बैंक तथा वित्तीय संस्थाका तीन वटा संगठन गाभिएर महासंघ बन्दै, एनबिएले एजिएममा प्रस्ताब लाँदै

बिजमाण्डू
२०७५ कात्तिक २९ गते ११:५२ | Nov 15, 2018
बैंक तथा वित्तीय संस्थाका तीन वटा संगठन गाभिएर महासंघ बन्दै, एनबिएले एजिएममा प्रस्ताब लाँदै

काठमाडौं। बैंक तथा वित्तीय संस्थाका तीन वटा छाता संगठन गाभिएर महासंघ बन्ने भएको छ। अहिले छुट्टाछुट्टै संस्था बनाएर संगठित भएका नेपाल बैंकर्स संघ, विकास बैंक संघ र फाइनान्स कम्पनीहरु महासंघ बनाएर त्यसबाटै सरोकारवाला निकायहरुसँग 'डिल' गर्ने निष्कर्षमा पुगेका हुन्।

Tata
GBIME
Nepal Life

'हामीले छलफल सुरु गरिसकेका छौं। सबै साथीभाइहरु सकारात्मक हुनु हुन्छ' बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'सबैको समान उद्देश्य छ। एउटै कानुन र निर्देशनले गाइड पनि गर्छ। त्यसैले एकै ठाउँमा संगठित हुँदा ठिक हुन्छ भन्ने कुरा हो।'

बैंकर्स संघले कार्यसमितिबाट गाभिएर ठूलो संगठन बन्ने निर्णय गराइसकेको छ। आगामी साधारणसभामा अध्यक्ष ढुङ्गानाले गाभिएर एउटै बन्ने प्रस्ताब लिएर जाने बताए।

अहिले 'घ' वर्गका लघुवित्त संस्थावाहेक 'क', 'ख' र 'ग' वर्गका संस्थाहरुलाई एउटै एकिकृत निर्देशनबाट राष्ट्र बैंकले नियमन गरिरहेको छ। सबैका साझा एजेण्डा र मुद्दाहरु पनि मिल्दाजुल्दा छन्। 'सबैको समान उद्देश्य हो भने किन भिन्दाभिन्दै बस्ने? एकै ठाउँमा किन नबस्ने भन्ने प्रस्ताव हो' ढुङ्गानाले भने, 'सबै जना एकिकृत हुँदा उनीहरुले उठाउने मुद्दा पनि शक्तिशाली हुन्छ र बिचार पनि प्रभावकारी हुन्छ।'

बैंकर्स संघको साधारणसभा अबको १५ दिनपछि हुँदैछ। साधारणसभाले रिक्त रहेको एक जना सदस्यलाई चयन गर्ने छ। त्यनही साधारणसभामा अध्यक्षको प्रस्ताव पारित भए तीन वटै संस्था गाभिएर एउटै बन्ने प्रकृयाले गति लिने छ।

फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि सबै एकै ठाउँ भएर मिलेर जाँदा राम्रो प्रभाव पर्ने बताए। 'हामीलाई प्रस्ताब आइसकेको छ। मिल्नु पर्छ भन्ने कुरामा द्वीविधा छैन' उनले भने, 'विशेष साधारणसभा डाकेर गाभिएर जाने कुरालाई पारित गराउन सकिन्छ।' संघको साधारणसभा केही महिनाअघि मात्रै सकिएको थियो।

विकास बैंक संघमा पनि प्रस्ताव गइसकेको छ। संघका कामु अध्यक्ष गोबिन्दप्रसाद ढकालले अनौपचारिक रुपमा प्रस्ताव आएको बताउए। 'अनौपचारिक प्रस्ताब आएको छ। तर हाम्रो कार्य समितिमा यस बारेमा कुराकानी भएको छैन' उनले भने, 'यस बारेमा कार्यसमितिमा प्रस्ताव लैजान्छु। कार्यसमितिले निर्णय गरेमा साधारणसभामा अनुमोदन गराउन सकिन्छ।'

बैंकर्स संघको अध्यक्ष राजनसिंह भण्डारी हुँदा सबै संस्था गाभेर एउटै बनाउने पहल भएको थियो। त्यसबेला तीन वटै संस्थाहरुले विज्ञप्ति पनि साझा रुपमा सार्बजनिक गर्न थालिसकेका थिए। भण्डारी अध्यक्षबाट बाहिरिएपछि हराएको मुद्दा ढुङ्गानाले व्यूँताएर अगाडि बढाएका हुन्। 

'अब हामी तीन वटै संस्थाका प्रतिनिधिहरु एक पटक बसेर गम्भिर ढंगबाट छलफल गर्छौं' तुलाधरले भने, 'त्यसपछि कसरी गाभिने भन्ने बारेमा आवश्यक मोडालिटी बनाउँछौं।'

तीन वटा संस्था एउटै भएर जाँदा बैंक तथा वित्तीय संस्थाहरु मर्ज गर्न पनि सहज हुने बैंकरहरुको विश्लेषण छ। तरलता अभाव, ब्याज दरलगायत अन्य समसामयिक मुद्दामा एकै थलोमा छलफल हुँदा समग्र प्रणालीका बारेमा अवगत भएर आवश्यक निर्णय लिन पनि सकिन्छ। 

'यस्ता संगठनहरु मर्ज भएर जाँदा केन्द्रीय बैंकलाई पनि डिल गर्न सजिलो हुन्छ' राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक वासुदेव अधिकारीले भने, 'निरन्तर अन्तर्कृया हुँदा मनमिलेका बैंक तथा वित्तीय संस्थाहरु मर्ज गर्नका लागि एउटा छलफलको प्लेटफर्म पनि बन्छ।'