नेप्से सूचक थोरै बढेपनि कारोबार रकममा अझै सुधार भएन, अनलाइन प्रणालीमा बानी पार्दै लगानीकर्ता

बिजमाण्डू
२०७५ कात्तिक २८ गते १५:४६ | Nov 14, 2018


काठमाडौं। साताको सुरुवातदेखि नै नयाँ अनलाइन कारोबार प्रणालीको अलमलमा परेको शेयर कारोबार बुधबार थोरै सुधारिएको छ।
कारोबार मापक सूचक झिनो अंकले बढेको भए पनि कारोबार रकममा भने अझै सुधार देखिएको छैन।  

Tata
GBIME
Nepal Life

बुधवार शेयर बजार ०.९८ अंकले बढेर १२०८.५६ अंकमा उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले बढेर २५७.०६ अंकमा उक्लिएको छ।

बुधबार १ सय ४४ कम्पनीका सात लाख ८५ हजार कित्ता शेयर १७ करोड ८३ लाख रुपैयाँको कारोबार भयो।

इन्टरनेट प्रविधिबाट कारोबार सुरु हुनुअघि औसत कारोबार २५ करोडमाथि हुने गरेको थियो। अनलाइन कारोबार सुरु भएपछि कारोबार रकममा प्रभाव परेको छ।

अनलाइन कारोबारमा देखिएको अलमलले सूचक र कारोबार रकम दुबैमा प्रभाव परेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।

अनलाइन कारोबार सुरु भएदेखिनै लगानीकर्ता युसिसिको झमेलामा परेका कारण बजार असामान्य भएको उनको ठहर छ।

अनलाइनले बजारमा सकारात्मक प्रभाव पर्नु पर्ने हो तर बजारमा अनलाइनलाई सही ढङ्गले नल्याइँदा सोचेजस्तो नभएको उनले बताए।

बिस्तारै लगानीकर्ता अनलाइन शेयर कारोबारमा अभ्यस्त हुँदै गएकोले बजारमा सकारात्मक प्रभाव पर्ने उनको अनुमान छ।  

उपसूचक मिश्रित देखिएका छन्। नौ समूहको कारोबारमा पाँच समूह बढेका छन् भने चार समूह घटेका छन्। सबैभन्दा बढी निर्जीवन बीमा समूह ०.९१ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा बढी ०.५४ प्रतिशतले घटेको छ।

बुधवार सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सका शेयरधनीले करिब चार प्रतिशत कमाए। सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले गुमाए।