सञ्चयकर्ताका लागि स्वास्थ्य बीमामा यस्ता छन् सुविधा, यसरी पाइन्छ लागेको उपचार खर्च

बिजमाण्डू
२०७५ कात्तिक २८ गते १८:१९ | Nov 14, 2018
सञ्चयकर्ताका लागि स्वास्थ्य बीमामा यस्ता छन् सुविधा, यसरी पाइन्छ लागेको उपचार खर्च

काठमाडौं। कर्मचारी सञ्चय कोषले आफ्नो सञ्चयकर्ताको लागि एक लाख रुपैयाँको स्वास्थ्य बीमा गराउने भएको छ। साधारण औषधोपचारको लागि एक लाख रुपैयाँ र नेपाल सरकारले तोकेका घातक रोगको उपचारको लागि १० लाख रुपैयाँसम्मको बीमा हुने छ। 

Tata
GBIME
Nepal Life

कोषले राष्ट्रिय बीमा कम्पनीमार्फत मंसिर १ गतेदेखि लागु हुने गरि यो बीमा योजना ल्याएको हो। बीमा समितिबाटै सञ्चयकर्ताको स्वास्थ्य बीमा गराउने गरि कम्पनीले स्वीकृति पाएको छ। कोषले अतिरिक्त उमेर हद वा पदावधिका कारणले पदमुक्त भर्इ सो मितिले ६ वर्षसम्म कोषबाट रकम भुक्तानी नलिएका सञ्चयकर्ताले पनि यो सुविधा पाउने कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए। 

स्वास्थ्य बीमाको लागि कोषले वार्षिक रुपमा प्रति सञ्चयकर्ता ४२० रुपैयाँको दरले बीमा शुल्क भुक्तानी लिने छ। यस बापत सुरुमा कोषले राष्ट्रिय बीमा कम्पनीलार्इ २५ करोड २० लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नेछ। यदि अवकास प्राप्त सञ्चयकर्ताले यस बीमा कार्यक्रमलार्इ निरन्तरता दिन चाहेमा वार्षिक ४२० रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्ने गौतमले बताए।

बुधबार भएको संझौता अवको तीन वर्षसम्म कायम हुने कोषले जनाएको छ। तीन वर्षपछि कम्पनीको प्रस्तुति तथा यस कार्यक्रमको प्रभावकारितालार्इ हेरेर निरन्तरता दिने गौतमले जानकारी दिए। 

बीमा कार्यक्रमबाट के के पाइन्छ सुविधा 
सञ्चय कोषले यो बीमा कार्यक्रम लागु गरेसँगै आगामी मंसिर १ गतेदेखि एक वर्ष भरीमा साधारण रोग लागेर उपचार गराउँदा अधिकतम एक लाख रुपैयाँसम्मको ‌औषधोपचारको सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीसँग भएको सझौता अनुसार बीमित सञ्चयकर्ताले न्युनतम ३ हजार वा वास्तविक खर्चको १५ प्रतिशत कट्टा गरि दाबी भुक्तानी पाउन सक्नेछन्। 

बिरामी सञ्चयकर्ताले एक वर्षमा एकै पटक वा पटक पटक गरेर सर्जेन वा एनिथेस्टिस्टको दस्तुर अप्रेसन थिएटर बापतको खर्चमा अधिकतम ३० हजार रुपैयाँसम्म मात्रै दाबी भुक्तानी पाउने छन्। त्यस्तै चिकित्सकको जाँच शुल्क एक्सरे वा स्पेस्लिस्ट चार्ज वा प्याथोलोजी तर्फको शुल्कको हकमा एक वर्षमा अधिकतम २० हजार रुपैयाँ र एक पटकमा अधिकतम १० हजार रुपैयाँसम्मको दाबी भुक्तानी पाउने व्यवस्था रहेको छ। 

सर्जिकल सामाग्री खरिद गर्नु पर्दा बीमितले ८ हजार रुपैयाँ नबढ्ने गरि दाबी प्राप्त गर्न सक्छन्। अस्पताल भर्ना भइ बस्नु परेमा बिमितिले प्रति दिन २ हजार रुपैयाँ नबढ्ने गरि एक वर्षको अवधिमा २५ हजार रुपैयाँसम्मको दाबी भुक्तानी पाउने व्यवस्था गरिएको छ। 

बिमितले ‍औषधि खरिद गर्दा एक पटकमा अधिकतम ५ हजार रुपैयाँसम्मको र वार्षिक रुपमा अधिकतम १५ हजार रुपैयाँसम्म पाउने छन्। प्रशुति सेवाको लागि वर्षमा दुर्इ पटक र एक पटकमा ४५०० रुपैयाँसम्मको सिजरियनको सुविधा प्राप्त गर्न सक्छन्। 

दाबी भुक्तानी कसरी लिने 
बिरामी सञ्चयकर्ताले नेपालका जुनसुकै अनुमति प्राप्त अस्पताल, स्वस्थ्य चौकि, नर्सिङ होम लगायतका स्थानबाट उपचार गराउँदा दाबी भुक्तानी पाउने छन्। तर सामान्य औषधी पसलबाट लिइएको स्वस्थ्य सुविधाको भने दाबी भुक्तानी पाउने छैनन्। 

यो बीमा लेख जारी भएको तीस दिनभित्र दुर्घटना बाहेक साधारण औषधोपचार र घातक रोगको हकमा ९० दिन प्रतिक्षा अवधि तोकिएको छ। यस अवधिमा बीमा सुविधा प्राप्त गर्न सकिँदैन। तर यो बीमा लेख नविकरण गर्दाको वेलामा प्रतिक्षा अवधि लागु हुने छैन। 

दाबीको लागि अस्पतालबाट डिस्चार्ज भएको ३५ दिन र बिरामी भएको ६० दिन भित्रमा बीमा कम्पनीमा सम्पर्क गर्नु पर्नेछ। यसमा सञ्चयकर्ताले सञ्चय कोषबाट आफु सञ्चयकर्ता भएको प्रमाणित गराइ पेश गर्नु पर्ने हुन्छ। कम्पनीले पनि बिमितिले आवस्यक कागजपत्र बुझाएको मितिले १५ देखि ४५ दिन भित्रमा दाबी भुक्तानी गरिसक्नु पर्नेछ। 

दाबीको लागि तोकिएको ढाँचामा निवेदन तथा फारम पुर्ण रुपमा भरेर अस्पतालको छाप, सम्बन्धित डाक्टरको दस्तखत र एनएमसी नम्बर सहितको छाप भएको फारम बुझाउनु पर्नेछ। यसका साथै अस्पतालबाट प्राप्त रिपोर्ट तथा बिल समेत पेश गर्नु पर्छ। 

निम्न उपचार तथा उपकरण खरिदका लागि दाबी भुक्तानी पाइने छैन
दुर्घटनाबाट उपचार गर्नु पर्ने अवस्थामा बाहेक दाँतको उपचार वा अप्रेसन, आँखाको सामान्य जाँच, चस्मा खरिद, श्रवण उपकरण खरिद, कस्मेटिक सर्जरी, दुर्इ वा दुर्इभन्दा बढि सिजरियन, मादक पदार्थ तथा लागु पदार्थ सेवन तथा अनधिकृत तवरबाट अन्य औषधिको सेवनका कारण सिर्जित रोगहरु तथा चोटपटकको उपचारमा बीमा दावी गर्न पाइँदैन।

यसैगरी दुर्इ मुलुक बीच भएको घोषित वा अघोषित लडार्इ, आम हड्ताल, हुलदंगामा सहभागी भएको अवस्थामा भएको चोट पटक वा उपचार खर्च, बीमालेख प्रारम्भ हुनु भन्दा अगाडि लागेका रोगको उपचार क्रममा भए गरेका खर्चहरु, आयुर्वेदिक उपचार खर्च, चिकित्सकको अनुमति विना विदेशमा गरिएका उपचार खर्च पनि दावी गर्न पाइँदैन।

पुनः उपचार गराउँदा भएका खर्च, मानसिक खर्च, तौल बढाउन वा घटाउन प्रयोग हुने ओषधी, सौन्दर्य बढाउन गरिने उपचार, प्लाष्टिक सर्जरी, चिकित्सकको आफ्नो ल्यावमा वा क्लिनिकमा गरेका सर्जरी, साधारण मेडिकल चेकअप र छाला सम्बन्धि एलर्जी, सावुनको प्रयोग, लोसन आदिको प्रयोगलार्इ यो बीमाले समेट्ने छैन। 

सञ्चयकर्ताको आफ्नो कार्यअवधिमा पनि हुन सक्ने जोखिमको न्युनीकरणको लागि कोषले यस्तो बीमा कार्यक्रम ल्याएको कोषमा प्रसासक तुलसीप्रसाद गौतमले जानकारी दिए। भोलिका दिनमा पनि कोषले आफ्ना सञ्चयकर्ताको हितका लागि आवश्यक सहुलियत पुर्ण कार्यक्रम लागु गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे।