बैंकका सिइओको काम अध्यक्षले गर्न थाले,  ‘राष्ट्र बैंकका हाकिमबाट जागिरका लागि उच्च दवाव’

बिजमाण्डू
२०७५ कात्तिक २८ गते १५:२९ | Nov 14, 2018
बैंकका सिइओको काम अध्यक्षले गर्न थाले,  ‘राष्ट्र बैंकका हाकिमबाट जागिरका लागि उच्च दवाव’

काठमाडौं। नेपाल राष्ट्र बैंकका पुर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ क्षेत्रमा 'प्रोफेसनल इथिक्स' लाई नाघ्ने काममा नियन्त्रण नआएको बताएका छन्। नेशनल बैंकिङ इन्ष्टिच्युटले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै क्षेत्रीले वाध्यताबश पनि इथिक्स नाघ्ने घटना भइरहेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकमा हुँदाको आफ्नो अनुभव सुनाउँदै उनले नैतिक आचरण उच्च नराख्दा 'इथिक्स' नाघ्ने कुराहरु भइरहनेसमेत बताए। 'दसैंमा रक्सीको बोतल गिफ्ट लिने कुरा होस् या तिहारमा मिठाइ' उनले भने, 'भनसुनमा जागिर लाउने कुरा हेर्दा सानो लागे पनि यसले निर्णय क्षमतालाई प्रभावित पार्न सक्छ।'

उनले सानातीना गिफ्ट लिने कुरामा आफू पनि चुकेको बताउँदै त्यो गिफ्टका कारण निर्णय भने प्रभावित नगरेको दावीसमेत गरे। उनले राष्ट्र बैकका कर्मचारीबाट बैंक तथा वित्तीय संस्थामा आफ्ना नातेदारलाई जागिर ख्वाउन दवाव दिने  गरिएको पनि सुनाए। 'नियमन गर्ने निकायकाले भनेको नमान्न पनि गाह्रो' उनले भने, 'मान्दा पनि इथिक्सको बिरुद्ध हुन्छ। तर यस्तो दवावमा पर्न हुँदैन।'

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले बैंकहरुमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको बताए। 'यही प्रतिस्पर्धाका कारण अहिले समस्या भएको हो' उनले भने, 'यस्तो अस्वस्थ प्रतिस्पर्धामा लाग्दा जोखिम निम्तिन सक्छ।'

ऐनले ब्यवस्थापन र सञ्चालक समितिबीचको काम बारे स्पष्ट किटान गरिदिए पनि अध्यक्षले कार्यकारी भूमिका खेलिरहेको बताए। 'आफुलाई मनपरेको सिइओ राख्ने अनि आफुले भनेजस्तो गर्न लागउने भइरहेको छ' उनले भने, 'विगतमा सञ्चालक समितिले ब्यवस्थापन हेर्दा समस्या भएको थियो। त्यस्तो समस्या अहिले पनि देखिन सक्छ।'