्छन्। कम स्पेसमा पनि छरितो र आकर्षक भान्छाको अवधारणा हो, मोडुलर किचेन। तर, सामान्य भान्छाको तुलनामा खर्चिलो हुने भएकाले आम घरपरिवार मोडुलर किचेनलाई आफ्नो ‘विस लिष्ट’ मै मात्र राखेर बसेका हुन्छन्।

 

कोठाको स्पेसअनुसार कस्टम डिजाइन गरेर आधुनिक उपकरणहरू राखी तयार गरिने यस्तो आधुनिक किचेनलाई ‘डिजाइनर किचेन’ समेत भनिन्छ। यस्तो किचेन निर्माणको लागत कोठाको आकार–प्रकार र राखिने सामानअनुसार फरक पर्न जान्छ।

 

भान्साको डिजाइन र आकारका साथै क्याबिनेट तथा स्टोर युनिट, सिंक, चिम्नी, चुल्हो, फ्लोर इत्यादिमा प्रयोग हुने सामग्री र त्यसको गुणस्तरका साथै जडान गरिने अन्य किचेन अप्लायन्सले मोडुलर किचेनको मूल्य निर्धारण गर्छ। चुल्हो सामान्य मोडुलर किचेनमा पनि अनिवार्य आउँछ भने यसबाहेक डिसवासर, फ्रीज, माइक्रोवेभ ओभन आदि अप्लायन्सहरू के–के राख्ने हो त्यसअनुसार खर्च थपिँदै जान्छ।

 

औसतमा ४–५ लाखदेखि १५ लाख रुपैयाँसम्म मोडुलर किचेनमा खर्चिने नेपाली उपभोक्ता रहेको यससम्बन्धी सेवाप्रदायकको भनाइ छ। तर, काठमाडौंको कमलादीस्थित बेटर होम्स् प्रालिले भने दुई लाख रुपैयाँमा पनि यस्तो व्यवस्थित भान्छा बनाइदिने बताएको छ। बेटर होम्स् मोडुलर किचेन निर्माणको व्यावसायिक सेवा दिने नेपालकै पहिलो कम्पनीसमेत हो।

 

कम्पनीका अनुसार, दुई लाख रुपैयाँमा तयार हुने किचेनमा पनि सामान्यतया मोडुलर किचनमा हुने सबै उपकरण र सामानहरू समावेश हुन्छ। जसमा क्याबिनेट, सिंक, स्टोभ (चुल्हो), चिम्नी, काउन्टरलगायत सम्पूर्ण सुविधा पर्छ।

 

किचेनमा क्याबिनेट, ड्रयर, सटर, र्याक, सेल्भलगायतका स्पेसका लागि किचेन प्लाइउड, लेमिनेटेड बोर्ड, एडीएफ बोर्ड, ल्याक्वार्ड ग्लास आदि जस्ता सामग्री प्रयोग हुन्छ। कम बजेटको किचेन क्याबिनेट, र्याक आदिमा भने स्वदेशी प्लाइउड नै प्रयोग हुने बेटर होम्स्ले जनाएको छ। सटर, सिन्क तथा चिम्नी इत्यादि भने आयातित नै प्रयोग हुन्छ यसमा। काउन्टर टपमा मार्बल वा ग्रेनाइट राख्न सकिन्छ।

 

किचेन निर्माण सेवा दिने कम्पनीहरूले उपभोक्ताको इच्छा, आवश्यकता र बजेटलाई ध्यानमा राखेर किचनको डिजाइन तयार गरिदिन्छ। यसका लागि सबैभन्दा पहिले सम्बन्धित कम्पनीले ग्राहकको भान्छा राख्ने कोठा अवलोकन गर्छ। सोपछि कोठाको कुन भागमा क्याबिनेट, फ्लोर युनिट, वाल युनिट, सिंक, चुल्हो, फ्रिज, डिस वासर इत्यादि राख्ने हो सोहीअनुसार उपयुक्त डिजाइन तयार गरेर मोडुलर किचेन निर्माणको काम थाल्छ।

 

कम बजेटमा मोडुलर किचन बनाउने इच्छा भएकालाई प्रयोग हुने सामग्रीको गुणस्तरमा सम्झौता गरेर खर्च कटौती गर्न सल्लाह दिन्छन् उनीहरू। जस्तै काउन्टर टपमा ग्रेनाइटको साटो मार्बल राखेर खर्च घटाउन सकिन्छ। चुल्होको मूल्य बर्नरको संख्या र ब्रान्ड तथा गुणस्तरका आधारमा ३–४ हजार रुपैयाँबाट सुरु भएर ५० हजारमाथि पनि पर्छ। ग्रेनाइट/मार्बल काटेर ४ वटा बर्नरको चुल्हो सेटअप गर्ने हो भने कम्तीमा पनि पच्चीसदेखि तीस हजार रुपैयाँ पर्न जान्छ। यसैले आफ्नो आवश्यकता र बजेट सुहाउँदो चुल्हो राखेर लागत नियन्त्रण गर्न सकिन्छ।

प्रोपर्टी मासिकबाट