नेपालमै पहिलोपटक ह्याकर सम्मेलन हुँदै, लाइभ ह्याकिङ हुने, साइबर अट्याक कसरी रोक्ने?

बिजमाण्डू
२०७५ मंसिर ४ गते १७:०० | Nov 20, 2018
नेपालमै पहिलोपटक ह्याकर सम्मेलन हुँदै, लाइभ ह्याकिङ हुने, साइबर अट्याक कसरी रोक्ने?


काठमाडौं । नेपालमा पहिलो पटक यही मंसिर ६ र ७ गते अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुने भएको छ । सम्मेलन विश्वकै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालिन सम्मेलन हो ।

Tata
GBIME
Nepal Life

सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआइसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थ्रेट निक्सले आयोजना गरेको हो । सम्मेलनमा क्यान महासङ्घ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स लगायतका संस्थाको सहकार्य छ ।पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याक जस्ता साइबर सुरक्षाका चुनौती नेपालले भोग्दै आएको छ । साइबर हमलाका तरिका आधुनिक र व्यवस्थित बन्दै गइरहेपनि नेपालले सुरक्षाको लागि त्यस किसिमको तयारी गर्न सकेको छैन ।

यसका लागि साइबर सुरक्षाको विकास र दक्ष व्यावसायिक जनशक्ति आवश्यक पर्छ । साइबर सुरक्षाको परम्परागत मान्यतालाई विस्थापित गर्दै यसमा व्यापक परिवर्तनको उद्देश्यसहित थ्रेट कोन आयोजना गरिएको आयोजकले बताएका छन् । सम्मेलनमा नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्था र त्यसलाई सुधार गर्न सक्ने विषयमा छलफल हुनेछ ।

सम्मेलनमा साइबर सुरक्षामा विश्वव्यापी रुपमै चर्चित अभ्यासकर्ता, निर्माताको सहभागिता रहनेछ । सरकारी निकायलाई साईबर सुरक्षाको बारेमा जानकारी लिन यो उपयोगी साबित हुनेछ । नेपालको साइबर सुरक्षामा क्रियाशिल व्यक्ति तथा संस्थाको विकास नै यो सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन ।

सम्मेलनको  आकर्षणको रुपमा लाइभ ह्याकिङ समेत रहनेछ । अमेरिका, रुस, रोमानिया, भारत, जर्मनी, दुबई लगायतका देशबाट विज्ञहरुको सहभागिता रहने सम्मेलनमा गुगल, क्यास्परस्की, बिटडिफेन्डरजस्ता संस्थाका प्रतिनिधिको सहभागिता र प्रस्तुती रहने बताइएको छ ।