मोबाइल सेवामा नेपाल टेलिकमले एनसेललार्इ उछिन्यो, अध्ययन भन्छ-‘टेलिकमको मोबाइल सेवा उत्कृष्ट’

बिजमाण्डू
२०७५ कात्तिक २८ गते १५:५६ | Nov 14, 2018
मोबाइल सेवामा नेपाल टेलिकमले एनसेललार्इ उछिन्यो, अध्ययन भन्छ-‘टेलिकमको मोबाइल सेवा उत्कृष्ट’


काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले गरेको अध्ययनमा नेपाल टेलिकमको मोबाइल सेवा उत्कृष्ट पाइएको छ। तीन वटा मोबाइल सेवा प्रदायकबीच प्राधिकरणले गरेको अध्ययनमा सरकारको स्वामित्वको मोबाइल सेवा उत्कृष्ट पाइएको हो।

Tata
GBIME
Nepal Life

प्राधिकरणले चारवटा मापदण्ड बनाएर गरेको अध्ययनमा टेलिकमको सेवा उत्कृष्ट पाइएको थियो।प्राधिकरणका अनुसार कल स्थापित हुने दर, कल स्थापित हुन लाग्ने समय, सम्पर्क विच्छेद हुने दर र कल स्थापित नहुने दरको मापदण्ड बनाएर अध्ययन गरेको थियो।

यो चार वटा मापदण्डमा नेपाल टेलिकमको सेवा उत्कृष्ट पाइएको हो। प्राधिकरणले  कमलादी, पुतली सडक, सिंहदरवार, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जैसीदेवल, वसन्तपुर, क्षेत्रपाटी, असन, नयाँ सडक, रत्नपार्क, जमल, पकनाजोल सोह्रखुट्टे, अनामनगर, विजुलीबजार, नयाँ बानेश्वर, थापागाउँ, मिलनचोक, बत्तीसपुतली, पुरानो वानेश्वर, मैतिदेवी, घट्टेकुलो, डिल्लीबजार, कमलपोखरी, नक्साल, नागपोखरी, गैरीधारा, टंगाल, भाटभटेनी, विशालनगार, गहनापोखरी, हाँडीगाउँ, भत्केको पुल र मित्रपार्क क्षेत्रमा मोवाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो। टेलिकमपछि मात्रै निजी सेवा प्रदायक एनसेलको सेवा रहेको पाइएको छ। सबैभन्दा खराबमा स्मार्ट टेलिकमको सेवा रहेको अध्ययनमा देखिएको छ।

प्रतिवेदन अनुसार नेपाल टेलिकमको कल सफलताको दर ९८.२६ प्रतिशत छ । एनसेलको कल सफलताको दर ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९२.३९ प्रतिशत छ । त्यस्तै, नेपाल टेलिकमले कल स्थापित हुन लाग्ने समयको न्यूनतम स्तर ५ सेकेन्ड अथवा सोभन्दा कम तोकेको छ । नेपाल टेलिकमको नेटवर्कमा कल स्थापित हुन ११.४८ सेकेन्ड, एनसेलमा ४.४८ सेकेन्ड र स्मार्ट टेलिकममा १३.७१ सेकेन्ड लाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणले आफै सम्पर्क विच्छेद हुने न्यूनतम दर २ प्रतिशत भन्दा कम हुनुपर्ने स्तर निर्धारण गरेको छ । अध्ययनको क्रममा तीनवटै सेवा प्रदायकको सम्पर्क विच्छेद हुने दर शून्य प्रतिशत पाइएको प्रतिवेदनमा उल्लेख छ । कल स्थापित नहुने दरमा स्मार्ट टेलिकम सबैभन्दा अगाडि रहेको छ । अध्ययन प्रतिवेदन अनुसार, कल स्थापित नहुने दरमा नेपाल टेलिकमको १.७४ प्रतिशत, एनसेलको २.२३ प्रतिशत र स्मार्ट टेलिकमको ७.६१ प्रतिशत रहेको छ । प्राधिकरणले यस्तो कल स्थापित नहुने न्यूनतम स्तर २ प्रतिशत वा सो भन्दा कम हुनुपर्ने भनेको छ ।

अध्ययनमा समावेश गरिएका चार वटा स्तर अनुसार नेपाल टेलिकमको मोवाइल सेवाको गुणस्तर उत्कृष्ट रहेको छ । दोस्रोमा एनसेल र तेस्रोमा स्मार्ट टेलिकम रहेको छ ।

कल सक्सेस रेटमा सबै असफल
प्राधिकरणले तोकेको कल सक्सेस रेटमा सबै सेवा प्रदायक असफल देखिएका छन्। उत्कृष्ट भनिएको नेपाल टेलिकमले समेत कल सक्सेस रेट भेट्याउन सकेको छैन। प्राधिकरणले कल सफलताको न्यूनतम स्तर ९९ प्रतिशत तोकेको छ ।

प्राधिकरणले सेवाको गुणस्तर सुधार्न निश्चित समय दिने र त्यो समयभित्र सुधार नगरे जरीवानासहितको कार्वाही गर्ने प्रवक्ता मीनप्रसाद अर्यालले बताए।