तीन महिना अघि घाँसे मैदानमा पुगेको यति एयरलाइन्सको जहाज उडाउन नमिल्ने, कवाडीमा बेच्नुपर्ने!

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ मंसिर २३ गते १६:०९ | Dec 9, 2018
तीन महिना अघि घाँसे मैदानमा पुगेको यति एयरलाइन्सको जहाज उडाउन नमिल्ने, कवाडीमा बेच्नुपर्ने!


काठमाडौं। यति एयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भदौं १६ गते नेपालगंजबाट आएको यो जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। जहाज दुर्घटनापछि छानविन गर्न गठित समितिले यो जहाज मर्मत गरेर चलाउन नमिल्ने सुझाब दिएको छ। समितिका एक सदस्यका अनुसार घाँसे मैदानमा चिप्लिदा जहाजको बडीनै भाँचिएकोले सबै पार्टपूर्जानै फेर्नुपर्ने देखिएको छ। गतसातानै समितिले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाइसकेको छ।

यही सुझाबका आधारमा कम्पनीले समेत जहाज कवाडीमा लैजाने वा मर्मत गरेर चलाउने बारेमा छलफल अगाडि बढाइसकेको छ।‘हामी अहिलेसम्म कुनै टुंगोमा पुगेका छैनौं। बीमा कम्पनीले दिएको सुझाबका आधारमा जहाज मर्मत गर्ने वा कवाडीमा परिणत गर्ने निर्णयमा पुग्छौं’ यति एयरलाइन्स क्याप्टेन रवि कंसाकारले बिजमाण्डूलार्इ भने,’बनाउन खर्चिलो भए हामी यसलार्इ कवाडीमै परिणत गर्नेछौं।’

प्रतिवेदनमा जहाज दुर्घटना हुनुमा पाइलटको कमजोरी रहेको उल्लेख गरिएको छ। ‘पाइलटकै लापरवाहीका कारण जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको हो’ प्रतिवेदनमा भनिएको छ,’जहाज अवतरण गर्ने क्रममा पानी परेको थियो। चालकले जहाजको 'वाइपर' नै खोल्न विर्सिएका कारण धावनमार्ग नदेखेर सेन्टर लाइन छोडर देब्रेपट्टी जहाज लागेको पाइयो।' ती सदस्यका अनुसार जहाज अवतरणमा देखिएको लापरवाहीपछि पाइलटलार्इ केही तालिम आवश्यक देखिएको निष्कर्ष पनि निकालिएको छ।

‘सिचुएसन अवेरनेस, सिमुलेटर, ग्राउण्ड  क्लास लगायत तालिम यो जहाज उडाउने पाइलटलार्इ आवश्यक देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ। यो जहाजका पाइलट मोनिका प्रजापति र क्याप्टेन लविश चन्द थिए। जहाजमा २१ यात्रु थिए। दुबै पाइलटलार्इ अहिले उडान अनुमतिमा रोक लगाइएको छ। प्रतिवेदनमा दुबै पाइलटलार्इ पूर्ण तालिम दिएर मात्रै उडान भर्न दिनुपर्ने सुझाब दिइएको छ। यो जहाज घाँसे मैदानमा पुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान तथा अवतरण करिब ११ घण्टा अवरुद्ध भएको थियो।

बेलायती जेटस्ट्रीम विमान २३ वर्ष पूरानो हो। यसको पहिलो उडान सन् १९९६ को जनवरी ४ मा भएको थियो। पहिले अमेरिकाको ट्रान्स स्टेट एयरलाइन्सले चलाएको यो विमान यति एयरले २००६ को जुलाईदेखि खरिद गरी चलाउन थालेको हो। यति एयरलाइन्सले खरिद गर्नुअघि नै यो जहाज सन् १९९६ को नोभेम्बर १६ मा दुई वटा चरा विमानमा ठोक्किँदा दुर्घटनाबाट जोगिएको थियो ।

न्युयोर्कको जेएफके विमानस्थलबाट उडेको विमानमा  दुई वटा चरा ठोक्किँदा विन्डसिल्ड र इन्धन राख्ने ट्याङ्कीमा असर परेको थियो। त्यसैगरी क्याप्टेनको फ्लाइट इन्स्ट्रुमेन्ट निस्किएको थियो। ५० हजार घण्टा यो विमान ग्राउन्डेड भएको थियो भने ७८ हजार २८६ डलर खर्चेर मर्मत गरिएको थियो।