एउटै व्यक्तिको फरक/फरक नागरिकता नम्बर राखेर युसीसी लिने भेटिए, नेप्सेले झन् गर्यो कडार्इ

बिजमाण्डू
२०७५ कात्तिक २८ गते १४:१६ | Nov 14, 2018
एउटै व्यक्तिको फरक/फरक नागरिकता नम्बर राखेर युसीसी लिने भेटिए, नेप्सेले झन् गर्यो कडार्इ



काठमाडौं। अनलाइन प्रणालीमार्फत कारोबार सुरु गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दोस्रो बजारका लगानीकर्ताको वास्तविक पहिचान गर्न सुरु गरेको छ। युनिक क्लाइन्ट कोड (युसीसी)मार्फत वास्तविक लगानीकर्ता पहिचान सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

नयाँ प्रणालीमा वास्तविक लगानीकर्ताले मात्रै कारोबार गर्न पाउने भएपछि पूराना लगानीकर्ताले  तत्कालै दोस्रो बजारमा कारोबार गर्न पाएका छैनन्। नयाँ प्रणालीमार्फत कारोबार सुरु भएदेखिनै पुराना लगानीकर्ताले तत्कालै शेयर कारोबार गर्न नपाएका हुन्।यस अघि लगानीकर्ताले केवाइसी फारम भरेर सोही दिन कारोबार गर्न पाउने व्यवस्था रहेको थियो। हाल भने नयाँ र पूराना दुवै लगानीकर्ताले केवाइसी फारम भरेको भोलीपल्ट मात्रै कारोबार गर्न पाउने व्यवस्था रहेको छ। जसले तत्कालै कारोबार गर्न नपाएका हुन्।

नयाँ प्रविधिमा झनै चाँडो कारोबार गर्न पाउने आशा गरेका लगानीकर्ताले कारोबार गर्न थप एक दिन पर्खनु परेको भन्दै गुनासो गरेका छन्। यसै गरी पूराना लगानीकर्ताको केवाइसी अद्यावधिक  समेत नेप्सेले आफै गर्न सुरु गरेको छ। ब्रोकर कम्नीले अनुरोधमा नेप्सेले भेरिफार्इ गरेर मात्रै केवाइसी अद्यावधिक गर्न सुरु गरेको छ। जसले थप समय लाग्न थालेको हो।

एउटै व्यतिको फरक फरक नागरिकता नम्बर राखेर छुट्टाछुट्टै ब्रोकर कम्पनीबाट खाता खोलेको भेटिएपछि नेप्सेले कडाइ गरेको जनाएको छ।एउटै व्यक्तिको फरक/फरक नागरिकता नम्बर र संस्थाको फरक फरक दर्ता नम्बर राखेर केवाइसी फारम भर्दा भिन्दा भिन्दै युसीसी आउने भएकोले कडार्इ गर्नु परेको नेप्सेका एक कर्मचारीले बताए।यसरी कडाइ नगरे दोस्रो बजारमा नक्कली कारोबारीले चलखेल गर्न सक्ने उनको भनाइ छ।

हाल नेप्सेलेनै अद्यावधिक गरिरहेको केवाइसी केहिदिनपछि ब्रोकर कार्यालयबाटै गराउने व्यवस्था गरिने ती कर्मचारीले बताए।अनलाइन कारोबार सहज नभएसम्म नेप्सेलेनै केवाइसि अद्यावधिक गर्ने ती कर्मचारीले भनाइ छ। लगानीकर्ताबाट अनलाइन कारोबार गर्न नपाएको गुनासो आएपछि नेप्सेले केवाइसी अद्यावधिक गर्दै युसीसी लिन यस अघि नै आग्रह गरेको छ।

अनलाइनमा शेयर कारोबार गर्न युसीसी अनिवार्य चाहिन्छ। युसीसी प्राप्त गर्न लगानीकर्ताले ब्रोकर कार्यालयमा केवाइसी फारम भर्नुपर्छ। केवाइसी फारम भर्दा व्यक्तिगत लगानीकर्ताले ग्राहकको नाम,ग्राहकको कोड ,जन्म मिति, नागरिकता प्रमाणपत्र जारी भएको मिति, नागरिकता नम्बर र नागरिकता जारी भएको जिल्ला अनिवार्य खुलाउनु पर्ने नेप्सेले जनाएको छ।

यसैगरी संस्थागत लगानीकर्ताको हकमा संस्थाको नाम,ग्राहकको कोड ,संस्था दर्ता मिति र संस्था दर्ता नम्बर राख्न नेप्सेले भनेको छ।