आइएफसीले तीन वर्षमा ९० अर्ब लगानी गर्ने, ‘आर्थिक विकासका लागि निजी क्षेत्रमा लगानी आवश्यक’

बिजमाण्डू
२०७५ कात्तिक ३० गते १७:१२ | Nov 16, 2018
आइएफसीले तीन वर्षमा ९० अर्ब लगानी गर्ने, ‘आर्थिक विकासका लागि निजी क्षेत्रमा लगानी आवश्यक’


काठमाडौं। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा निजी क्षेत्रमार्फत् ८० करोड अमेरिकी डलर (करिब ९० अर्ब रुपैयाँ) लगानी गर्ने भएको छ। निजी क्षेत्रमार्फत् नेपालको दीगो आर्थिक विकासमा सहयोग गर्न आइएफसीले आफ्नो लगानी उल्लेख्य बढाउने घोषणा गरेको हो। 

Tata
GBIME
Nepal Life

अहिलेसम्म नेपालमा करिब १५ अर्ब रुपैयाँ लगानी गरेको आइएफसीले आफ्नो लगानीमा वृद्धि गर्ने जनाएको हो। 'विश्व बैंकसँगको छलफलमा नेपालका अर्थमन्त्रीले निजी क्षेत्रलाई अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ, त्यसका अतिरिक्त नेपालमा स्थीर सरकार निर्माण भएकाले लगानीका लागि अवसरहरु पनि सिर्जना भइरहेका छन्,' आइएफसीकी नेपाल, भुटान र भारतका लागि निर्देशक वेन्डी वेर्नरले भनिन्।

नेपालको आर्थिक विकासमा सार्वजनिक क्षेत्रको तुलनामा निजी क्षेत्रको योगदान बलियो रहेको भन्दै त्यसमा थप सहयोग जरुरी रहेको बताइन्।

'हामीले नेपालमा निजी क्षेत्रका लागि अवसर र चुनौति दुवै देखेका छौँ,' नेपाल कन्ट्री प्राइभेट सेक्टर डाइग्नोस्टिक सार्वजनिक गर्दै उनले भनिन्। नेपालमा पर्यटन, जलविद्युत, कृषिजन्य उपजका व्यापारका अतिरिक्त सूचना प्रविधिको क्षेत्रमा लगानीको उच्च संभावना रहेको भन्दै उनले त्यसका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरिन्। 

'विश्वसनीय कर प्रणाली लागट्ठ हुन्छ'
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विश्वसनीय र अनुमानयोग्य कर प्रणाली कार्यान्वयनमा रहेको बताएका छन्। उनले समष्टिगत अर्थतन्त्रको स्थायित्व र विश्वसनीय कर प्रणालीको माध्यमबाट लगानीका लागि आश्वस्त गर्न सरकारले प्रयास गरिरहेको बताए। 

मन्त्री खतिवडाले नेपालमा उत्पादनको गुणस्तरीयता र बजारीकरण चुनौतिपूर्ण रहेको भन्दै त्यसका लागि काम गर्नुपर्ने बताए। 'हामीलाई लगानी र उत्पादन दुवैको गुणस्तरीयता आवश्यक छ,' उनले भने, 'त्यसका लागि लगानी वृद्धि गर्ने र भएको लगानीबाट उत्पादनको वातावरण विकास गर्नुपर्छ।'

अर्थमन्त्री खतिवडाले सामाजिक क्षेत्र र पूर्वाधारमा लगानी वृद्धिका लागि काम गर्नुपर्ने बताए। 'उद्मशीलताको विकास र त्यसबाट दीगो आर्थिक तथा सामाजिक क्षेत्रमा सुधारका लागि काम गर्नुपर्ने छ,' उनले भने। 

खतिवडाले सरकार निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको भन्दै सरकारले लिएका नीतिहरुको समीक्षा गर्न मध्यकालीन समीक्षा गर्ने अवधिसम्म कुर्नुपर्ने उल्लेख गरे। 'हामीले लिएका नीतिहरु कार्यान्वयनका लागि कम्तिमा मध्यकालीन समीक्षासम्म कुर्नुपर्ने हुन्छ,' उनले भने।

उत्पादनबाटै नेपालले आर्थिक वृद्धि गर्छ: विश्व बैंक क्षेत्रीय उपाध्यक्ष
कार्यक्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हार्टविग स्काफरले नेपालले उत्पादनबाटै ६ देखि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताए। उनले नेपाल दीगो आर्थिक विकास गर्ने अवस्थामा पुगेको भन्दै त्यसमा केही चुनौति भने रहेको बताए। 

स्काफरले नेपालमा निजी क्षेत्रलाई लगानी र व्यवसायका लागि केही चुनौति रहेको पनि उल्लेख गरे। 'नेपालमा कानुनी र व्यवहारिक चुनौतिहरु धेरै छन्, त्यसलाई हटाउँदै लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने देखिन्छ,' उनले भने। 

आइएफसीका दक्षिण एसिया क्षेत्रका लागि आइएफसीका अर्थशास्त्री भोल्कर ट्रिकेलले नेपालमा वित्तीय संघीयता कार्यान्वयन चुनौतिपूर्ण रहेको उल्लेख गरे।