मेलम्चीका पर्यटकीय स्थल र पदमार्ग पहिचान हुँदै, चमेरे गुफाभित्र भर्याङ र बत्ती राखिने

बिजमाण्डू
२०७५ मंसिर १८ गते १३:२४ | Dec 4, 2018


काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्नकालागि मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन गरेको छ।

Tata
GBIME
Nepal Life

पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालीयन संस्था स्याटसँग मिलेर भोयज टुर्स एण्ड ट्राभल्सको सहजीकरणमा मेलम्ची नगरपालिकामा पर्यटन पदमार्गको पहिचान विस्तार तथा मर्मत सम्भार गरिएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्याललले जानकारी दिए।

उनका अनुसार गत मंसिर ६ देखि १२ गतेसम्म इटालीका पर्यटन विज्ञसंग मिलेर पर्यटकीय आकर्षणका केन्द्र र पदमार्गहरुको नक्साङ्कन गरिएको हो।

यस क्रममा काठमाडौंबाट २२ किमीको दुरीमा रहेको भोटेचौरको पातले छाँगो, चमेरे गुफा लगायत अन्य चारवटा महत्वपुर्ण गुफाहरुको नक्साङ्कन गरिएको छ।

मेयर अर्यालका अनुसार चमेरे गुफा ९ तलाको भएको दाबी गरेपनि तीन तलासम्म मात्रै उक्त टोली जान सक्यो। अत्यधिक चमेराहरु बस्ने यो गुफा तलमाथि गर्नका लागि खुड्किला र  बत्तीको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।

नगरपालिकाको तपचुली डाँडा अर्को आकर्षणको केन्द्र हो। यहाँ इलामको कन्याम बिर्साउने चियान बगान रहेको छ। चिया बगानबाट दुर्इ घण्टाको यात्रा पछि गुरुङ गाउँ पुगिन्छ। यो बाटो हुँदै चिसापानी पुग्न सकिन्छ। चिसापानीबाट चारैतिर मनोरम हिमालका दृश्यहरु देख्न सकिन्छ।

त्यसपछि थाना भन्ज्याङ हुँदै थाना भन्ज्याङगढी पुग्न सकिन्छ। गढी पृथ्वीनारायण शाहले युद्ध लडेको ठाँउ हो।जहाँ त्यतिबेला सेनाहरुले सुरक्षा किल्ला कसरी निर्माण गर्थे सहजै देख्न सकिन्छ।

हिन्दु र बौद्धको साझा धौले मन्दिर पनि पहिचानमा परेको छ। जहाँ भाद्र पूर्णिमाका दिन  मेला लाग्छ। ज्यामिरेको गुफा डाँडा अर्को आकर्षणको केन्द्र हो। यहाँ जलवायु अन्तराष्ट्रिय सम्मेलन समेत आयोजना हुने गरेको छ।

नगरपालिकाले पर्यटकीय केन्द्रको अलवा पर्यटकीय पदमार्गको नक्साङ्कन गरेको छ। उक्त पदमार्गको थालनी भोटेचौरको सुरक्षा डाँडाबाट हुन्छ। त्यहाँबाट चमेरे गुफा – तपचुली डाडा – गुरुङ गाउँ हुँदै चिसापानी पुग्न सकिन्छ। त्यसपछि पार्टी भन्ज्याङ – थानाभन्ज्याङ – घौले डाँडा – सुलीकोट तालामाराङ – माने भन्ज्याङ – सिग्देल गाउँ एकिकृत बस्ती हुँदै मेलम्चीसम्मको पैदलयात्रा गर्न सकिन्छ। यो पदमार्गको १०१ भनेर नामकरण गरिएको छ।

अर्को पदमार्ग मेलम्ची – गुफा – चाङखुसम्म रहेको छ।२०१ भनेर नामाकरण गरिएको छ। गुफा – चाङखु हुँदै प्रसिद्ध पर्यटकीय स्थल पाँचपोखरी जुगल हिमाल र दोर्जे लाक्पा हिमालको यात्रा गर्न सकिन्छ।

मेलम्ची नगरपालिका प्राकृतिक सुन्दरताले भरिएको छ। नगरपालिका पर्यटकहरु लोभ्याउने अनगिन्ती हिम श्रृङखलाहरु, मठ,मन्दिर , गुफा , गुम्बा , झरना , एकीकृत बस्तीहरु रहेका छन्।

यसअघि मेलम्ची नगरपालिकाका मेयर अर्याल सहितको टोलीले इटालीको टोरेण्टो प्रदेशको रोवेरेटो नगरपालिकाको अध्ययन भ्रमण गरेका थिए।

भ्रमणका क्रममा इटालीमा पर्यटनसम्वन्धी काम गरिरहेको संस्थासंग पर्यटन विकासका लागि सहयोग गरिदिन आग्रह गरेपछि पर्यटन पदमार्गको सम्भावनाको अध्ययनका लागि उक्त संस्थाबाट ९ जना पर्यटन विज्ञहरु नेपालमा आएका थिए। उनीहरुकै सहयोगमा पदमार्गको नक्साङ्कन गरिएको हो।