काठमाडौं। सौर्य एयरलाइन्सले बक्यौता तिर्न नसकेपछि आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नियमित उडानमा रोक लगाएको छ।
कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा सुविधा वापतको बक्यौता नबुझाएकोले उडानमा रोक लगाएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार बक्यौंता तिरेपछि मात्रै उडान अनुमति दिइनेछ। आर्थिक रुपमा संकट ब्योहोरेपछि मुकेश पोखरेलको समूहले सौर्य बिक्री गरेको थियो। सौर्य एयरलाइन्स किन्ने नयाँ समूहले समेत विमानस्थलको केही करोड रुपैयाँसम्म तिर्न नसकेर जहाजनै ग्राउण्डेड भएको छ। नयाँ समूह आएपछि विमानस्थलले पटक/पटक ताकेता गर्दै आएको छ।
'आजसम्म हामीले बाँकी बक्यौता तिर्नका लागि अल्टिमेटम दिएका थियौँ। तर मंसीर दुई गते ११ लाख रुपैयाँ बुझाएपछि कम्पनीले थप बक्यौता बुझाउन आएको छैन।।' क्षेत्रीले भने। उनका अनुसार कम्पनीका प्रतिनिधी सम्पर्कमा समेत छैनन्।क्षेत्रीका अनुसार कम्पनीले विमानस्थलबाट लिएको सेवा सुविधा बापत करिब चार करोड मध्ये दुई करोड ३७ लाख रुपैयाँ बक्यौता छ।
उनका अनुसार यो बाहेक विलम्ब शुल्क पनि बाँकी छ। घनश्याम अधिकारीको समूहले ६७ करोड रुपैयाँमा जहाज किनेको दाबी गरेको थियो। अहिलेसम्म कम्पनी हस्तान्तरणको प्रकृया समेत सुरु भएको छैन। बैंकको ५५ करोड र गैर बैंकीङ दायित्व १२ करोड सकारेको दाबी गरिएपनि सौर्यको वेवसाइटमा पूरानै लगानीकर्ताको नाम छ।
बक्यौंता तिर्न नसकेपछि सौर्य एयरलाइन्सलाई उडानमा रोक, कम्पनीका प्रतिनिधी सम्पर्क वाहिर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।