अनलाइन कारोबारले शेयर बजारलार्इ लगायो ब्रेक, अर्थमन्त्रीले क्लिक गरे, ब्रोकरको माउसनै घुमेन

बिजमाण्डू
२०७५ कात्तिक २६ गते १४:०६ | Nov 12, 2018
अनलाइन कारोबारले शेयर बजारलार्इ लगायो ब्रेक, अर्थमन्त्रीले क्लिक गरे, ब्रोकरको माउसनै घुमेन


काठमाडौं। शेयर बजारमा वेग हान्ने दाबी गरिएको अनलाइन कारोबार तयारी विना संचालनमा ल्याउँदा झण्डै साढे दुर्इ खर्बको बजार उथलपुथल भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले १८ करोड ९४ लाख रुपैयाँ खर्चिएर ल्याएको अनलाइन प्रणाली ब्रोकर र लगानीकर्ताका लागि समस्याको भारी सावित भएको छ।गत मंगलबार तामझामका साथ पाँच तारे होटलबाट अर्थमन्त्री डा. युवराज खतिवडाले क्लिक गरेर उद्घाटन गरेको अनलाइन कारोबारको माउस ब्रोकरले घुमाउनै जानेनन्। माउस घुमाउन नजान्दा तिहारपछि खुलेको शेयर बजारमा झण्डै १० करोड रुपैयाँ मात्रै कारोबार भयो।

सोमबार पनि शेयर बजारमा पूरानै समस्या दोहोरियो। ब्रोकरले अनलाइन कारोबार चलाउन जानेनन् र नेप्सेले प्राविधिक खटाएर समस्या समाधानको प्रयास गरेको दाबी गर्यो। सोमबार पनि बजार खुलेको दुर्इ घण्टासम्म ६ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले तयारी विना अनलाइन प्रणाली कार्यान्वयन गरेर लगानीकर्ताको कारोबार गर्ने अधिकार हनन् गरेको आरोप लगाए। उनका अनुसार अनलाइन प्रणालीप्रति ब्रोकरनै अभ्यस्त नहुँदै संचालनमा ल्याउँदा साढे दुर्इ खर्बको बजार खलबलिएको हो। सोमबार ब्रोकर कम्पनीमा पुग्दा शेयर कारोबारनै हुन सकेको थिएन।

'पूर्ण रुपमा स्वचालित अनलाइन प्रणाली भएपछि ब्रोकरले एक क्लिकमा अर्डर टिप्न सक्दैनन् भने यसलार्इ कसरी अनलाइन प्रणाली भन्न सकियो' एक ब्रोकरले भने 'सफ्टवेयर निर्माताले फ्लोरमा कसरी काम हुन्छ भन्ने विषयलार्इ सुक्ष्म रुपमा अध्ययन नगरि अनलाइन संचालनमा ल्याउँदा समस्या भयो।'

नेप्सेले एक महिना अघि ब्रोकर सञ्चालकलार्इ 'मक ट्रेडिङ' गराएपनि रियल टाइम कारोबार नगराउँदा समस्या आएको ती ब्रोकरले बताए। उता नेप्सेले भने मक ट्रेडिङ गर्दा ब्रोकरले चासो नदिँदा यस्तो समस्या आएको बताउँदै आएको छ। फोरमका अध्यक्ष पौडेलले नयाँ प्रणालीको समस्या समाधान नहुँदासम्म पूरानै प्रणालीबाट कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने बताए।

नेप्सेको दाबी यस्तो छ
नेप्सेले अनलाइन कारोबारमा समस्या देखिएपछि प्राविधिक टिम बनाएर ब्रोकर कार्यालयमै खटाउन थालेको छ।

आइतबार देखिएका समस्यालाई राति अबेर सम्म नेप्से र सफ्टवेयर सेवा प्रदायक कम्पनीका प्रबिधिकले समाधान गरेका थिए।तर सोमबार नयाँ समस्या देखिएको भन्दै ब्रोकर कम्पनीले गुनासो गरेपछि नेप्सेले आफ्ना प्रविधिकनै खटाएर समस्या समाधान गरिरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। ‘हामीले प्राविधिक स्ट्यान्ड वार्इ राखेका छौं। ब्रोकरले खवर गर्ने वित्तिकै समस्या समाधान गरिरहेका छौं,’साउदले भने।