स्वीकृत भएको ऋण ‘क’ वर्गकाले दिन नसकेपछि बाणिज्य बैंकका ऋणी ‘ख’ वर्गमा

बिजमाण्डू
२०७५ कात्तिक २९ गते ०८:५७ | Nov 15, 2018
स्वीकृत भएको ऋण ‘क’ वर्गकाले दिन नसकेपछि  बाणिज्य बैंकका ऋणी ‘ख’ वर्गमा

काठमाडौं। पोखराका पर्यटन ब्यवसायीले एक बाणिज्य बैंकबाट होटल बिस्तारका लागि ८ करोड रुपैयाँको ऋण स्वीकृत गराएका थिए।

Tata
GBIME
Nepal Life

उनले काम सुरु गरेपछि खातामा पैसा हालिदिन ब्राञ्च म्यानेजरलाई आग्रह गरे। उनले अहिले पैसा छैन, हाल्न सकिँदैन भन्ने जबाफ दिए। ती ब्यवसायीले काठमाडौंमा रहेका ऋण विभाग प्रमुख, डेपुटी सिइओ, सिइओ सबैलाई फोन घुमाए। 

तर, कसैले पनि फोन उठाएनन्। उनी प्लेन चढेर सिइओ भेट्न काठमाडौं आए। सिइओले समय दिएनन्। स्वीकृत भइसकेको ऋण पनि नपाएपछि उनी निरास भए। 

यो पनि पढ्नुस्: अप्ठेरोमा परेका बाणिज्य बैंकलाई विकास बैंकको साथ, वाणिज्य बैंकको ऋण  धमाधम किन्न थाले

पैसा नभएर काम अड्किएपछि उनले 'ख' वर्गको महालक्ष्मी विकास बैंकमा सम्पर्क राखे। केही दिनमै ऋण स्वीकृत भयो। त्यहाँबाट ऋण लिएर उनले आफ्नो प्रोजेक्टको बिस्तार सुरु गरिसकेका छन्। 

पोखराकै अर्का ब्यवसायीलाई एक बाणिज्य बैंकले स्वीकृत भएको ऋण दिन सकेन। 'अर्को साता, अर्को साता' भन्दै एक महिना सार्यो। ती ब्यवसायी पनि १० करोड रुपैयाँ ऋण लिन विकास बैंकको शरणमा पुगे। विकास बैंकले उनको खातामा पैसा हाल्दिसकेको छ। 

यो पनि पढ्नुस्: बाणिज्य बैंकहरुले बजार विगारिरहँदा विकास बैंकहरुमा देखियो संयमता

यी उदाहरणहरुले बाणिज्य बैंकहरुले स्वीकृत भएको ऋण पनि दिन नसकेर विश्वास गुमाउँदै गएको देखिन्छ। 'अहिले बाणिज्य बैंकहरुका पुराना ग्राहकहरु पनि विकास बैंकहरुमा आउन थालेका छन्' डेभलपमेन्ट बैंकर्स संघका पूर्व अध्यक्षसमेत रहेका महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बिजमाण्डूसँग भने, 'अहिले हामीले राम्रा ऋणीहरुलाई छानीछानी पैसा दिन पाएका छौं।'

परियोजनामा आधारित काम गर्नेहरु विकास बैंक धाउन थालेपछि महालक्ष्मी विकास बैंकले ब्यक्तिगत प्रयोजनका ऋण दिन बन्दै गरिसकेको उनले सुनाए।

'परियोजनामा जाने ऋण लामो समयका लागि हुन्छ। त्यो उत्पादनमूलकमा हुन्छ' उनले  सुनाए, 'अहिले हामीले ब्यक्तिगत प्रयोजनका ओभरड्राफ्ट तथा आवधिक ऋण दिन बन्दै गरिसकेका छौं।'

बैंकहरुले ऋण दिन नसकेर विश्वास गुमाउँदा विकास बैंकहरुतिर ग्राहकको विश्वास बढ्न थालेको ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बताउँछन्। 'हामीले हुन्छ भनेर अगाडि बढाएको फाइललाई ऋण स्वीकृत गरिरहेका छौं' उनले भने, 'विकास बैंकमा आएका ऋणीहरु खाली हात फर्कनु परेको छैन।'

ब्याज दरमा पनि विकास बैंक र बाणिज्य बैंकबीच अन्तर हुन छाडेपछि 'क' वर्गमा काम गरिरहेका ऋणीहरुको रोजाइमा 'ख' वर्गको विकास बैंक पर्न थालेको छ। विगतमा बाणिज्य बैंकहरुको भन्दा २/३ प्रतिशतसम्मै विकास बैंकमा ऋणको ब्याज महँगो हुन्थ्यो।

तरलता अभावका नाममा अहिले बाणिज्य बैंकहरुले विकास बैंकहरुलाई पनि उछिनेर ब्याज बढाएका छन्। 'बैंकले १३/१४ प्रतिशतसम्म ऋणको ब्याज पुर्याएका छन्' लामिछानेले भने, 'विकास बैंकहरुमा साढे १२/१३ प्रतिशतसम्ममा ऋण मजाले पाइन्छ।' उनका अनुसार, भनेको बेलामा उचित ब्याजमा ऋण पाइने भएपछि बैंकका पुराना ग्राहकहरु विकास बैकमा आउन थालेका छन्।

विकास बैंकहरुले बाणिज्य बैंकहरुको ऋणसमेत किन्न थालिसकेका छन्। अझै १५ अर्ब रुपैयाँसम्मको ऋण खरीद गर्ने क्षमता रहेको विकास बैकहरुको दावी छ।

केही बैंकले भने अब ऋण किन्ने भन्दा पनि बाणिज्य बैंकका पुराना र राम्रा ऋणीहरुलाई तानेर सँधैका लागि आफ्नो बनाउने रणनीति बुन्न थालेका छन्।

'राम्रो क्लाइन्टहरुलाई छानिछानी ल्याउने योजना छ' लामिछानेले भने, 'विकास बैंकहरुले पनि प्रतिस्पर्धि ब्याजमा मागेका बेला ऋण दिन्छन् भन्ने विश्वास त्यस्ता ऋणीहरुमा बढ्दै गएको छ।'