सूचना प्रविधिमा स्थानीय तह : दुर्गममा इन्टरनेट समस्या, गाउँ बाहिर गएका माझ प्रभावकारी

विधुर ढकाल/बिजमाण्डू
२०७५ कात्तिक २९ गते १४:२७ | Nov 15, 2018
सूचना प्रविधिमा स्थानीय तह : दुर्गममा इन्टरनेट समस्या, गाउँ बाहिर गएका माझ प्रभावकारी

काठमाडौं। सोमबारदेखि रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले सूचना प्रविधिको प्रयोग र पहुँचलाई ध्यान दिँदै आफ्नो छुट्टै मोबाइल एप सञ्चालनमा ल्यायो। साथै गाउँपालिकाले अडियो सूचना सेवालाई समेत विस्तार गरेको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए।

Tata
GBIME
Nepal Life

‘सम्पूर्ण सेवाग्रहीमा सूचनाको हक सूनिश्चित गर्नु हामी सबैको दायित्व हो। यसलाई मध्यनजर गर्दै बढ्दो प्रविधिको प्रयोग गरी सेवालाई प्रभावकारी बनाउनका लागि मोवाइल एप्सको विकास गरेका हौँ,’ उनले भने, ‘एप्समार्फत सेवाग्राहीले कार्यालयको सूचना तथा जानकारी आफ्नै मोवाइलमा प्राप्त गर्न सक्ने छन्।’

गाउँपालिकाले एन्ड्रोयड मोबाइल नभएकाहरुलाई ध्यानमा राखेर अडियो सूचना सेवासमेत सुरु गरेको छ।

‘सूचना प्रविधिको प्रयोग गर्दै सेवालाई प्रभावकारी बनाउने हाम्रो उद्देश्य हो त्यसै अनुरुप हामी अगाडि बढेका छौँ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले भने, ‘सामान्य समस्या लिएर सेवाग्राहीहरु गाउँपालिकाको कार्यासम्म आउनुपर्ने वाध्यत नहोस् भनेर हामीले सेवा सुरु गरेका हौँ।’

कञ्चन गाउँपालिका मात्र होइन अहिले स्थानीय तहरुले आफ्नो एप लञ्च गर्न थालेका छन्। मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नै लगानीमा ९ महिना अगाडि एप निर्माण गरी लञ्च गरेको छ। 

गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानका अनुसार सुरुमा आफ्नै लगानीमा मोबाइल एप निर्माण गरी लञ्च गरेको पहिलो पोस्टलाई जानकारी दिए। गुगल प्ले स्टोरमा आयुश मैनालीको नाममा दर्ता भएको यो एप निर्माणमा गाउँपालिकाले लगानी गरेको उनले जानकारी दिए। 

हाल मन्त्रालयले नै एप निर्माण गरी हस्तान्तरण गर्ने भएपछि यो एपमा अपडेट गर्न कम गरेको उनले बताए। 

यता वालिङ नगरपालिकाले आफ्नो एप मुख्य सचिवको हातबाट लञ्च गर्ने तयारी गरेको छ। नगरपालिका दिलिपप्रताप खाँडका अनुसार एप तयार भइ सबै डाट इन्ट्री गरिसकिएको छ। 

‘एप तयार भइसकेको छ। हामीले मुख्य सचिवको हातबाट लञ्च गर्ने तयारी गरिरहेका छौँ। उहाँको समय नमिलेका कारण ढिलाइ भएको हो। अर्को सातासम्म लञ्च भइसक्छ,’ उनले भने। 

वालिङ नगरपालिकाले सबै सेवा डिजिटल गर्दै एपबाट प्राप्त गर्न सकिने बनाएको उनले जानकारी दिए। ‘अब सेवाग्राही कुनै पनि सेवा लिनका लागि कार्यालय सम्म आउनुपर्ने वाध्यताको अन्त्य गर्छौँ,’ पहिलोपोस्टसँग टेलिफोनमा उनले भने, ‘हामीले केही वर्षभित्र नगरपालिकालाई पेपरलेस बनाउने छौँ।’ 

स्थानीय तहले सेवा प्रवाहलाई डिजिटल बनाउँदै सूचना प्रविधिको प्रयोगलाई तिब्रता दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा स्थानीय तहहरुले डिजिटल सेवा प्रवाहलाई अगाडि बढाएका हुन्। 

सबै स्थानीय तहहरुले आफ्नो आधिकारिक वेवसाइट सञ्चालनमा ल्याएका छन्। दोस्रो चरणमा स्थानीय तहले आफ्ना सेवा तथा सूचनाहरुको जानकारी मोबाइल एपबाट दिन थालेका छन्। 

दुर्गममा इन्टरनेटको समस्या
यता दुर्गम गाउँपालिकाहरुले एप लञ्च गरे पनि इन्टरनेटको अभाव तथा कमजोर अवस्थाका कारण प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन। दार्चुला जिल्लाको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीका अनुसार निजी क्षेत्रको सेवा प्रदायकबाट इन्टरनेट जडान गरिएको भए पनि इन्टनेट अवरोध भइरहँदा समस्या भएको छ। ‘नेट त जोडेका छौँ तर भरपर्दो छैन। प्राविधिक कर्मचारीको समस्या नभए पनि इन्टरनेटकै कारण समयमै अद्यावधिक गर्न कठिन छ,’ उनले भने। 

एप्स निर्माण स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक टोलीले तयार पारेको हो। यसमा एप्समा स्थानीय तहकोको जानकारी, सहितका सूचनाहरु उपलब्ध छन्। 

मन्त्रालयले सबै स्थानीय तहका वेबसाइट, मोबाइल एप्स तथा अडियो नोटिस बोर्ड तयार गरी स्थानीय तहलाई हस्तान्तरण गर्न थालेको छ। मन्त्रालयले तयार गरेको एप्सलाई स्थानीय तहका कर्मचारीहरुले नै अपडेट गर्ने छन्।
 
यसरी तयार पारिएको मोबाइल एप्सबाट स्थानीय तहको जानकारी, स्थानीय तहका पदाधिकारी, कार्यपालिकाका सदस्यहरु, कर्मचारीहरुको नाम तथा सम्पर्क नम्बर समेत प्राप्त गर्ने छन्। 

साथै स्थानीय तहमा भएका धार्मिक, तथा पर्यटकीय स्थलहरुको जानकारी, विद्यालय, स्वास्थ संस्था, प्रहरी कार्यालयहरुको जानकारीसमेत उपलब्ध छ। साथै स्थानीय तहभित्रका अत्यावश्यकीय टेलिफोन नम्बरसमेत उपलब्ध छ। 

एप्सको प्रयोगबाट स्थानीय तहले उपलब्ध गराउने सेवाको जानकारी, सेवा दस्तुर जानकारीका साथै आफ्ना गुनासाहरुसमेत दर्ता गराउन सक्ने छन्। त्यस्तै स्थानीय तहका कार्यक्रम बजेट तथा परियोजनाको जानकारीसमेत मोबाइल एप्सबाट उपलब्ध हुने छ।
 
बाहिर रहेकाले प्रयोग गर्छन एप
स्थानीय तहका एपहरुको प्रभावकारिता स्थानीय स्तरमा भन्दा पनि बाहिर बसोबास गर्ने सो क्षेत्रका मानिसहरु बढी देखिएको छ। 
गाउँमा बस्ने मानिसहरुमा प्राविधक ज्ञानको कमी र स्रोत साधनको अभावका कारण गाउँमा रहेका भन्दा अध्ययन र रोजगारका लागि देशका अन्य स्थान र विदेशमा रहेकाहरुले प्रयोग गर्ने गरेका छन्। 

'यहाँका भन्दा बाहिर रहेका मानिसहरुले यसको प्रयोग गरेका छन्,' मुस्ताङ बारागुङ गाउँपालिकाका सूचना तथा आइटी अधिकृत सूर्य तिमिल्सिनाले भने, 'यहाँ नेटको पनि समस्या प्राविधिक ज्ञानको पनि कमी बाहिर रहेकाले धेरै प्रयोग गरेका छन्।'

एपमार्फत् बाहिर रहेका स्थानीयले गाउँपालिकाको काम कारवाही र सेवा सुविधाका बारेमा गुनासो तथा सुझावहरु पठाएका छन्।