टेलिकम कम्पनीको बिजिनेस सामाजिक सञ्जालले खोस्यो, अन्तर्राष्ट्रिय कलको आम्दानी ३०%

बिजमाण्डू
२०७५ मंसिर १३ गते १६:०७ | Nov 29, 2018
टेलिकम कम्पनीको बिजिनेस सामाजिक सञ्जालले खोस्यो, अन्तर्राष्ट्रिय कलको आम्दानी ३०%


काठमाडौं । भाइबर, स्काइप, म्यासेन्जर, विच्याट, ह्वाट्स एप जस्ता ओभर द टप (ओटीटी) एप्सले दूरसंचार सेवा दिने कम्पनीको अम्दानीमा प्रत्यक्ष असर पार्न थालेको छ। 

Tata
GBIME
Nepal Life

निःशूल्क प्रयोग गर्न मिल्ने यस्ता एप्सले टेलिकम कम्पनीहरुको भ्वाइस सेवाबाट हुने आम्दानी घटाइदिएको छ। त्यस्ता एप्सहरुको आफ्नै नेटवर्क तथा पूर्वाधार नभई अरुले तयारको गरेको पूर्वाधार माथि टेकेर सेवा सञ्चालन गर्ने भएकाले ‘ओभर द टप’ भनिएको हो । 

इन्टरनेटको सहयोगमा ती एप्स मार्फत कुराकानी र सूचना आदान-प्रदान गर्न सकिने भएपछि धेरैले नम्बर डायल गरेर कल गर्न छाडेका छन्। इन्टरनेट मार्फत ओटीटी एप्सको प्रयोग सस्तो हुने भएकाले त्यसको असर टेलिकम कम्पनीको आम्दानीमा देखिन थालेको छ।

टेलिकम कम्पनीहरुको कुल आम्दानीमा विदेशबाट आउने कलको हिस्सा ४० देखि ४५ प्रतिशत हुने गरेकोमा अहिले त्यस्तो आम्दानी ३० प्रतिशत भन्दा तल झरेको छ। नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य भन्छिन्, ‘नेपालमा मात्रै होइन विदेशमा पनि ओटीटी एप्सका कारण टेलिकम कम्पनीहरुले आम्दानी गुमाउनु परेको छ।’

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपाल टेलिकमको नियमित आम्दानी ८.३३ प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घट्दा टेलिकमले पहिलो त्रैमासमा १० अर्ब ८५ करोड रुपैयाँ मात्र आम्दानी गर्न सक्यो। अघिल्लो वर्षको सोही अवधिमा टेलिकमको आम्दानी ११ अर्ब ८३ करोड रुपैयाँ थियो। 

नेपालमै पनि कतिपयले मोबाइल नेटवर्कमा फोन नगरी भाइबर वा ह्वाट्स एपबाट कुराकानी गर्न थालेका छन्। विदेशबाट आउने धेरैजसो कल पनि स्काइप वा भाइबरमै आउँछ। ओटीटी एप्सले नेपालका टेलिकम कम्पनीको नेटवर्क प्रयोग गरी आफ्नो व्यवसाय गरिरहेका छन्। 

अन्तर्राष्ट्रिय कम्पनी ओभुमले गरेको एक अध्ययन अनुसार सन् २०१२ देखि २०१८ सम्म ओटीटीका कारण विश्वभरका दूरसञ्चार सेवा प्रदायकले तीन सय ८६ खर्ब रुपियाँभन्दा बढी घाटा व्यहोर्ने उल्लेख गरेको थियो। नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले ओटीटीकै कारण प्रत्येक वर्ष पाँच अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेका छन्।

ओटीटीले नेपालबाट गरेको आम्दानीमा यहाँको सरकारलाई कर तिर्नुपर्ने प्रावधान पनि छैन्। कतिपय पश्चिमी देशहरुमा भने ओटीटीलाई पनि स्थानीय रुपमा दर्ता भएर कर तिर्नुपर्ने व्यवस्था गरिएको छ।   

नेपालका प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायतले ग्राहकहरु ओटीटीप्रति आकर्षिक हुनुलाई व्यवसायिक चुनौतीका रुपमा लिएका छन्।

‘भ्वाइस भन्दा डेटा सस्तो हुन्छ। डेटाबाट हुने आम्दानीले भ्वाइस सेवामा भएको क्षति असुल हुँदैन’, दुरसंचार सेवा प्रदायक कम्पनीका एक अधिकारीले भने, ‘ग्राहकलाई सेवा प्रयोगमा सजिलो भएको जस्तो त देखिन्छ तर, सरकारको राजस्व पनि गुम्छ। प्रयोगकर्ताको गोपनियता पनि रहँदैन।’

ओटीटीका कारण टेलिकम कम्पनीको मुनाफामा धक्का पुग्ने देखेपछि त्यस्तो सेवालाई नियमन गर्नुपर्ने भन्दै सेवा प्रदायकहरुले केही समयदेखि लबिङ थालेका छन्। समयमै ओटीटीलाई नियमनमा नल्याउँदा त्यसले साइबर सुरक्षामा असर पुग्न सक्ने सेवा प्रदायक कम्पनीका अधिकारीहरु बताउँछन्। 

ओटीटीलाई नियमन गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणले वरिष्ठ निर्देशक आनन्दराज खनालको संयोजकत्वमा सुझाव समिति गठन गरेको छ। समितिमा सेवा प्रदायक, सरकारी अधिकारीदेखि राष्ट्र बैंकसम्मका प्रतिनिधिलाई सदस्य बनाइएको छ। सेवा प्रदायकले भने ओटीटी एप्सलाई नेपालमा पनि दर्ता भई कुनै पनि नेपाली कम्पनीसँग साझेदारी गर्नुपर्ने गरी नियमनको प्रावधान बनाउन सुझाव दिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक एवं प्रवक्ता मीनप्रसाद अर्यालले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको भ्वाइस केन्द्रीत व्यवसाय अब डेटामा लक्षित गर्नुपर्ने बताए। 

‘विश्वव्यापी रुपमै डेटाको बजार बढिरहेको छ। भ्वाइस भन्दा डेटा नै बढी प्रयोग हुने क्रम सुरु भएको छ। त्यही अनुसार कम्पनीहरुले व्यवसायीक योजना बनाउन थाल्नुपर्छ’, उनले भने।