६ लाख सञ्चयकर्ताका लागि भोलीबाट मध्य भोटेकोशीको आइपिओ, शेयर भर्न के के चाहिन्छ?

बिजमाण्डू
२०७५ कात्तिक २७ गते १३:३० | Nov 13, 2018
६ लाख सञ्चयकर्ताका लागि भोलीबाट मध्य भोटेकोशीको आइपिओ, शेयर भर्न के के चाहिन्छ?


काठमाडौं। मध्य भोटेकोशीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि भोली कात्तिक २८ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। आवेदनका लागि सञ्चयकर्ताले सिआस्वा प्रणालीबाट मात्रै आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ। 

Tata
GBIME
Nepal Life

सिआस्वा प्राणाली अनुसार सञ्चयकर्ताको डिम्याट खाता र बैंकबाट सिआरएन नम्बर अनिवार्य रुपमा लिएको हुनु पर्नेछ। यदि आवेदन दिए बराबरको रकम बैंक खातामा नभएमा आवेदन नै रद्ध हुने कम्पनीले जनाएको छ। 

कर्मचारी सञ्चय कोषमा २०६८ मंसिर २२ गतेसम्म कायम सञ्चयकर्ताका साथै २०७५ असोज २९ गतेसम्म थप भएका सञ्चयकर्ताले आवदेन दिन पाउने कम्पनीले जनाएको छ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा एक करोड १७ लाख कित्ता प्राथमिक शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि छुट्टाएको छ। कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको लागि ६ लाख निष्काशन गर्नेछ। 

संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुको लागि भने मंसिर १९ देखि २६ गतेसम्म निष्काशन गर्नेछ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले न्युनतम ५० र अधिकतम ५०० कित्तासम्मको लागि आवदेन दिन सक्नेछन्। कोषमा करिव ६ लाख सञ्चयकर्ता छन्। 

आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। आवदेन दिनुभन्दा अगाडि सञ्ययकर्ता भए नभएको हेरेर आवेदन दिन गएमा सहज हुने धितोपत्र निष्काशन तथा ब्रिक्री प्रवन्धक ग्लोबल आइएमर्इ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले बताए। 

उनले भने 'शेयर हाल्न योग्य अयोग्य हेरेर मात्रै आवेदन दिन आएमा सजिलो हुन्छ।' यसको लागि कर्मचारी सञ्चय कोषको वेवसाइटमा लिङ्क राखिएको छ। उक्त लिङ्कमा सञ्चयकर्ता नम्बर राखेर हेर्न सकिन्छ।