अमेरिका र चीनबीचको तनाव अझै चुलियो, हुवावेकी सिएफओ अमेरिकी योजनामा क्यानडाबाट पक्राउ

बिजमाण्डू
२०७५ मंसिर २० गते ११:३७ | Dec 6, 2018
अमेरिका र चीनबीचको तनाव अझै चुलियो,  हुवावेकी सिएफओ अमेरिकी योजनामा क्यानडाबाट पक्राउ



चिनियाँ मोबाइल कम्पनी हुवावेकी प्रमुख बित्तीय अधिकारी (सिएफओ) मेङ वानझाउ क्यानडामा पक्राउ परेकी छिन्। अमेरिकाको आग्रहमा सिएफओ मेङलाई क्यानडामा पक्राउ गरिएको खबर फैलिएपछि चीन र अमेरिकाबीचको तनाव अझै गहिरिएको छ।

Tata
GBIME
Nepal Life

उनलाई गत शनिवार ब्रिटिस कोलम्बियाको भ्यानकुभरमा  पक्राउ गरिएको भएपनि यस विषयमा सबै जानकारी बाहिर आएको छैन। अमेरिकाले मेङलाई पक्राउ गरी आफूलाई सुम्पिन क्यानडा समक्ष माग गरेको  र त्यसै योजना अनुसार उनी पक्राउ परेको बताइएको छ।

गत अप्रिलमा इरान बिरुद्ध लगाइएको प्रतिबन्ध उल्लंघन गरी हुवावेले उपकरण बेचबिखन गरेको आरोप लगाउँदै अमेरिकाको कानुन मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको बताएको थियो।  

मेङ कम्पनीको बोर्डमा समेत छिन्।  मेंङका बुवा रेन झेंगफेइ कम्पनीक संस्थापक अध्यक्ष हुन्। कम्पनीका अध्यक्ष रेन पूर्व आर्मी इन्जिनियर हुन् जसले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनी स्थापना गरे।

उनी चीनका टप बिजनेस एक्जेक्युटिभमा पर्दछन् जसले हुवावेलाई विश्वकै दोस्रो ठूलो स्मार्टफोन कम्पनीका रुपमा बिकास गरे।


मेङको गिरफ्तारी लगत्तै क्यानडास्थित चिनियाँ दुतावास अगाडि प्रदर्शन समेत भएको थियो। अमेरिका र तिनका छिमेकी देशले ‘खराब क्रियाकलापलाई’ प्रशय दिइरहेको भन्दै मेङलाई तुरुन्त रिहा गर्न प्रदर्शनकारीले माग गरेका थिए।

उनको गिरफ्तारीले वासिङटन र बेइजिङ बीचको तनाव अझै बढाइदिएको छ। मेङको गिरफ्तारीबारे अमेरिकी कानुन मन्त्रालयले भने कुनै पनि प्रतिक्रिया दिएको छैन।

सिनेटर क्रिस भान होलेनले हुवावे र जेटिइ दुबै एउटै सिक्काका दुई पाटा भएको र दुबै चिनियाँ टेलिकम कम्पनीहरुले अमेरिकी राष्ट्रिय सुरक्षाका विषयमा गम्भीर जोखिम पार्न सक्ने बताए।

बाणिज्य मन्त्रालयले जेटिइमा मात्र ध्यान केन्द्रित गरेकोमा अब हुवावेले पनि अमेरिकी कानुन उल्लंघन गरेको पाइएको उनले बताए।

हुवावेले भने विज्ञप्ती जारी गर्दै अमेरिकाको तर्फबाट मेङको गिरफतारीको पहल भएकाले मेङमाथि अनावश्यक आरोप लगाइएको र कम्पनीलाई यसबारे अति नै थोरै सूचनामात्र उपलब्ध गराइएको बताएको छ।

कम्पनीकी सिएफओ मेङले कुनै पनि गलत क्रियाकलाप नगरेको पनि कम्पनीले दावी गरेको छ।

अमेरिकी कानुनी प्रणाली र क्यानडाले मेङको पक्राउका बारेमा अन्तमा निष्कर्ष निकाल्ने तर कम्पनीले कानुन र नियम अनुसार नै ब्यापार संचालन गरिरहेको र निर्यात नियन्त्रण तथा प्रतिबन्ध सम्बन्धी कानुन तथा नियमहरुको पालना समेत गरिरहेको बिज्ञप्तीमा जनाइएको छ।
 
हुवालेले नेटवर्किङ गियरको मुख्य उत्पादक समेत हो। अमेरिकाले यस अघि नै हुवावेका टेलिकम उपकरणहरु प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो।

अमेरिकी अधिकारीले भने सन् २०१६ देखि नै हुवावेले आफ्ना अमेरिकी प्रयोगकर्ताहरुलाई निगरानी गर्न मिल्ने प्रविधि ‘इन्स्टल’ गरेको हुनसक्ने आरोप लगाएको थियो। पेन्टागनले सुरक्षाको कारण देखाउँदै हुवावेका सबै उपकरणहरुलाई सैन्य क्षेत्रमा प्रयोग गर्नबाट प्रतिबन्ध लगाउँदै आएको थियो।

हालै अमेरिकाको सबैभन्दा ठूलो बिद्युतीय उपकरणको रिटेलर बेस्ट बाइ कम्पनीले पनि हुवावेका सबै उत्पादनहरु बेच्न बन्द गरेको थियो।
गत अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी प्रयोगका रुपमा हुवावेका प्रविधि प्रयोग नगर्ने बिलमा हस्ताक्षर गरेका थिए।

अगस्टमै अष्ट्रेलिया र हालै न्यूजिल्याण्डले पनि  हुवावेका नयाँ जेनरेसनका उपकरणहरुमाथि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाएको थियो।

अमेरिका तथा बेलायतले हुवावेका उपकरणहरु जासुसीका लागि प्रयोग हुने विश्वास गर्दै आएको छ। उनीहरुले जर्मनी, इटाली तथा जापानलाई समेत कम्पनीका उत्पादनमा प्रतिबन्ध लगाउन उक्साउँदै आएको गत हप्ता प्रकशित वाल स्ट्रिट जर्नलको प्रतिबेदनमा उल्लेख छ।

सन् २०१६ मा नै अमेरिकाको बाणिज्य मन्त्रालयले हुवावेले अमेरिकी प्रविधि सिरिया तथा उत्तर कोरिया तथा इरानमा पठाउँदै आएको सूचना पाएको बताएको थियो।

अमेरिकाले पहिले चीनको जेटिइ कर्पोरेसनलाई पनि प्रतिबन्ध लगाएको थियो । जेटिइलाई ह्वावेको प्रतिस्पर्धी कम्पनी मानिन्थ्यो। जेटिइले पनि इरान र उततर कोरियामाथिको नाकाबन्दी उल्लंघन गर्दै सामान पठाएको आरोप लगाएको थियो।

गत महिना हुवावेले आफू विरुद्धको अभियोगले अमेरिकामा फाइभ जी को विस्तारमा असर गर्ने तथा उपभोक्तालाई महंगो पर्न जाने भनेको थियो।

हुवावेका फोनको ब्यापार अत्यधिक सफल मानिन्नछ।  सान्जेनमा मुख्यालय रहेको कम्पनीले हालै कारोबारमा एप्पललाई समेतपछि पारिदिएको थियो। तेस्रो त्रैमासमा ५ करोड २२ लाख इकाइ फोन निर्यात गर्दै हुवावेले एप्पललाई दोस्रोमा सिमित गरिदिएको अनुसन्धान विश्लेषक संस्था ग्राटनर इंकले जनाएको छ।

कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स तथा चिप मेकिङदेखि वायरलेसको पाँचौ जेनेरेसन उत्पादनको महत्वाकाक्षी परियोजनामा काम गरिरहेको थियो।

कम्पनी चीनको मुख्य ग्लोबल टेक कम्पनी हो जसले अफ्रिका, यूरोप र एशियामा तीब्र कारोबार फैलाइरहेको छ। मेङको गिरफ्तारी कम्पनीको फाइभ जि स्ट्याण्डर्डकालागि काम गरिरहेको महत्वाकांक्षी परियोजनालाई रोक्ने अमेरिकी चाल भएको विश्लेषक कम्पनी मिराबौड सेक्युरिटिजका निल काम्प्लिङले बताए।

राबो बैंकको एशियाली बित्त बजार अनुसन्धान प्रमुख माइकल इभरीले भने-‘चीनले मिङको रिहाइकालागि भनिसकेको छ तर गम्भीर आरोप भएकाले अमेरिकाले यसमा आँखा चिम्लेर बस्दैन।’