दोहोरो ब्यालेन्स सीट बनाउने निगरानीमा, बैंकरलार्इ प्रश्न: घाटामा गएका कम्पनीलार्इ ऋण किन?

बिजमाण्डू
२०७५ मंसिर ४ गते ११:३१ | Nov 20, 2018
दोहोरो ब्यालेन्स सीट बनाउने निगरानीमा, बैंकरलार्इ प्रश्न: घाटामा गएका कम्पनीलार्इ ऋण किन?



काठमाडौं। निरन्तर घाटाको विवरण देखाउने कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण प्रवाह भइरहेको भन्दै निगरानी थालिएको छ।

Tata
GBIME
Nepal Life

कर कार्यालयमा कमजोर कारोबार विवरण देखाएका केही कम्पनीमा ठूलो रकम ऋण गएको देखिएको भन्दै ठूला करदाता कार्यालयले प्रश्न उठाएको छ।बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै कार्यालयले उच्च घाटा देखाएका कम्पनीमा समेत ठूलो रकम ऋण दिइएको भन्दै वित्तीय संस्थाको सम्पत्ति मूल्यांकन प्रक्रियामा पनि प्रश्न उठाएको छ। ऋण लिने क्रममा ऋणीले बैंकमा बुझाएको विवरण र कर कार्यालयमा बुझाएको विवरण फरक देखिएपछि त्यसमाथि प्रश्न उठाइएको हो।

'हामीलाई कमजोर विवरण देखाएका कम्पनीहरुलाई बैंक तथा वित्तीय संस्थाबाट उच्च ऋण प्रवाह भएको देखिएको छ, त्यसमाथि छानबिन गर्छौँ भनेर बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रष्टरुपमा भनेका छौँ,' कार्यालयका एक कर अधिकृतले भने। कार्यालयले व्यवसायिक प्रतिष्ठानबाट दुईथरी वासलात तयार गरी कर कार्यालय र बैंकमा फरकफरक विवरण बुझाएको हुन सक्ने आशंकामा छानबिन गर्ने ती अधिकारीले बताए। 'कम्पनीहरुले दुईथरी वासलात बनाएको हो कि भन्ने आशंका देखिएको छ,' ती अधिकारीले भने, 'हामीले त्यसलाई गम्भीररुपमा लिएका छौँ, छानबिन हुन्छ।'

कार्यालयले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई कुन आधारमा ऋण दिएको भन्ने प्रश्नसमेत उठाएको थियो। जवाफमा बैंकरले विगतमा त्यस्ता समस्या भएपनि अहिले नरहेको बताएका थिए।दोहोरो विवरण तयार गरी कर छलीको आशंकामा कर कार्यालयले कम्पनीले कर फाइलिङ गर्दा बुझाएको विवरण र बैंक तथा वित्तीय संस्थामा ऋण लिँदा बुझाएको विवरण दुवैमाथि छानबिन गर्ने तयारी गरेको हो।

'हामीले केही कुरा उठाएका छौँ, एउटै संस्थाले एक ठाउँमा बुझाएको कारोबारको विवरण कमजोर र अर्को ठाउँमा बुझाएको विवरण बलियो कसरी हुन्छ र?,' कार्यालयका प्रमुख धनिराम शर्माले भने। सरकारले चालु आर्थिक वर्षबाट व्यवसायिक प्रतिष्ठानले कर कार्यालय र बैंकमा पेश गर्ने विवरण छानबिन गर्ने घोषणा गरेको थियो। कर छल्नका लागि घाटाको विवरण कर कार्यालयमा पेश गर्ने तर बैंकबाट ऋण लिँदा नाफाको वासलात पेश गर्ने गरेको भन्दै सूचना आदानप्रदानको माध्यमबाट छानबिन गर्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए।

खतिवडाले वित्तीय पारदर्शीताका लागि यो व्यवस्था ल्याइएको बताउँदै आएका छन्। 'वित्तीय पारदर्शिताका लागि व्यवसायीहरुले कर प्रशासनमा पेश गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा पेश गरेको वित्तीय विवरणको सूचना आदान-प्रदान गर्ने स्वचालित प्रणालीको विकास गरिनेछ,'उनले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट बक्तव्यमा भनिएको छ। यद्यपि अहिलेसम्म यस्तो प्रणालीको विकास भने भइसकेको छैन।